उच्च दरमा बढ्दै कोरोना संक्रमण

काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमण उच्च दरमा वृद्धि भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार पुस १९ गते २ प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमण दर माघ १ गतेसम्म आइपुग्दा ३१.८ प्रतिशत पुगेको हो ।

शनिवार देशभर थप चार हजार ६ सय ३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार पाँच सय ५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट तीन हजार सात सय तीन र एन्टिजेन विधिबाट नौ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट सङ्क्रमण दर ३५.६ प्रतिशत र एन्टिजेन विधिबाट सङ्क्रमण दर २२.५ प्रतिशत रहेको छ ।

नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार पाँच सय ८४ रहेको छ । मन्त्रालयका अनुसार सात जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा बढी रहेका छन् । यसमा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र कास्की रहेका छन् । त्यस्तै आठ जिल्लामा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी सक्रिय सङ्क्रमित काठमाडौँमा छन् । यहाँ नौ हजार ६१ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ललितपुरमा दुई हजार तीन सय ८२ तथा भक्तपुरमा एक हजार तीन सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

शनिवार थप तीन सय ५० जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये आठ लाख १६ हजार तीन जना सङ्क्रमणमुक्त भइसकेका छन् । सङ्क्रमित थपिएसँगै नेपालमा निको हुने दर ९६.१ प्रतिशतमा पुगेको छ । कोभिड–१९ को मृत्युदर १.४ प्रतिशत रहेको नेपालमा हालसम्म ११ हजार ६ सय १७ जनाको मृत्यु भइसकेको छ । देशभर थप चार लाख ३५ हजार एक सय ९३ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।

प्रकाशित मितिः   १ माघ २०७८, शनिबार १८:०८