छिन्चुमा ‘हेल्थ डेस्क’

सुर्खेत: कर्णाली प्रदेश भित्रिने मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चुमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कोरोना भाइरसको संक्रमण तीव्र बनिरहेका बेला ढिला गरी शनिवारदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो । भेरीगंगा नगरपालिका र जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले संयुक्त रूपमा सहायता कक्ष सेवा सुरु गरेका हुन् ।
संक्रमणका आशंकितको मात्रै चेकजाँच हुने
छिन्चु भएर कर्णाली आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सुरु गरिएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले बताए । सहायता कक्षमा भारत, तेस्रो मुलुक तथा अन्य प्रदेशबाट फर्किएकाको चेकजाँच गरिने छ । वाग्लेका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण गरेर आवश्यक सुझाव दिइने छ । उक्त सहायता कक्षमा पाँच जना स्वास्थ्यकर्मी खटिएका छन् । नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट दुई जना र स्वास्थ्य सेवा कार्यालयबाट तीन जना कर्मचारी खटाइएको हो । कोरोना भाइरसको संक्रमणका बारेमा सचेतना फैलाउन र भारत तथा तेस्रो मुलुकबाट आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
सहायता कक्षमा रूघाखोकी लागे नलागेको बारेमा सोधपुछ हुनेछ भने अत्यधिक ज्वरो आएका र केही शंकास्पद बिरामी भेटिएमा चेकजाँच गरिनेछ । हेल्थ डेस्क सञ्चालनमा आएसँगै सीमाबाट फर्कने नागरिकमा कोरोनाको सम्भावित संक्रमण रोक्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । केही दिनयता कर्णालीमा कोरोना संक्रमण दर दैनिक बढ्दो क्रममा छ । प्रदेश भित्रिने सीमा नाकामा प्रतिकार्यका योजना कार्यान्वयनमा भने ढिलाइ हुँदै आएको छ । कर्णाली सरकारले सबै सीमा नाकामा हेल्थ डेस्क सञ्चालन गर्ने, होल्डिङ सेन्टर बनाउने र कोरोना परीक्षण गरिने बताएको थियो । प्रदेश भित्रिने सबैको परीक्षण तथा होल्डिङ सेन्टर नहुँदा संक्रमणको जोखिम बढेको छ । बाहिरबाट आउनेहरू बिना सावधानी सिधै गाउँ जाने गरेका छन् ।
प्रकाशित मितिः १० माघ २०७८, सोमबार ०५:०१
साझा बिसौनी ।