हिमालमै छैन हिउँ

जुम्ला: मंसिर सुरु हुँदा डाँडाकाँडा र पाखापखेरा हिउँले ढाकिसकेको हुन्थ्यो । खेतबारी पनि सेताम्मे भइसक्थे । हिउँले ढाकिएको जमीनको माटो खेती गर्न अनुकूल हुन्थ्यो । बाली पनि फस्टाउँथ्यो । तर अहिले समय फेरियो । मौसम बदलियो । जलवायु परिवर्तनको असर देखिन थाल्यो । कतिसम्म भने पहिले हिउँले चाँदीझै टल्कने डाँडापाखा अहिले उराठलाग्दा देखिन्छन् । हिमालमै हिउँ देख्न मुस्किल हुन थालेको छ ।
जिल्लाको सिंजा गाउँपालिका निवासी खडानन्द आचार्यको अनुभवमा पछिल्ला वर्षहरूमा हिमपातमा कमी आएको छ । ‘हरेक वर्ष हिउँ पर्न कम हुँदै गएको छ’ आचार्य भन्छन्, ‘हिमालमा हिउँ पनि कम देखिन्छ, उराखठलाग्दा हुन थाले डाँडाकाँडा ।’

हिमपातमा कमी आउन थालेपछि नागरिक चिन्तित हुन थालेका छन् । हिमपात भए खेती गर्न सहज हुन्छ । हिउँले स्याउ, ओखर, आरु जस्ता फलफूल र आलु, गहुँ, फापर लगाएतका बालीलाई फाइदा पुग्छ । पर्याप्त हिमपात नहुँदा चिस्यान घट्दै गएको छ । खेतबारी खनजोत गर्न समेत मुुस्किल परिरहेको किसानहरू बताउँछन् ।

हिमाली क्षेत्रका किसानहरूले जलवायु परिवर्तनको असर भोगिरहेको अनुभव सुनाउन्छन् । ६८ वर्षीय आचार्य हिमाली क्षेत्रमा आएको जलवायु परिवर्तन देख्ने एक साक्षी हुन् । केही वर्ष पहिले हिमपातको अवस्था सम्झदै उनले भने, ‘त्यतिबेला हिउँ नाप्ने यन्त्र त थिएन, तर घरको पहिलो तला हिउँले डुब्थ्यो ।’ उनका अनुसार यहाँका नागरिक कार्तिकमै पर्याप्त अन्न र घाँस–दाउराको जोहो गरिसक्थे । ‘मंसिरमा त हिउँले जंगल थुनिन्थ्यो, अन्न पिस्न घट्टसमेत जान मुस्किल हुन्थ्यो, त्यसैले पहिल्यै जोहो गरिराख्नु पथ्र्यो’ उनले भने ।

पहिला हिउँ पर्ने ठाउँमा अहिले पानी पर्न थालेको उनले बताए । चाहिएको बेलामा हिउँ नपर्ने र सुख्खापन बढेर जाँदा घर वरपरका पानीका मुलहरूसमेत सुक्दै गएको उनले सुनाए । ‘यो वर्ष पुस १३ गते परेको हिउँ एक साता पनि टिकेन, अहिले त हिउँ पर्नै छाड्यो, हिउँ होइन तुषारो पर्न थाल्यो’ आचार्य अचम्मित छन् ।

हिमपात कम हुन थालेपछि उत्पादन पनि घट्दै गएको छ । माघ महिनाको मध्यान्तरबाट जुम्लामा स्याउ र ओखरका विरुवा रोप्न सुरु हुन्छ । तर सुख्खापनले विरुवा रोप्नै मुस्किल पर्न थालेको तिला–९ का टेकबहादुर बुढाले बताए । जलवायु परिवर्तनले सबै भन्दा बढी कृषि क्षेत्रमा असर परेको उनको भनाइ छ । ‘भिरालो जमिनमा सिँचाइको सुविधा छैन, बर्सेनि हिमपात घट्दै छ, विगतमा लगाइएका स्याउ–ओखरका विरुवा सुक्दै गएका छन्’ उनले भने । पहिले जस्तो स्याउ उत्पादन पनि हुन छोडेको पातारासी–४, ताराबहादुर बोहोराले बताए । ‘सामान्यतया स्याउ वैशाखमा फुल्छ, तर केही वर्ष यता कार्तिक महिनामा पनि स्याउ फुलेको घटना छ, यो जलवायु परिवर्तनबाट परेको असरको प्रमाण हो’ उनले भने ।

पहिले स्याउका लागि उपयुक्त मानिने क्षेत्रमा अहिले स्याउ उत्पादन घटेर सुनतला फैलाउन थालेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख नवराज अधिकारीले बताए ।

प्रकाशित मितिः   ३ माघ २०७८, सोमबार ११:०१