मूल्यवृद्धिको विरोधमा प्रदर्शन
सुर्खेत: पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ‐अनेरास्ववियू) सुर्खेतले नेपाल आयल निगमको सुर्खेतस्थित प्रादेशिक कार्यालयको परिसरमा प्रदर्शन गरेको हो । मूल्यवृद्धिको विरोधमा विद्यार्थीले आयल निगमको प्रादेशिक कार्यालय घेराउ र धर्ना दिएका थिए । पेट्रोलियम पदार्थमा बढाइएको मूल्य खारेज हुनुपर्ने उनीहरूको माग छ ।
प्रदर्शनकारी विद्यार्थीहरूले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरे । नेपाल आयल निगमले गएको साता पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको थियो । निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य ३–३ रूपैयाँ प्रतिलिटर वृद्धि गरेको हो । सोही निर्णयको विरोधमा विद्यार्थीहरूले देशव्यापी रूपमा दैनिक प्रदर्शन गरिरहेका छन् । सुर्खेतमा भएको बिहीवारको प्रदर्शनमा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य प्रेम खड्का, सत्य शाही, प्रभात पोखरेल, सुर्खेत जिल्ला अध्यक्ष आशिष आचार्यलगायतको सहभागिता थियो । यसअघि पनि अनेरास्ववियूले कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा विरोध कार्यक्रम गरेका थिए ।
प्रकाशित मितिः १४ माघ २०७८, शुक्रबार ०५:०२
साझा बिसौनी ।