एसईई वैशाखमा

कक्षा १० को परीक्षा प्रदेशस्तरीय बनाउने तयारी

कक्षा १० को परीक्षा प्रदेशस्तरीय बनाउने तयारी

काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई वैशाखमा गर्ने निर्णय गरेको हो । बोर्डको बैठकले एसईई वैशाखमा र १२ कक्षाको परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । ‘अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अब चाँडै परीक्षा तालिका सार्वजनिक गर्छौं ।’ कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केहीपछि गर्ने निर्णय बोर्डले गरेको उनले जनाए ।

शर्माकाअनुसार कोभिडको कारण विद्यालय बन्द भएकोले बोर्डले तोकेको समयावधिको अवस्था हेरेर कुन मोडालिटीमा परीक्षा गर्ने भन्ने निर्णय गर्ने छ । यो वर्षको शैक्षिक सत्रलाई अप्ठ्यारो नपर्नेगरी विद्यार्थीको सुविधालाई ध्यानमा राखेर चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा गर्ने तयारी बोर्डले गरेको हो । यस्तै, बोर्डले यही शैक्षिक सत्रदेखि कक्षा १० को परीक्षा प्रदेशस्तरीय बनाउने तयारी थालेको छ ।
शिक्षा ऐनले कक्षा ८ को स्थानीयस्तरीय, कक्षा १० को प्रदेशस्तरीय र कक्षा १२ को राष्ट्रियस्तरीय हुनुपर्ने व्यवस्था गरे अनुरूपको तयारी भइरहेको बोर्डका अध्यक्ष शर्माले बताए । ‘संविधानको मर्मअनुसार परीक्षाको व्यवस्थापन हुनपर्छ । अब हुने परीक्षाहरू त्यहीअनुसार व्यवस्था हुनुपर्छ भन्ने लाइनबाट धेरै कुराहरू भएका छन्,’ उनले भने, ‘प्रदेशलाई व्यवस्थापकीय पक्षमा कसरी धेरै संलग्नता गराउने भन्ने छलफल भइरहेको छ । यही वर्षदेखि प्रदेशस्तरीय गराउने तयारीमा जुटेका छौं ।’ बोर्डले अब संघीय शिक्षा ऐन पनि त्यही अनुरूप बन्नुपर्छ भनेर काम गरिरहेको समेत शर्माले जानकारी दिए ।

प्रकाशित मितिः   ९ माघ २०७८, आईतवार १४:११