सतर्कता आवश्यक

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम फेरि बढेको छ । संक्रमणदर उकालो लागेको छ । दैनिक नयाँ संक्रमित थपिन थालेका छन् । त्यसमाथि पछिल्लो समय ओमिक्रोन भेरियन्टसमेत नेपालमा भित्रिएको छ । नेपालमा पनि ओमिक्रोन भेरियन्ट भेटिएपछि जनमानसमा एक किसिमको त्रास फैलिएको छ । यो भेरियन्टका विषयमा धेरै कुराहरू अध्ययनकै क्रममा रहेका कारण पनि विज्ञहरूले अब थप सकर्तकता अपनाउनुपर्ने सुझाब दिएका हुन् । कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरिसकेको छ । कुनै पनि मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न निर्देशन दिइएको छ । यो अवस्थाले पुनः कोरोना त्रास बढाएको छ ।

विज्ञहरूका अनुसार नयाँ भेरियन्ट देखिएका संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी गर्दै परीक्षणको दायरा बढाउन आवश्यक छ । यसपछि नेपाल भित्रिने नाकामा पनि आवश्यक जाँच र त्यसपछि क्वारेन्टिन, आइसोलेसन गर्ने व्यवस्था गर्न आवश्यक छ । सरकारले भेरियन्टको फैलावट रोक्नलाई आवश्यक पर्ने सबै उपायहरू अपनाउन पर्ने, त्यसपछि संक्रमण देखिएको खण्डमा उपचारका लागि आवश्यक पर्ने सबै व्यवस्था मिलाउने, धेरैभन्दा धेरै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने लगायतका काम गर्न आवश्यक रहेको विज्ञहरूको भनाइ छ । तर आवश्यक सतर्कता भने अपनाएको देखिँदैन । त्यसो त सरकारले मात्रै सतर्कता अपनाउने होइन, ओमिक्रोन भेरियन्टसँग आम नागरिकले पनि सतर्कता अपनाउन उत्तिकै जरुरी छ । तर्सिनेभन्दा पनि सर्तक हुन आवश्यक रहेको विज्ञहरूको सुझाव छ । संक्रमणबाट जोगिन आम नागरिकले मास्क लगाउने, भिडभाडमा नजाने, भौतिक दूरी कायम राख्ने, साबुन पानीले हात धुनेलगायतका जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गर्न आवश्यक छ । यसले संक्रमण हुने र अरुमा सर्ने जोखिम कम गर्दछ ।

ओमिक्रोनको निगरानीका लागि कन्ट्याक ट्रेसिङ्गको कार्यलाई थप प्रभावकारी बनाउन ढिला गर्नु हुँदैन । नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पीसीआर रिपोर्ट तथा खोपको विवरण अनिवार्य गर्न जरुरी छ । सरकारले सार्वजनिक स्थानहरू कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोको आधारमा मात्रै प्रवेशको व्यवस्था गर्न निर्देशन दिएको छ । जोखिम निवारणका लागि यसको कार्यान्वयन अपरिहार्य भएको छ ।

प्रकाशित मितिः   २७ पुष २०७८, मंगलवार ०५:०४