सतर्कतामा सरकारी अलमल

सुर्खेत – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम फेरि बढेको छ । केही दिनयता दैनिकजसो संक्रमण दर बढ्दै गएको हो । संक्रमित भेटिने क्रम तीव्र बनेपछि महामारीको तेस्रो चरण सुुरू भएको आकलन गरिएको छ । सरकारले संक्रमण फैलिन सक्ने ठहर गरेर शैक्षिक संस्थाहरू बन्द गर्ने र सबै क्षेत्रमा आवश्यक सावधानी अपनाउने निर्णय गरिसकेको छ । सोही अनुसार हरेक जिल्लामा परिपत्रसमेत गरिएको छ । तर, त्यसअनुरूप गतिविधि भने अघि बढन् सकेका छैनन् । सतर्कता उपनाउनेबारे सरकारी निकायले नै अलमल गरिरहेका हुन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको नयाँ भेरियन्टको संक्रमण जोखिम कम गर्न थुप्रै निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा भएको बैठकले तत्काल सीमा नाकामा सर्तकता अपनाउने, स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने र जोखिम न्यूनीकरण गर्न सार्वजनिक स्थलमा निगरानी बढाउनेलगायतका निर्णय गरेको थियो । प्रशासन तथा सरोकारवाला अन्य निकायले ती निर्णय कार्यान्वयन भने गरेका छैनन् । संकट व्यवस्थापनका लागि भएका जिल्लास्तरीय निर्णय कार्यान्वयनमा ढिलाइ भइरहेको हो । प्रमुख जिल्ला अधिकारी रिजालले शनिवारसम्म नाकामा निगरानी बढाउने गरी तयारी थालिएको जनाए । ‘जिल्ला भित्रने मुुख्य तीनवटा नाकामा स्रोत साधन परिचालन गरेर आवश्यक सतर्कता अपनाइने छ,’ उनले भने, ‘स्वास्थ्यकर्मी र सुरक्षा निकायसँग यसबारे छलफल भइरहेको छ ।’ जिल्ला भित्रिने नाकामा अब छिट्टै ‘हेल्थ डेस्क’ राख्ने गरी तयारीमा जुुट्न निर्देशन गरिने उनले बताए ।

देशका विभिन्न ठाउँमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ का संक्रमित बढ्दै गएपनि संक्रमण भित्रिन नदिन सरकारी निकायले आवश्यक सावधानीमा हेलचक्य्राइँ गरेका छन् । कर्णालीका दश वटै जिल्लामा स्थानीय प्रशासनले संक्रमणको जोखिम घटाउन स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्न अनुरोध मात्र गरेका छन् । प्रदेश तथा जिल्ला भित्रिने सीमा नाकादेखि सार्वजनिक स्थलमा सोहीअनुसारको निगरानी भने बढाइएको छैन । त्यस्ता जोखिमजन्य ठाउँहरूमा चेकजाँच तथा भिडभाड नियन्त्रणका लागि कडाइ नगरिएको हो । सीमा नाकामा निगरानी नहुँदा संक्रमणको उच्च जोखिम रहँदै आएको छ । प्रदेश सरकारले समेत कर्णाली भित्रिने मुख्य नाकाहरूमा निगरानी गरिने बताए पनि बुधवारसम्म यसबारे कुनै काम अघि बढेका छैनन् ।

नाका निगरानीमा ढिलाइ

सुर्खेतको बबई र कुइने तथा सल्यानको कपुरकोट नाकाबाट सयौं नागरिक दिनहँु विना चेकजाँच कर्णाली भित्रिरहेका छन् । कोरोना संक्रमण तीव्र बनेका भारतका विभिन्न सहरबाट कर्णाली फर्कनेहरूका कारण जोखिम ह्वातै बढेको छ । ती सीमा नाकामा सावधानी अपनाउन सरकारी निकाय चुकेको छ । अहिले सीमा नाकामा न कोरोना परीक्षण भएको छ न त होल्डिङ सेन्टरको व्यवस्थापन नै हुन सकेको छ । छिमेकी मुलुक भारतमा ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएका बेला कर्णाली प्रवेश गर्ने नाकामा स्वास्थ्य सतर्कतामा बेवास्ता गरिएको हो । त्यसको असर सोझै कर्णालीमा पर्न सक्ने आकलन गरिएको छ । कर्णालीबाट रोजगारी गर्न भारत जानेहरूको संख्या अधिक छ । त्यहाँ कोरोना संक्रमण बढेपछि उनीहरू अहिले धमाधम घर फर्कन थालेका छन् । यस्तो अवस्थामा सावधानी अपनाउन स्थानीय तह, प्रदेश र संघीय सरकार मातहतका निकायले निर्णय गरेपनि कार्यान्वयन सुस्त देखिएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्ला दिनमा कर्णालीमा पनि कोरोना संक्रमण दर उकालो लागेको छ । सुर्खेतको प्रवेशद्धार बबई नाकामा स्वास्थ्य परीक्षणका लागि निर्देशनालयबाट दुुई जना कर्मचारी खटाइएको निर्देशनालयका निमित्त निर्देशक रविन खड्काले बताए । उनीहरूले संक्रमणका आशंकित व्यतिm भेटिएमा सम्बन्धित पालिकामा खबर गर्ने गरेका छन् । ‘अबको केही दिनमा नाकाबाट ल्याएर होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाइने छ,’ निमित्त निर्देशक खड्काले भने । भारत तथा तेस्रो मुलुक र अन्य प्रदेशबाट आएका कर्णालीका नागरिकहरूलाई त्यसरी राख्ने तयारी गरिएको हो । उनीहरूको कोरोना परीक्षण पछि मात्रै सम्बन्धित जिल्ला र पालिकामा पठाइने छ । कुइने र कपुरकोट नाकाको निगरानीका लागि सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी काम अघि बढाइने निर्देशनालयले जनाएको छ ।

खोप अभियान प्रभावित

कोरोना भाइरसविरुद्धको खोप अभियान प्रभावित बनेको छ । हिमपातका कारण बाटो पुरिएपछि हुुम्लाको नाम्खा गाउँपालिका दुई वटा वडामा बालबालिकालाई दिइने मोडर्ना खोप अभियान रोकिएको हो । हिउँले लिमी जाने बाटो बन्द भएपछि खोप अभियान प्रभावित बनेको जन स्वास्थ्य अधिकृत प्रेमबहादुुर सिंहले बताए । ‘खोप पर्याप्त छ, बाटो हिउँले पुरिएकाले अभियान चलाउन सकिएको छैन,’ बुढाले भने, ‘ती स्थानमा चैतभन्दा अगाडी नै खोप लगाइसक्ने योजना छ । उनका अनुसार अन्य वडामा भने खोप अभियान सञ्चालन भइरहेको छ । हालसम्म हुम्लामा लक्षित वर्गका ५६ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । जिल्लामा ३५ प्रतिशतले पूर्णखोप पाएका छन् । जिल्लामा ६ हजार ६३ जना बालबालिकालाई मोडर्ना खोप दिइने लक्ष्य राखिएकोमा अहिलेसम्म पाँच हजार ६ सयले खोप लगाएको जनाइएको छ । १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई मोडर्ना खोप दिइएको हो ।

यस्तै, सुुर्खेतमा पनि खोप अभियान प्रभावित भएको छ । यहाँ बालबालिकालाई दिइने फाइजर खोप नहुँदा अभियान स्थगित गरिएको छ । खोप लगाउन आवश्यक सिरिन्ज र खोपमा मिसाइने तरल पदार्थ ‘डाइलुएन्ट’को अभाव भएकाले दोस्रो डोज खोप वितरण प्रभावित बन्न पुगेको हो । खोप उपलब्ध नभएपछि अभियान स्थगित गर्नुुपरेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । फाइजर खोप उपलब्ध नहुने भएपछि अब त्यसको विकल्पमा मोडर्ना खोप लगाउने तयारी थालिएको छ । निर्देशनालयका अनुसार यो खोप सुर्खेतका ५५ हजार बालबालिकालाई दिने लक्ष्य राखिएको छ । खोप उपलब्ध हुने वित्तिकै अभियान सञ्चालन गरिने निर्देशनालयले जनाएको छ ।

प्रकाशित मितिः   २९ पुष २०७८, बिहीबार ०५:०७