तयारी फितलो
कोरोना भाइरसको तेस्रो लहर चलिरहेको छ । दैनिक संक्रमितको संख्या बढेको बढ्यै छ । नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पनि थपिन थालेको छ । पछिल्ला विवरण अनुसार कर्णालीमा कोरोना संक्रमणको दर ६० प्रतिशतमाथि पुगेको छ । पछिल्ला केही दिनयता संक्रमण दैनिक उकालो लागेको हो । संक्रमण दर उच्च भइरहँदा महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाइएको छैन । हेलचक्य्राइँ गरिएको छ । तेस्रो लहरको संक्रमण तीव्र बनिसक्दा पनि कर्णाली प्रदेशमा प्रतिकार्यका लागि बनाइएका योजना कार्यान्वयन भएका छैनन् । सम्बन्धित निकाय नै गैरजिम्मेवार बन्दा जोखिम बढेको छ । सुरक्षा मापदण्ड पालनामा बेवास्ता गरिएको छ ।
छिमेकी मुलुक भारतमा महामारी फैलिदो छ । भारतमा फैलिन थालेसँगै कामका सिलसिलमा त्यहाँ रहेका नागरिक फर्किन थालेका छन् । कर्णाली प्रदेशका अधिकांश नागरिक रोजगारीको सिलसिलामा भारत जाने गर्दछन् । भारतमा संक्रमण तीव्र बनेपछि उनीहरू धमाधम घर फर्कन थालेका छन् । सिमामा उनीहरूको निगरानीमा कडाइ नगरिदा सोझै गाउँ पस्ने गरेका छन् । यसले गर्दा पनि गाउँघरमा कोरोनाको जोखिम अझ उच्च बनेको छ । यसरी फर्किनेहरूमा कोरोना संक्रमणको जोखिम बढी देखिन्छ । तर कर्णाली भित्रिने सीमा नाकादेखि सार्वजनिक स्थलको जोखिम कम गर्न सरकारी निकाय उदासिन देखिएको छ । कर्णाली सरकारले सीमा नाकामा तत्कालै चेकजाँच गर्ने व्यवस्था मिलाइने, होल्डिङ सेन्टर स्थापना गर्ने र कोरोना परीक्षणपछि मात्र सम्बन्धित स्थानीय तहमा पठाउने योजना बनाएको झन्डै एक साता बितेको छ । तर, सतर्कताका ती कुनै पनि योजना लागू भएका छैनन् । संक्रमण दर बढ्दै गएका बेला दैनिक सयौं नागरिक विनाचेकजाँच कर्णाली भित्रिरहेका हुन् । प्रदेश भित्रिने सीमा नाकामा अझैसम्म स्वास्थ्य सहायता कक्षसमेत सञ्चालनमा नल्याइएको हो ।
कोरोना संक्रमण दर उच्च भइसक्दा नाकामा सामान्य कडाइसमेत नहुँदा जोखिम उच्च देखिएको छ । प्रदेश सरकारले कर्णाली भित्रिने मुख्य तीन वटा नाकाहरूमा निगरानी गर्ने भनेपनि हालसम्म त्यसका लागि सुुरसार गरिएको छैन । सुुर्खेतको बबई, कुइने तथा सल्यानको कपुरकोटमा हेल्थ डेस्क र होल्डिङ सेन्टर बनाइने भनिएको थियो । यसअघि बबई नाकामा होल्डिङ सेन्टर बनाउने भनिएको स्थानमा लुुम्बिनी प्रदेशले दिन नमाने पछि अहिले छिन्चुुमा राख्नेगरी तयार भइरहेको छ । त्यहाँ ल्यावसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने योजना रहेको छ । कर्णाली भित्रिने नागरिकहरूलाई नाकाबाट ल्याएर होल्डिङ सेन्टरमा राख्ने र उनीहरूको स्वास्थ्य परीक्षणपछि मात्रै सम्बन्धित जिल्ला र पालिकामा पठाउने योजना बनाइएको थियो । तर अहिलेसम्म सतर्कताका लागि सरकारी तयारी फितलो छ ।
प्रकाशित मितिः १० माघ २०७८, सोमबार ०५:०२
सम्पादकीय ।