वैकल्पिक विधिको उपयोग

कोरोना महामारीको त्रास कायमै छ । नेपालमा दैनिक हजारौंको संख्यामा संक्रमित बढिरहेका छन् । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनेर सरकारले विशेष आदेश जारी गरेको छ । जसअन्तर्गत अहिले शैक्षिक संस्था बन्द गरिएको छ । कोभिड–१९ संक्रमणको जोखिम बढेसँगै यतिबेला सबैजसो शैक्षिक संस्थाहरू बन्द छन् । पठनपाठन रोकेको सरकारले वैकल्पिक माध्यमको प्रयोगमा भने यसपटक ध्यान दिएको छैन । सामुदायिक र निजी विद्यालयले यो समयमा वैकल्पिक माध्यमबाट सिकाइ गतिविधिलाई निरन्तरता दिने बताएका थिए । तर, अधिकांश विद्यालयमा भर्चूअल माध्यमबाट पठनपाठन सुरु हुन सकेको छैन । यसअघिको अभ्यासबाट अनलाइन कक्षा प्रभावकारी नदेखिएको भन्दै विद्यालयहरूले चासो नदिएका हुन् ।

गत वर्ष पनि वैकल्पिक शिक्षा प्रभावहीन जस्तै देखिएकाले यो पटक सुरु नगरिएको निजी विद्यालय सञ्चालकहरू बताउँछन् । यो पटकको बन्दमा सुुर्खेत र रूकुुम–पश्चिमका केही सामुदायिक तथा निजी विद्यालयले अनलाइन कक्षा सुरुवात गरे पनि विद्यार्थीको सहभागिता निकै कम छ । विद्यालय बन्द भएपछि वैकल्पिक सिकाइका लागि अनलाइन तथा भर्चूअल कक्षामा चासो त बढेको छ । तर, अधिकांश विद्यालय भने प्रविधिमैत्री छैनन् । सरकारले सूचना प्रविधिमा आधारित शिक्षा दिने भनिरहँदा विद्यालयमै इन्टरनेट र सञ्चारको पहुँच पुगेको छैन । कर्णाली प्रदेशका १८ प्रतिशत सामुदायिक विद्यालय मात्र इन्टरनेटको पहुँचमा रहेको पाइएको छ । कर्णाली शिक्षा समूहले गरेको सर्वेक्षणमा यहाँका कूल सामुदायिक विद्यालयमध्ये १८ दशमलव ४० प्रतिशत विद्यालयमा इन्टरनेटको सुुविधा रहेको पाइएको हो । अर्कोतर्फ कर्णालीका ५७ प्रतिशत नागरिक अझै विद्युतको पहुँच बाहिर छन् ।

विद्यालय बन्द भएपछि धेरैजसो बालबालिका गाउँमा छन् । जसले गर्दा पनि भर्चूअल कक्षा सम्भव नरहेको देखिन्छ । सबै बालबालिकाको घरमा इन्टरनेटको सुविधा नहुँदा कक्षा लिन सक्ने अवस्था छैन । प्रदेश राजधानीमा रहेको सुविधासम्पन्न विद्यालयले नै सबै विद्यार्थी समेट्ने गरी अनलाइन कक्षा सञ्चालन गर्न चुनौती भएको हो । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित शिक्षा क्षेत्र बनेको छ । लामो समय विद्यालय बन्द रहँदा विद्यार्थीको पढाइसँगै स्वास्थ्यमा समेत प्रतिकूल असर परेको पाइएको छ । कोरोना महामारीपछि अनलाइन कक्षाको चर्चा धेरै भएपनि कार्यान्वयनको अवस्था भने फितलो छ । वैकल्प्कि माध्यमको प्रयोगका लागि पहिला त्यसको पहुँच विस्तार गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।

प्रकाशित मितिः   १३ माघ २०७८, बिहीबार ०५:०२