जिल्ला नेतृत्व छान्दै एमाले

सुर्खेत: नेकपा (एमाले)ले कर्णालीका सात जिल्लामा शुक्रवारदेखि जिल्ला अधिवेशन सुरू गरेको छ । एमाले प्रदेश कमिटीका अनुसार बाँकी तीन जिल्लामा भने अधिवेशन सारिएका छन् ।

सुर्खेत, दैलेख, जाजरकोट, रूकुम–पश्चिम, सल्यान र जुम्लामा जिल्ला अधिवेशन उद्घाटन भएका हुन् । कालीकोट, हुम्ला र मुगुमा अधिवेशन सारिएको हो । कालीकोटमा आज (शनिवार) अधिवेशन हुने बताइएको छ भने हुम्ला र मुगुमा केही दिन पछि मात्र अधिवेशन गरिने एमाले प्रदेश कमिटीले जनाएको छ ।

सुर्खेत एमालेले वीरेन्द्रनगरमा शुक्रवार एक समारोहकाबीच आठौं जिल्ला अधिवेशन उद्घाटन गरेको छ । समारोहमा बोल्दै नेताहरूले पार्टीलाई थप सुदृढ र बलियो बनाइँदै लगिने बताएका छन् । अधिवेशन उद्घाटन सत्रमा सांगठनिक, राजनीतिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । नेताहरूका अनुसार जिल्ला नेतृत्व चयनका लागि शुक्रवारबाटै कसरत थालिएको छ । पार्टीको आगामी जिल्ला नेतृत्वका लागि नेता तथा आकांक्षीहरू छलफलमा जुटेका हुन् । अधिवेशन आज ‐शनिवार) सम्म चल्ने छ ।

अधिवेशन उद्घाटनमा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इञ्जार्ज यामलाल कंडेल, केन्द्रीय कमिटी सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज नवराज रावत, केन्द्रीय सदस्य मोहनमाया ढकाल, प्रदेश कमिटीका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   २४ पुष २०७८, शनिबार ०९:१७