मेडिकल कलेज निर्माणको कामले लियो गति

भौतिक संरचना निर्माण अघिका प्रक्रिया थालियो, वीरेन्द्रनगरको बतासे डाँडामा कलेज बनाइँदै

सुर्खेत: सुर्खेतमा मेडिकल कलेज स्थापना गर्नुअघिका प्रक्रियागत कामहरू सुरू भएका छन् । चार वर्षदेखि अन्योलमा रहेको मेडिकल कलेज निर्माणको कामले भर्खरै गति लिन थालेको हो । मेडिकल कलेज पूर्वाधार विकास आयोजनाले अहिले गुरुयोजना निर्माण तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को प्रक्रिया अघि बढाएको छ ।

सरकारले बर्सेनि बजेट विनियोजन गर्दै आएपनि मेडिकल कलेज निर्माणको कार्यक्रम स्वीकृत भने गरेको थिएन । गएको कार्तिकमा ढिलागरी पूर्वाधार निर्माणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति प्रदान गरेको थियो । बजेट विनियोजन गर्न थालेको झन्डै तीन वर्षपछि मात्र सरकारले निर्माणको अनुमति दिएको हो । निर्माण स्वीकृती पाएसँगै भौतिक संरचना बनाउनुपूर्वका प्रक्रियागत कामहरू सुरू गरिएको आयोजना प्रमुख हेमकुमार ढकालले बताए । उनका अनुसार यो वर्ष गुरुयोजना र वातावरणीय प्रभाव मूल्याङ्कन कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

आयोजनाका अनुसार गुरुयोजना निर्माण र ईआईए भएपछि जग्गा अधिग्रहणका लागि प्रक्रिया थालिने छ । मेडिकल कलेज बन्ने पक्का भइसकेको र प्रक्रियागत सबै काम सम्पन्न गरेर भौतिक संरचनाको निर्माण अघि बढाइने आयोजना प्रमुख ढकालले जनाए । ‘पूर्वाधार निर्माणको बाटो खुलेसँगै हामीले त्यसअघि गर्नुपर्ने कार्यहरू अघि बढाएका छौं,’ ढकालले भने, ‘गुरुयोजना निर्माण र वातावरणीय मूल्याङ्कन सकिएपछि जग्गा अधिग्रहणका लागि सर्भेको काम थालिने छ ।’ कलेजको गुरुयोजना निर्माणको जिम्मा इभरसेफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रालि वालुवाटार काठमाडौंले लिएको छ । यस्तै, वातावरणीय प्रभाव मूल्याङ्कनको काम पेसो कन्सल्टेन्सी प्रालि संखमुल काठमाडौंलाई दिइएको छ ।

मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि झन्डै ८० बिघा जग्गा आवश्यक पर्ने आकलन गरिएको छ । यद्यपि, गुरुयोजना निर्माण नभइ अहिले नै यति जग्गा चाहिन्छ भन्न सकिने अवस्था नरहेको आयोजनाले जनाएको छ । गुरुयोजना बनेपछि सर्भे गरेर मात्र कति जग्गा आवश्यक पर्छ भन्नेबारे यकिन हुने आयोजना प्रमुख ढकाल बताउँछन् । आयोजनाले वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ र १३ मा पर्ने बतासे डा“डामा मेडिकल कलेज स्थापनाका लागि जग्गा हेरेको छ । त्यसलाई टुङ्गोमा पु¥याउन कानुनी प्रक्रियालगायतका काम अगाडि बढाइएको छ । बतासे डाँडामा कलेज स्थापना गर्ने योजनासहित कागजात तयार पारेर आवश्यक अनुमतिका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाइएको आयोजनाले जनाएको हो ।

प्रत्येक प्रदेशमा एक–एक वटा मेडिकल कलेज स्थापना गर्ने संघीय सरकारको अवधारणा छ । सोहीअनुसार कर्णालीका लागि सुर्खेतमा पनि मेडिकल कलेज स्थापना गर्न लागिएको हो । सुर्खेतमा बन्ने मेडिकल कलेजले कर्णालीका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययनका लागि सहज हुनुका साथै यस क्षेत्रको स्वास्थ्य सेवा पनि सुलभ हुने ठानिएको छ । स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्तिको अभाव झेल्दै आएको कर्णाली प्रदेशलाई यो योजनाले राहत दिने जनस्वास्थ्यका जानकारहरू बताउँछन् । सरकारीस्तरबाट जुम्लामा पनि यो वर्षबाट चिकित्सा शिक्षाको पढाइ सुरू भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सक उत्पादन गर्न डाक्टरी पढाइ थालेको हो । सुर्खेतमा स्थापना हुन लागेको कलेज सञ्चालनका लागि भने अबको झन्डै सात–आठ वर्ष लाग्ने अनुमान गरिएको छ । मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार र अन्य व्यवस्थापन मिलाउन अझै केही वर्ष लाग्ने देखिएको हो ।

सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन भएको छ । गत आवमा पनि आयोजनालाई दुई करोड नै बजेट दिइएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा संघीय सरकारले मेडिकल कलेज स्थापनापूर्वका काम गर्न १० करोड रकम छुट्याएको थियो । कलेज कहाँ बनाउने भन्ने अन्योल रहँदा उक्त बजेट खर्च हुन सकेको थिएन । सरकारले मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि भन्दै आर्थिक वर्ष २०७३/०७४ यता निरन्तर बजेट विनियोजन गर्दै आएको छ । तर, पूर्वाधार निर्माण कार्यक्रम स्वीकृतीमा ढिलाइ हुँदा बजेट फ्रिज जाने गरेको थियो ।

चालु वर्षमा छुट्याइएको बजेटबाट मेडिकल कलेजका लागि गुरुयोजना निर्माण र ईआईएको काममा खर्च गरिने आयोजनाले जनाएको छ । यसअघि मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माणमा लागत कम गर्ने उद्देश्यले हालको प्रदेश अस्पताललाई नै शिक्षण अस्पतालका रूपमा विकास गर्ने प्रस्तावसमेत गरिएको थियो । उक्त अस्पताल प्रदेश सरकार मातहतमा आइसकेकाले आयोजनालाई केन्द्र र प्रदेशबीच समन्वयमा समस्या भएको थियो । सो योजना सफल नभएपछि आयोजनाले मेडिकल कलेज स्थापनाका लागि जग्गा खोजेर निर्माणपूर्वका प्रक्रिया अघि बढाइएको हो ।

प्रकाशित मितिः   २४ पुष २०७८, शनिबार ०९:१९