संसद्मा सर्वसाधारणलाई पनि प्रवेश दिइने

सुर्खेत: अबदेखि सर्वसाधारणले पनि सहजै कर्णाली प्रदेशसभाको अवलोकन गर्न पाउने भएका छन् । हरेक महिनाको दुई दिन सर्वसाधारणको लागि संसद् खुला गरिने भएको छ । महिनाको १५ र २९ गते संसद् खुला राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीवार बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले संसद् खुल्ला हुनुपर्ने मान्यताअनुसार कर्णाली प्रदेशसभा पनि महिनामा दुई दिन खुला गर्ने निर्णय गरिएको बताए । योसँगै सर्वसाधारण नागरिकले संसद् भवनको प्रत्यक्ष रूपमा अवलोकन गर्न पाउने भएको उनले जनाए ।

सभाभित्रका सबै कुराहरूको विषयमा जानकारी दिएर घुमाउने कर्मचारीको समेत व्यवस्था गरिएको छ । संसद् खुल्ला हुनुपर्छ भनिए पनि अहिलेसम्म व्यवहारमा लागू नभएका कारण यहाँका भौतिक संरचना तथा हाउस हेर्नको लागि खुला गरिने अभ्यासमा लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ । खुल्ला संसद्को अभ्यासमा लागेको सातवटै प्रदेशमध्ये कर्णाली पहिलो भएको जनाइएको छ । बैठक हुँदाको दिनमा बैठकको पनि अवलोकन गर्ने र अन्य दिन भए हल तथा त्यहाँ भएका अन्य संरचनाको अवलोकन गर्न पाइने प्रदेशसभाका सचिव बुढाथोकीले बताए ।

यसैबीच, कर्णाली प्रदेशसभाले स्थापनाको चौथो वार्षिकोत्सव मनाउने भएको छ । माघ २१ गते प्रदेशसभाले विभिन्न कार्यक्रमहरू गरेर स्थापना दिवस मनाउन लागेको हो । माघ १७ गतेदेखि विभिन्न कार्यक्रमहरू आयोजना गरेर वार्षिकोत्सव मनाइने बताइएको छ ।

प्रकाशित मितिः   १४ माघ २०७८, शुक्रबार ०५:०१