नमुना सांसद नरेश

सुर्खेत: सांसदहरूको मुख्य काम नीति निर्माण गर्ने र नागरिकको जनजीविकाका सवालमा सरकारलाई जिम्मेवार बनाउनु हो । यी काममा भने कमै मात्र सांसद केन्द्रीत हुन्छन् । धेरैजसो सांसदहरू आफ्नो जिम्मेवारीबाट बिमुख भएको पाइन्छ । संसद् चलेका बेला केही सक्रियजस्ता देखिने उनीहरू अन्य समयमा गुमनाम रहन्छन् । संघीय हुन् वा प्रदेशका सांसदहरू सरकार फेरबदल र आफ्नो क्षेत्रका योजनामा बजेट पार्नमा मात्र सक्रिय देखिन्छन् । तर, कर्णाली प्रदेशसभामा एक जना यस्ता उदाहरणीय पात्र पनि छन्, जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारी । उनको सक्रियता संसद् बैठक नभएका बेला पनि उत्तिकै छ । जो कर्णालीको भविष्यका लागि चिन्तन गरिरहन्छन् । अनेक अवधारणा र योजना ल्याइरहन्छन् । प्रदेशको समग्र विकासमा आवश्यक पर्ने नीति र कार्ययोजना बनाइरहन रुचाउने सांसद भण्डारी नै हुन्, जसले संघीयतापछि पहिलो पटक कर्णाली प्रदेशसभामा गैरसरकारी विधेयक प्रवेश गराएका थिए ।

भण्डारी भन्छन्, ‘सात वटै प्रदेशसभामा गैरसरकारी विधेयक दर्ता भएको सम्भवतः यो नै पहिलो होला ।’ भण्डारीले गएको असोजमा ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ तयार पारेर प्रदेशसभा सचिवालयमा दर्ता गरे । जुन बेला संसद् बन्द थियो । अन्य सांसदहरू संघीय राजधानीतिर बिदा मनाइरहेका थिए । त्यसपछि भण्डारी फेरि अर्को विधेयक निर्माणमा जुटे । र, झन्डै दुई महिनापछि पुस पहिलो साता ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ ल्याए । उक्त विधेयक पनि प्रदेशसभा सचिवालयमा दर्ता गराए । यसबीचमा उनले सरकारलाई थुप्रै पटक विकास आयोजनाहरूको सञ्चालन, व्यवस्थापन तथा प्राथमिकताका क्षेत्रबारे लिखित र मौखिक रूपमा सुझाए । आफ्नो भूमिकाप्रति निकै सक्रिय रहिरहने उनै भण्डारी नेतृत्वको सांसद, विज्ञ र अगुवा किसानहरूको टोलिले बिहीवार ‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न सरकारलाई मागसहितको सुझाव दिएको छ ।

प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत हुन्, भण्डारी । उनको टोलिले स्याउ तथा ओखर विकास बोर्ड गठनार्थ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मागपत्र पेस गरेको हो । पाँच बुँदे मागपत्र बुझ्दै मुख्यमन्त्री शाहीले विकास बोर्डको माग सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । कर्णालीका रैथाने कृषि बालीको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित सरकारलाई बोर्ड गठन गर्न सुझाएको सांसद भण्डारीले बताए ।

संसद्मा गैरसरकारी विधेयक दर्ता गर्नेदेखि सरकारलाई नागरिकप्रति निरन्तर जिम्मेवार बनाउन लागि परेका भण्डारी कर्णालीको विकासका लागि केही न केही गतिविधि गरिरहने नेतामा पर्छन् । सामान्यतया आवश्यक विधेयकहरू सरकारले संसद्मा प्रस्तुत गर्ने प्रचलन छ । तर, सांसदहरूले पनि विधेयक ल्याउन सक्ने कानुनी व्यवस्थाको सदुपयोग गर्ने विरलैमध्येका एक हुन् भण्डारी । सांसदले ल्याउने विधेयकलाई गैर–सरकारी विधेयक भन्ने गरिन्छ ।

 

सांसद भण्डारीकै परिकल्पना र योजनामा कर्णालीभित्रको पनि कर्णाली जुम्लाजस्तो विकट क्षेत्रमा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना सम्भव भएको थियो । जतिबेला उनी संविधान सभाका सदस्य थिए । कर्णालीको स्वास्थ्य क्षेत्र सुधार्न उनले त्यसबेला खेलेको भूमिकाको आज पनि प्रशंसा हुने गरेको छ । भण्डारीले विगतदेखि नै उदाहरणीय काम गर्दै आएको उनकै समकक्षी नेताहरू बताउँछन् । भण्डारीले वि.सं. २०६८ सालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक दर्ता गरका थिए । यो पनि गैरसरकारी विधेयक थियो । उनले अहिलेसम्म केन्द्रमा एक र प्रदेशमा दुुई वटा विधेयक दर्ता गरेका हुन् । कर्णालीमा मात्र नभइ उनको अभ्यासलाई नेपालमै उदाहरणीय मानिएको छ ।

जसले संघीयतापछि पहिलो पटक कर्णाली प्रदेशसभामा गैरसरकारी विधेयक प्रवेश गराए। संसद् नचलेका बेला पनि उनी रचनात्मक गतिविधि गरिरहन्छन्।

कर्णाली प्रदेशसभामा ३५ जना (हाल कायम) सदस्य छन् । तर, कामका हिसाबले ती सबैभन्दा पृथक छन् भण्डारी । उनले संसद् नचलेका बेला पनि गरिरहेका रचनात्मक गतिविधिले यसको पुष्टि गर्छ । कर्णाली प्रदेशलाई विशेष प्रदेशका रूपमा विकास गर्ने योजनामा रहेका उनी भन्छन्, ‘कर्णाली आफैमा विशेष प्रदेश हो । यसको विकासका लागि विशेष ढङ्गबाट नै सम्बोधन गरिनुु पर्छ । सोहीअनुसारका योजना र कार्यक्रम ल्याइनुपर्छ ।’ कर्णाली सुहाउँदो नीति–कार्यक्रम, बजेट र योजना बन्नुपर्नेमा आफ्नो सधैँ जोड रहने उनले सुनाए । यसकारण पनि उनको फरक पहिचान बनेको हो । जसले कर्णालीको विकासका लागि कर्णालीमै चिकित्सक र वैज्ञानिक उत्पादन गर्ने अवधारणा अघि सारे । यहाँको सभ्यता, संस्कृति र कृषि उपजबारे योजना र नीति बनाउन लागे ।

उसो त भण्डारीले कर्णालीका लागि सम्भव देखेका योजना र अवधारणा सफल हुन नसक्ने तर्क गर्नेहरू हिजो थिए, आज पनि छन् । उनले जुम्लामा शिक्षण अस्पताल बनाउने योजना सुनाएका बेला कैयौंले सम्भव हुनै नसक्ने ठोकुवा गरे । तर भण्डारी अविचलित त्यसमा लागिरहे । उक्त विधेयक संसद्बाट पास भयो । जहाँ अस्पताल र प्रतिष्ठान मात्र बनेन्, मेडिकल कलेज नै स्थापना भयो । आज जुम्लामा डाक्टरी पढाइ हुन्छ । भण्डारी भन्छन्, ‘कुनै बेला सिटामोलको चक्की र चिकित्सक नदेख्ने कर्णाली आफै डाक्टर उत्पादन गर्ने अवस्थासम्म पुगेको छ ।’ प्रतिष्ठान स्थापनाले कर्णालीको परिभाषा बदलेको भन्दै उनले कर्णालीले डाक्टर अभावमा मृत्यु पर्खने दिनको अन्त्य भएको बताए ।

भण्डारीले प्रदेशसभामा दर्ता गराएको सिंजा सभ्यतासम्बन्धी विधेयकमा नेपाली भाषाको उद्गमस्थल सिंजा क्षेत्रको विकास र संरक्षण गर्ने उद्देश्य राखिएको छ । ‘भाषाको संरक्षण तथा सम्बद्र्धन गर्नु यो विधेयकको मूल उद्देश्य हो,’ विधेयकका मस्यौदाकार भण्डारी भन्छन्, ‘सिंजा सभ्यता र खस संस्कृतिको पहिचान देशमा मात्र नभइ विदेशमा समेत गराउनु छ ।’ पछिल्लो पटक दर्ता भएको विधेयकमा भने सांसद भण्डारीले कर्णालीमा विश्व प्रख्यात आविष्कारकको परिकल्पना गरेका छन् । कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयकमार्फत उनले यस्तो परिकल्पना गरेका हुुन् । संसद् सचिवालयमा दर्ता भएका यी दुवै विधेयक पास भए भण्डारीको विश्वमा कर्णाली चिनाउने योजनाको बाटो पनि तय हुनेछ ।

प्रकाशित मितिः   १ माघ २०७८, शनिबार ०८:५०