नाकामा निगरानीको तयारी

सुर्खेत: कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम पुनः बढ्न थालेपछि कर्णाली भित्रिने मुख्य सीमा नाकाहरूमा निगरानी बढाइने भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार नाकाहरूमा कोरोना परीक्षणको व्यवस्था मिलाउन लागिएको हो । प्रदेश भित्रनेहरूको स्वास्थ्य चेकजाँच गर्न नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइने भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले यसबारे तयारी अघि बढाएको निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए । उनका अनुसार कर्णाली भित्रने मुुख्य तीन नाकामा कडाइ गरिने भएको हो । यी नाकामा एन्टीजेन विधिमार्फत कोरोना परीक्षण गरिनुका साथै आवतजावत गर्नेहरूको निगरानी गरिने छ । सूचना अधिकारी केसीले सुर्खेतको बबई र कुइने तथा सल्यानको कपुरकोटमा विशेष निगरानी बढाइने बताए । कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीका लागि मंगलवार (आज) सरोकारवाहरूको बैठक राखिएको निर्देशनालयले जनाएको छ ।

कर्णालीमा केही महिनादेखि स्थिर रहेको कोरोना संक्रमण दर फेरि बढ्न थालेको निर्देशनालयले जनाएको छ । आइतवार १३ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । छिमेकी मुलुक भारतमा तीव्र गतिमा संक्रमण फैलिरहेको अवस्थामा कर्णालीमा पनि त्यसको असर पर्ने आकलन गरिएको छ । सुुर्खेतका प्रमुुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको सामना गर्न आवश्यक तयारी अघि बढाइएको बताए । ‘संक्रमणको जोखिम कम गर्न विशेष योजना ल्याइँदै छ,’ उनले भने ‘त्यसका लागि सरोकारवाला पक्षसँग प्रशासनले छलफल थालिसकेको छ ।’

करारमा जनशक्ति नियुक्त गरिने

प्रदेश सरकारले सम्भावित कोरोनाको तेस्रो लहरको व्यवस्थापनका लागि स्वास्थ्य जनशक्ति करारमा लिने भएको छ । सरकारले एक सय ५० जना स्वास्थ्यकर्मीहरू नियुक्त गर्ने तयारी थालेको हो । प्रदेश मन्त्रिपरिषद्ले स्वास्थ्यकर्मी नियुक्तिका लागि सामाजिक विकास मन्त्रालयलाई सहमति दिएको जनाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५४ जना विशेषज्ञ डाक्टर, २० जना मेडिकल अधिकृत र बाँकी पेरामेडिक, नर्सिङसहित एक सय ५० जना स्वास्थ्यकर्मी नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको छ । यस्तै, छात्रवृत्ति करारमा आएका चिकित्सकहरूलाई पनि आवश्यकताका आधारमा परिचालन गरिएको मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बताए । ग्रामीण भेकमा पनि विशेषज्ञ सेवा पुर्‍याउनका लागि सरकारले कर्णाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा टेली मेडिसिन सेवा सुरू गरेको जनाए ।

यसैबीच, प्रदेशभरका सतप्रतिशत बालबालिकाले कोरोनाविरुद्धको मोर्डना खोप पाएको निर्देशनालयले जनाएको छ । १२ देखिमाथि र १८ वर्षभन्दा मुनीको उमेर समूहलाई खोप दिइएको हो । स्वास्थ्य सेवा निर्देशनालयका सूूचना अधिकारी केसीका अनुुसार नौ जिल्लाका एक लाख ५४ हजार आठ सय ७२ बालबालिकालाई खोप दिने लक्ष्य राखिएकोमा एक लाख ५७ हजार सात सय जनाले खोप पाएका हुुन् । प्रदेशभर कोरोनाविरुद्धको खापेको कभरेज राम्रो रहेको उनको भनाइ छ ।

प्रकाशित मितिः   २७ पुष २०७८, मंगलवार ०५:०२