नेपालको जनसंख्या झन्डै तीन करोड
सुर्खेत: मुलुकमा संघीयतापछि पहिलो पटक गरिएको जनगणनाको तथ्याङ्क सार्वजनिक भएको छ । प्रारम्भिक विवरण अनुसार नेपालको कूल जनसंख्या तीन करोड हाराहारी पुगेको छ । तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणमा दुई करोड ९१ लाख ९२ हजार चार सय ८० जनसंख्या पुगेको देखिएको हो ।
जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा कम
वि.सं.२०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । विगतका तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । १० वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार नौ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको छ । पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो ।
यसपटकको जनगणनामा महिलाको संख्या एक करोड ४९ लाख एक हजार एक सय ६९ र पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ रहेको छ । सार्वजनिक तथ्याङ्कअनुसार पुरुषको संख्या महिलाको तुलनामा कम छ । पुरुषभन्दा महिलाको संख्या साढे ६ लाखभन्दा बढी देखिएको हो । देशमा कूल परिवार संख्या ५६ लाख ४३ हजार नौ सय ४५ रहेको तथ्याङ्क छ । जनगणनाबाट सबैभन्दा बढी परिवार मधेश प्रदेशमा बस्ने गरेको पाइएको छ । त्यस्तै, सबैभन्दा कम परिवार गण्डकी प्रदेशमा छन् । यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको तथ्याङ्क विभागले जनाएको छ । वि.सं. २०६८ सालमा नेपालमा एउटा परिवारमा औसत पाँच जना बस्थे । अहिले प्रतिपरिवार ४.३२ जना बस्न थालेको पाइएको छ ।
परिवार संख्यामा गिरावट
नेपालको कूल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेका छन् । यसपछि वागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यसपालिको जनगणनाले देखाएको छ । मधेश प्रदेशमा ६१ लाखभन्दा बढी र वागमतीमा ६० लाख जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ । जनसंख्याका आधारमा काठमाडौं सबैभन्दा ठूलो देखिएको छ, जहाँ २० लाख १७ हजार पाँच सय ३२ मानिस छन् । तथ्याङ्कमा सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङमा पाँच हजार ६ सय ४५ जना मात्र रहेका छन् । यस्तै, तराईमा २३ लाख ४७ हजार जनसंख्या बढ्दा पहाडमा तीन लाख ५४ हजार मात्रै बढेको पाइएको छ । जनसंख्यामा तराई क्षेत्रको हिस्सा बढ्दै गएको छ भने पहाड र हिमालको खुम्चिँदै गएको हो । तथ्याङ्क विभागको विवरण अनुसार सहरी क्षेत्रमा कूल जनसंख्याको दुई तिहाइले बसोबास गरिरहेको देखिएको छ ।
यस पटकको जनगणनाले नेपालको जनसंख्या तीन करोडभन्दा बढी पुगेको देखाउने धेरैको अनुमान थियो । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक नतिजामा भने नेपालको जनसंख्या तीन करोड पुगेको देखिएन, झन्डै आठ लाख कम देखियो । जनसंख्याको वृद्धिदर जन्म, मृत्यु र बसाइँसराइँका आधारमा तय हुन्छ । नेपालको वृद्धिदर कम हुँदै जानुको कारण मृत्यु र बसाइँसराइँ बढी हुनुभन्दा पनि जन्म नै कम हुनु रहेको विज्ञहरूले बताएका छन् । अहिलेको नतिजा प्रारम्भिक भएकाले अन्तिम परिणामसम्म यो संख्या केही तलमाथि हुन सक्ने बताइएको छ । अन्तिम परिणाम आउँदा पाँच प्रतिशतसम्म घट–बढ हुन सक्ने तथ्याङ्क विभागले जनाएको छ ।
यसपालिको राष्ट्रिय जनगणनाb१२औं हो । गएको कार्तिक २५ गतेबाट जनगणना सुरु भएको थियो । १५ दिनसम्म चलेको जनगणनामा देशभर ४० हजार गणक र आठ हजार पाँच सय सुपरीवेक्षकहरूले तथ्याङ्क संकलन कार्य गरेका थिए । जनगणनाको स्थलगत कार्य पहिलो चरणको भदौ ३० देखि असोज १८ सम्म र दोस्रो चरणको २५ कार्तिकदेखि मंसिर ९ सम्म भएको थियो । नेपालमा वि.सं. १९६८ सालबाट जनगणना गर्न थालिएको हो ।
कर्णालीको जनसंख्या १६ लाख ९४ हजार
कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार आठ सय ८९ पुगेको छ । सार्वजनिक प्रारम्भिक विवरणअनुसार कर्णालीमा उक्त जनसंख्या देखिएको हो । यसअघि विक्रम संवत २०६८ सालमा गरिएको जनगणनामा यहाँको जनसंख्या १५ लाख ७० हजार चार सय १८ थियो । दश वर्षको अवधिमा यो प्रदेशका दश जिल्लामा एक लाख २४ हजार चार सय ७१ जनसंख्या बढेको हो । कर्णाली प्रदेशमा ७.९३ प्रतिशतले जनसंख्या बढेको पाइएको छ । प्रदेशको जनसंख्या वृद्धिदर भने ०.७३ रहेको छ । अघिल्लो जनगणनामा कर्णालीको जनघनत्व ५६ थियो भने अहिले ६१ पुगेको छ । कर्णालीमा ६१ जना प्रतिवर्ग किमिमा बसोबास गरिरहेका हुन् ।
२१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा
सात वटा प्रदेशमध्ये कम जनसंख्या कर्णालीमा छ भने सबैभन्दा बढी प्रदेश १ मा रहेको छ । सार्वजनिक तथ्याङ्कअनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार २१ जनसंख्या पुगेको छ । त्यस्तै, मधेश प्रदेशमा ६१ लाख २६ हजार दुई सय ८८, वागमतीमा ६० लाख ८४ हजार ४२, गण्डकीमा २४ लाख ७९ हजार सात सय ४५, लुम्बिनीमा ५१ लाख २४ हजार दुई सय २५ र सुदूरपश्चिममा २७ लाख ११ हजार दुई सय ७० जनसंख्या रहेको छ ।
प्रकाशित मितिः १३ माघ २०७८, बिहीबार ०५:०३
साझा बिसौनी ।