‘गठबन्धनले राज्यको स्रोत दुरूपयोग गर्‍यो’

सुर्खेत: कर्णाली प्रदेश सरकारको प्रतिपक्ष दल नेकपा (एमाले) ले गठबन्धन सरकारले राज्यको स्रोत साधनको दुरूपयोग गरेको आरोप लगाएको छ । कर्णाली प्रदेशसभा एमाले संसदीय दलका नेता यामलाल कंडेलले प्रदेश सकारले गठबन्धन जोगाउन सरकारी स्रोतको दोहोन गरेको बताएका हुन् ।

बुधवार प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकमा दलको तर्फबाट धारणा राख्दै नेता कंडेलले भने, ‘गठबन्धन टिकाउन झ्याल–झ्यालमा मन्त्रालयको बोर्ड टाँगिएको छ ।’ उनले यस्ता गतिविधि गर्न कर्णाली सरकार माहिर रहेको भन्दै राज्यको साधन–स्रोतको दुरूपयोग गरेर गठबन्धन टिकाउने बाटोमा हिँड्नु गलत भएको औल्याए । नेता कंडेलले चालु आर्थिक वर्षमा प्रदेश सरकारले बनाएका योजना जनाताको आवश्यकता र प्राथमिकता अनुसारका नरहेको समेत दाबी गरे । आफन्त र कायकर्ता रिजाउने गरी सरकारले टुक्रे योजना बनाएर रकम वितरण गरेको उनको आरोप छ । कर्णाली प्रदेश सरकारले व्यवहारमा अनुभूति गर्नेगरी काम गर्न नसकेको जिकिर गर्दै कंडेलले भने, ‘सरकार अभिलेखमा मात्र छ, व्यवहारमा अनुभूति गर्नेगरी छैन ।’

एमालेले महेन्द्रबहादुर शाहीपछि नियुक्त भएका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिँदा प्रमुख प्रतिपक्षी दलको बेवास्ता गरेको समेत गुनासो गरेको छ । संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिए पनि प्रतिपक्षीको बेवास्ता गर्नुले सरकार जबरजस्ती आफ्नै बाटोमा हिँडेको महशुस संसदीय दललाई भएको नेता कंडेलले बताएका हुन् । उनले संसद्भित्र यस्तो अभ्यासको थिति बसाल्दा संसद्को कार्यसम्पादन प्रभावकारी नहुने बताए । नवौं अधिवेशनको पहिलो बैठकमा माओवादी केन्द्रको तर्फबाट सांसद ठम्मर विष्ट, नेकपा (एकीकृत समाजवादी) बाट देवी ओली र कांग्रेसबाट यज्ञ बिसीले दलीय धारणा राखेका थिए । प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक माघ २ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मितिः   २९ पुष २०७८, बिहीबार ०५:०४