कोरोना संक्रमण तीव्र, प्रतिकार्यमा हेलचक्य्राइँ

सीमा नाकामा हेल्थ डेस्क न निगरानी

सुर्खेत: कोरोना भाइरस ‐कोभिड–१९) को तेस्रो लहर तीव्र बनिसक्दा पनि प्रतिकार्यका लागि बनाइएका योजना कार्यान्वयन भएका छैनन् । कर्णाली भित्रिने सीमा नाकादेखि सार्वजनिक स्थलको जोखिम कम गर्न सरकारी निकाय उदासिन देखिएको हो ।

कर्णाली सरकारले सीमा नाकामा तत्कालै चेकजाँच गर्ने व्यवस्था मिलाइने, होल्डिङ सेन्टर स्थापना गर्ने र कोरोना परीक्षणपछि मात्र सम्बन्धित स्थानीय तहमा पठाउने योजना बनाएको झन्डै एक साता बितेको छ । तर, सतर्कताका ती कुनै पनि योजना लागू भएका छैनन् । संक्रमण दर बढ्दै गएका बेला दैनिक सयौं नागरिक विनाचेकजाँच कर्णाली भित्रिरहेका हुन् । प्रदेश भित्रिने सीमा नाकामा अझैसम्म स्वास्थ्य सहायता कक्षसमेत सञ्चालनमा नल्याइएको हो ।

कोरोना संक्रमण दर उच्च भइसक्दा नाकामा सामान्य कडाइसमेत नहुँदा जोखिम उच्च देखिएको छ । प्रदेश सरकारले कर्णाली भित्रिने मुख्य तीन वटा नाकाहरूमा निगरानी गर्ने भनेपनि हालसम्म त्यसका लागि सुुरसार गरिएको छैन । सुुर्खेतको बबई, कुइने तथा सल्यानको कपुरकोटमा हेल्थ डेस्क र होल्डिङ सेन्टर बनाइने भनिएको थियो । तीन स्थानमा केही दिनमा स्वास्थ्यकर्मीसहितको होल्डिङ सेन्टर स्थापना गरिने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यसअघि बबई नाकामा होल्डिङ सेन्टर बनाउने भनिएको स्थानमा लुुम्बिनी प्रदेशले दिन नमाने पछि अहिले छिन्चुुमा राख्नेगरी तयार भइरहेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले त्यहाँ ल्यावसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने योजना रहेको बताए । ‘बबईमा जग्गा पर्याप्त नभएपछि छिन्चुुमा भवन बन्दै छ,’ उनले भने, ‘भवन बन्ने बेलासम्मको लागि अस्थायी संरचना बनाएर भएपनि सेवा सञ्चालन गरिने छ ।’ सम्बन्धित स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा स्वास्थ्य चेकजाँच र होल्डिङ सेन्टर सञ्चालनमा आउने उनी बताउँछन् ।

कर्णाली भित्रिने नागरिकहरूलाई नाकाबाट ल्याएर होल्डिङ सेन्टरमा राख्ने र उनीहरूको स्वास्थ्य परीक्षणपछि मात्रै सम्बन्धित जिल्ला र पालिकामा पठाउने तयारीमा जुुटेको निमित्त निर्देशक खड्काले बताए । निर्देशनालयका अनुसार कुुइने र कपुुरकोटमा भने होल्डिङ सेन्टरको पूर्वाधार निर्माणको काम सम्पन्न भएको छ । तर ती स्थानमा पनि सतर्कताका लागि सरकारी तयारी फितलो छ । प्रदेशका अधिकांश नागरिक रोजगारीको सिलसिलामा भारत जाने गर्दछन् । भारतमा संक्रमण तीव्र बनेपछि उनीहरू धमाधम घर फर्कन थालेका छन् । सिमामा उनीहरूको निगरानीमा कडाइ नगरिदा सोझै गाउँ पस्ने गरेका छन् । यसले गर्दा पनि गाउँघरमा कोरोनाको जोखिम अझ उच्च बनेको जनस्वास्थ्यका जानकारहरू बताउँछन् ।

संक्रमण तीव्र

पछिल्ला विवरण अनुसार कर्णालीमा कोरोना संक्रमणको दर ६० प्रतिशतमाथि पुगेको छ । पछिल्ला केही दिनयता संक्रमण दैनिक उकालो लागेको हो । शुुक्रवार एक सय ७८ जनाको आरटी–पीसीआर परीक्षण गर्दा एक सय ४५ जनामा संक्रमण देखिएको थियो । सोही दिन दुई सय ९६ जनामा एन्टिजेन परीक्षण गरिएकोमा एक सय ६८ जनामा कोरोना पुष्टि भयो । त्यसको अघिल्लो दिन बिहीवार ५८ जनाको पीसीआर गरिएकोमा तीन जनामा कोरोना पोजेटिभ देखियो भने एन्टिजेन विधिबाट दुुई सय ६९ को परीक्षण गर्दा एक सय २२ जनामा संक्रमण फेला परेको थियो । त्यस्तै, बुुधवार ४१ जनामा पीसीआर परीक्षण गर्दा ३७ संक्रमित भेटिएका थिए भने सोही दिन दुुई सय ९२ जनामा एन्टिजेन परीक्षण गर्दा एक सय ५२ जनामा संक्रमण भेटिएको हो । निर्देशनालयका अनुसार मंगलवार एन्टिजेन परीक्षण गरिएका दुुई सय ६ मध्ये ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

दोस्रो लहरपछि केही महिना स्थिर बनेको संक्रमण दर माघ लागेयता ह्वातै बढेको हो । गत वर्षको दोस्रो लहरमा कर्णालीमा संक्रमण दर उच्च विन्दुमा पुगेको थियो । त्यतिबेला परीक्षण गरिकामध्ये ९० प्रतिशतभन्दा बढीलाई संक्रमण भेटिएको तथ्याङ्क निर्देशनालयको छ । अहिले पनि स्वास्थ्य सुरक्षाका मापदण्डको बेवास्ता भइरहेकाले उस्तै अवस्था दोहोरिन सक्ने चिकित्सकहरूको आकलन छ । शनिवार दुई जनाको पीसीआर परीक्षण भएकोमा दुवै जनालाई संक्रमण देखिएको छ भने ६ सय ६९ जनाको एन्टिजेन परीक्षणमा दुई सय ८५ जनामा संक्रमण फेला परेको निर्देशनालयले जनाएको छ । केही समययता कर्णालीमा कोरोनाबाट मृत्यु हुने दर भने शून्य छ । संक्रमण व्यापक भएपनि सिकिस्त बिरामीको संख्या भने न्यून रहेको अस्पतालहरूले जनाएका छन् ।

वीरेन्द्रनगर उच्च जोखिममा

कोरोनाको पहिलो र दोस्रो लहरमा कर्णालीमै बढी संक्रमित भएको वीरेन्द्रनगर तेस्रो लहरमा पनि उच्च जोखिममा छ । यहाँ अहिले पनि दैनिकजसो ठूलो संख्यामा संक्रमित बढ्दै गएका हुन् । नगरमा बुधवार एक सय ३७ जनाको पीसीआर परीक्षण गरिएकोमा एक सय पाँच जनामा संक्रमण देखिएको थियो । भोलिपल्ट बिहीवार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३१ जना संक्रमित भेटिएका थिए । त्यस्तै, शुक्रवार वीरेन्द्रनगरमा एक सय ३७ जनामा एन्टिजेन परीक्षण गर्दा ७४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा भिडभाडजन्य गतिविधिका कारण जोखिम अत्यधिक रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । सुर्खेतमा दैनिक फेला पर्ने संक्रमितमध्ये वीरेन्द्रनगरका मात्रै ८० प्रतिशतभन्दा बढी हुने गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार सुर्खेतमा सक्रिय संक्रमित ६ सय हाराहारी छन् । शुक्रवारमात्रै जिल्लामा दुई सय १५ जनामा संक्रमण पुष्टि भएको थियो ।

‘सिटामोल अभाव छैन’

बजारमा पारासिटामोलको कृत्रिम अभाव भइरहेको समाचारहरू आउन थालेपछि नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशले भने सिटामोलको अभाव नरहेको जनाएको छ । संघका अध्यक्ष प्रेम भण्डारीले औषधि पसलमा सिटामोल सकिएको देखिए पनि अन्य ठाउँमा अभाव नभएको बताए । उनले भने, ‘केही पसलमा सकिएको अवस्थामा कसैले भने होलान्, त्यस्तो अवस्था यहाँ छैन ।’ स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक खड्काले समेत बजारमा पारासिटामोलको माग बढेपनि अभाव नभएको बताए । उनका अनुसार प्रादेशिक मेडिकल स्टोरमा पारासिटामोल र सिटामोल स्टक छन् । ‘सामान्य अवस्थाका लागि उत्पादन भएको सिटामोल कोभिडका कारण केही बढी खपत भएको अवश्य हो’, उनले भने, ‘तर बाहिर आएको हल्ला जस्तो अभाव भने छैन ।’ हाल नेपाली औषधि कम्पनीहरूबाटै महिनामा दुई करोडको संख्या हाराहारीमा पारासिटामोल उत्पादन भइरहेकाले अभाव हुने सम्भावनासमेत नरहेको उनको भनाइ छ ।

बालबालिकालाई आजदेखि खोप

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सुर्खेतमा बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको छ । विद्यार्थीका लागि विद्यालयमै कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माघ १६ देखि २० गतेसम्म विद्यालय खुलाउने निर्णय भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यद्यपि, खोप भने आइतवार देखिनै लगाउन सकिने निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले बताए । उनले भने, ‘विद्यालयमा निश्चित समय तोकिएको छ, आइतवारदेखि नै आफूलाई पायक पर्ने स्थानबाट खोप लगाउन सकिने छ ।’ उनका अनुसार १२ देखि १८ वर्षमुनीको उमेर समूहलाई मोडर्ना खोप दिइने भएको हो ।

यो उमेर समूहलाई दोस्रो चरणको खोप दिन लागिएको छ । पहिलो चरणको मोडर्ना खोप लगाएका विद्याथीहरूलाई खोपको दोस्रो मात्रा दिइने भएको हो । पहिलो चरणमा पुुस ४ देखि १४ गतेसम्म कर्णाली प्रदेशका नौ जिल्लाका विद्यार्थीहरूलाई पहिलो खोप दिइएको थियो । १२ देखि १८ वर्षसम्मका विद्यार्थीलाई केही दिन विद्यालय सञ्चालन गरेर दोस्रो मात्रा दिने तयारी भइरहेको पनि निर्देशनालयले जनाएको छ । पहिलो चरणमा नौ जिल्लाका एक लाख ५५ हजारलाई खोप दिइएको थियो । दोस्रो मात्रा डोल्पा, मुगु, हुम्ला, जुम्ला जिल्लामा भने हिमपातका कारण केही ढिला खोप दिन लागिएको छ । यी बाहेकका जिल्लामा विद्यालयमै केन्द्र सञ्चालन गरेर खोप लगाउन लागिएको हो । कालीकोट, दैलेख, जाजरकोट, रूकुम–पश्चिम र सल्यानमा पनि मोडर्ना खोपको द्रोसो डोज दिइने निर्देशनालयले जनाएको छ ।

प्रकाशित मितिः   ९ माघ २०७८, आईतवार ०५:०५