खोप केन्द्रमै असावधानी

कोरोना संक्रमण तीव्र, प्रशासनको आदेश अवज्ञा

सुर्खेत: कर्णाली प्रदेशमा केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र बनेको छ । संक्रमण दर दैनिक बढ्दो क्रममा छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालका अनुसार मंगलवार दुुई सय ६ जनाको परीक्षण गर्दा ९३ जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिकामध्ये ४५ प्रतिशतमा संक्रमण फेला परेको हो । कोरोना संक्रमण दर ह्वातै बढेका बेला सरोकारवाला निकायले भने हेलचक्य्राइँ गरिरहेको पाइएको छ । प्रदेशमा संक्रमणको तेस्रो लहर भित्रिसकेको छ । जोखिम उच्च रहेकै समयमा प्रतिकार्यका लागि सेवा प्रवाह गर्ने निकायहरू व्यवस्थापनमा चुकेका हुन् । कोभिड संकटको सामना गर्न अग्रणी भूमिका खेल्नुपर्ने स्वास्थ्य संस्था र स्थानीय प्रशासनले त्यसअनुरूपको व्यवस्थापन तथा नियमन गर्न सकेका छैनन् ।

अहिले कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेका छन् । सोमवार र मंगलवार प्रदेश राजधानी वीरेन्द्रनगरस्थित विभिन्न खोप केन्द्रमा पुगेका सेवाग्राहीले जोखिम मोलेर खोप लगाए । खोपको ‘बुस्टर डोज’ लगाउन केन्द्रहरूमा पुगेका तथा स्वयम् स्वास्थ्यकर्मीहरूको समेत स्वास्थ्य सावधानीमा ख्याल गरिएको छैन । व्यक्तिगत स्वास्थ्य सुरक्षामा स्वास्थ्यकर्मीहरूले नै लापरबाही गरेका हुन् । अधिकांश खोप केन्द्रको व्यवस्थापन भद्रगोल हुँदा एकातिर संक्रमणको जोखिम देखिन्छ भने अर्कोतिर सेवा लिनै सास्ती छ ।

कोरोनाविरुद्धको खोपको थप मात्रा लगाउने अभियान सुर्खेतमा मात्र नभइ कर्णालीका सबैजसो जिल्लामा अव्यवस्थित छ । खोपस्थलमै भौतिक दूरी कायम गर्नेदेखि स्वास्थ्य सुरक्षाका अन्य मापदण्डको पालना हुन सकेको छैन । सतर्कता न्यून हुँदा खोप केन्द्रमै संक्रमणको त्रास हुने गरेको सेवाग्राहीहरूको गुनासो छ । दैलेखको आठबिस नगरपालिका–६ का नवराज उपाध्यायले मंगलवार वीरेन्द्रनगरको नगर अस्पतालबाट खोप लगाए । भिडभाडमा दुुई घण्टा उभिएपछि मात्र आफ्नो पालो आएको उनले बताए । ‘भिडमा धकेलाधकेल गरेर खोप त लगाइयो,’ उनले भने, ‘खोप केन्द्रमा व्यवस्थापन पक्ष निकै कमजोर रहेछ ।’ उनले खोप लगाउने ठाउँमा कसैले पनि स्वास्थ्य सावधानीको ख्याल नगरेको सुनाए ।

खोप केन्द्रको लापरबाहीले त्यहीबाट संक्रमण फैलने उच्च जोखिम रहेको स्वास्थ्यकर्मीहरू नै बताउँछन् । वीरेन्द्रनगरस्थित एउटा स्वास्थ्य संस्थामा खोप अभियानमा खटिएका एक जना स्वाथ्यकर्मीले भिड व्यवस्थापनबारे कुनै तयारीविनै खोप लगाइँदा अस्तव्यस्त भएको बताए । उनकाअनुसार खोप केन्द्रमा व्यवस्थापन कमजोर मात्र नभइ सेवाग्राहीले समेत सतर्कतामा ध्यान नदिने गरेका हुन् । महामारीको प्रवाह नै नगरी असावधानीका साथ भिड लाग्ने गरेको हो ।

जोखिमकाबीच खोप अभियान सञ्चालन भइरहेपनि त्यसको व्यवस्थापनबारे अनुगमन तथा नियमन गर्ने निकाय भने सक्रिय देखिएका छैनन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैमा अनुरोध गरिँदै आएको बताउँछन् । उनले खोप अभियान सावधानीपूर्वक सञ्चालन गर्न निर्देशन गरिएको जनाए । स्वास्थ्यका मापदण्ड पालनामा बेवास्ता गरे भयावह स्थिति आउन सक्ने संकेत गर्दै प्रजिअ रिजालले यसतर्फ कुनै निश्चित निकाय मात्र नभइ प्रत्येक नागरिक संवेदनशील बन्नुपर्ने बताए । उनले सार्वजनिक स्थलमा भइरहेको भिडभाड नियन्त्रण, व्यवस्थापन तथा अनुगमनमा प्रशासन कार्यालय नियमित लागिरहेको दाबी गरे । प्रमुख जिल्ला अधिकारीको दाबी यस्तो भएपनि जिल्लामा कोरोना संक्रमण रोकथामका लागि प्रशासन कार्यालयले जारी गरेका आदेशको अवज्ञा हुँदै आएको छ । सार्वजनिक स्थलदेखि सेवाग्राहीको चाप हुने सरकारी कार्यालयमा समेत प्रशासनको आदेशको पालना नहुने गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनुपर्ने आदेश जारी गरेको छ । त्यस्तै, आवश्यक कार्यक्रम सञ्चालन गर्नुपरेमा प्रशासनको अनुमती लिनुपर्ने, माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू बन्द गर्नुपर्नेलगायतका आदेश जारी गरिएको छ ।

खोप केन्द्रको व्यवस्थापनबारे स्वास्थ्य सेवा निर्देशनालयले समेत मातहतका स्वास्थ्य संस्थाहरूमा विभिन्न सर्कुलर जारी गरेको छ । तर, सोहीअनुसार खोप केन्द्रमा मापदण्ड पालना हुन सकेको छैन । सोमवारदेखि सुरु भएको ‘बुस्टर डोज’ अग्रपंतिमा खटिने व्यक्तिहरूलाई दिने भनिएको छ । तर, खोप भने लक्षित समूहभन्दा अरुले नै बढी लगाएको स्वास्थ्यकर्मीले बताएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार अग्रपंतिमा खटिने व्यक्तिहरूलाई आज (बुधवार) सम्म खोपको तेस्रो मात्रा दिइने छ । यसअघि दुई डोज खोप लगाइसकेका र पछिल्लो खोप लगाएको ६ महिना पूरा भएका लक्षित वर्गहरूलाई थप मात्रा खोप दिन थालिएको हो ।

खोपकार्ड र सम्बन्धित कार्यालयको परिचय–पत्रको आधारमा खोप लगाउने व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको छ । उक्त खोप सबैजसो स्वास्थ्य संस्थाहरूमा दिने गरिएको छ । पहिलो चरणमा सुर्खेतमा १४ हजार सात सय ४२ जनालाई ‘बुस्टर डोज’ खोप दिने लक्ष्य राखिएको छ । प्रदेशका दशवटै जिल्लामा उक्त खोप अभियान सञ्चालन भइरहेको छ । प्रदेशभर हालसम्म ५२ प्रतिशत लक्षित वर्गले मात्र खोपको दुवै मात्रा लगाएका छन् ।

माघ दोस्रो साता संक्रमण उत्कर्षमा

नेपालमा कोरोना संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता उत्कर्षमा पुग्ने आकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो प्रक्षेपण गरेको हो । माघको दोस्रो साताको मध्यतिर संक्रमितको संख्या १९ हजारभन्दा बढी हुनसक्ने आकलन मन्त्रालयले गरेको सम्वद्ध अधिकारीहरूले बताएका छन् ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा कोभिड–१९ को अवस्थाबारे प्रतिवेदन पेस गर्दै सो तथ्याङ्क सार्वजनिक गरेका हुन् । उनले दैनिक संक्रमितको संख्या १९ हजार बढी देखिएसँगै अस्पताल भर्ना हुने संक्रमितको संख्यामा पनि बढोत्तरी हुने प्रक्षेपण समितिमा पेस गरेका छन् ।

डा. पौडेलको प्रक्षेपणअनुसार सो समयमा करिब १३ हजार व्यक्ति अस्पताल भर्ना हुने देखिन्छ भने त्यसमध्ये करिब तीन सय ९४ जना क्रिटिकल हुने र एक हजार बढीमा जटिल प्रकारको संक्रमण देखिने छ । यस्तै, नौ हजार आठ सय ४८ मा भने सामान्य लक्षण मात्रै देखिने उनको प्रक्षेपण रहेको छ । डा. पौडेलका अनुसार दोस्रो लहरमा भोगिएको अक्सिजन अभावलाई यो लहरमा दोहोरिन नदिन पनि मन्त्रालयले आवश्यक तयारी गरेको छ ।

प्रकाशित मितिः   ५ माघ २०७८, बुधबार ०५:०५