विद्यालय बन्दको प्रभाव
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सबैभन्दा बढी प्रभावित हुन पुग्यो शैक्षिक क्षेत्र । करिब तीन वर्षयता शैक्षिक क्षेत्र निकै प्रभावित भयो । लामो समय विद्यालय बन्द भए । विद्यार्थी घरमै थलिए । यो अवधिमा विद्यार्थीहरूले मुस्किलले सात–आठ महिना पनि विद्यालयमा नियमित पठनपाठन गर्न पाएका छैनन् । वैकल्पिक विधिबाट पठानपाठन सञ्चालन गर्ने कोसिस पनि भयो । तर सबैतिर प्रभावकारी हुन सकेन । शैक्षिक वर्ष प्रभावित भयो । संक्रमण न्यून देखिन थालेपछि शैक्षिक संस्था सञ्चालनमा आए । पढाइले निरन्तरता पायो । तर फेरि बादल मडारिएको छ । दैनिक बढ्दै गएको कोरोना संक्रमणको पहिलो निशानामा पुनः शैक्षिक क्षेत्र परेको छ ।
कोरोना संक्रमण बढ्न थालेपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मंगलवारबाट पुनः विद्यालयहरू बन्द गरिएका छन् । हिउँदे बिदालाई मिलान गर्ने गरी विद्यालय बन्द गर्न मन्त्रालयले अनुरोध गरेको छ । भौतिक उपस्थितिमा पढाइ थालेको दुई महिना नपुग्दै विद्यालय बन्द भएका हुन् । लामो समयपछि कार्तिकमा मात्र विद्यालय सञ्चालनमा ल्याइएको थियो । अब फेरि माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन नगरिने भएको हो । यो समयमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । तर, लामो समय पढाइ नभएकाले पाठ्यक्रम नसकिने र वैकल्पिक माध्यमबाट सबै विद्यार्थीलाई समेट्नसमेत चुनौती रहेको सरोकारवालाहरू बताउँछन् । विगतको अनुभवले अनलाइन तथा अन्य वैकल्पिकमाध्यमहरू प्रभावकारी हुन सकेका थिएनन् । अहिले फेरि विद्यालय बन्द गर्ने निर्णयले शैक्षिक क्षेत्र थप अस्तव्यस्त बन्ने पक्का छन् ।
विद्यालय सञ्चालन हुँदा ठूलो संख्यामा विद्यार्थी जम्मा हुन्छन् । यसले संक्रमणको जोखिम बढाउँछ । एकातर्फ विद्यार्थीलाई संक्रमण हुने र अर्कोतर्फ उनीहरूमार्फत परिवार र समुदायमा पनि फैलिनसक्ने जोखिमलाई आकलन गरेरै सरकारले विद्यालय बन्दको निर्णय गरेको हो । यद्यपि सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने आवाज पनि उठिरहेका छन् । अहिलेका लागि सबैभन्दा महङ्खवपूर्ण कुरा कोरोना संक्रमणको जोखिमबाट जोगिनु हो । महामारीको मारमा पर्नुअघि बच्न उपाए अपनाउनु नै सावधानी हो । यसका लागि सतर्क हुनैपर्दछ । सरकारले पनि सबै अवस्थाको आकलन र मूल्यांकन गरेरै निर्णय गरेको हुनुपर्दछ । त्यसैले विद्यालय बन्द गरेर आवश्यक सतर्कता अपनाउनु सबैको कर्तव्य हो ।
प्रकाशित मितिः २९ पुष २०७८, बिहीबार ०५:०५
सम्पादकीय ।