राउटे बस्तीमा सहरी विकास मन्त्री

सुर्खेत: लोपोन्मुख राउटे समुदायलाई घर निर्माण गरिदिने प्रस्ताव लिएर सहरी विकास मन्त्री रामकुमारी झाँक्री बस्तीमै पुगेकी छन् । मन्त्री झाँक्रीसहित सरकारी टोली शुक्रवार राउटे बस्तीमा गएको हो । आवास, शिक्षा र स्वास्थ्यको प्रत्याभूति दिलाउन बस्तीमै पुगेको सरकारी टोलीले जनाएको छ ।

घर बनाइदिने आश्वासन

हाल राउटे समुदाय सुर्खेतको सिम्ता गाउँपालिका–४ कालिखोला पटौकामा बस्दै आएका छन् । सोही ठाउँमा पुगेर सहरी विकासमन्त्री झाँक्रीले उनीहरूको सुरक्षित बसाइँका लागि सरकारले आवश्यक काम गर्ने बताएकी हुन् ।

राउटे समुदायसँग मन्त्री झाँक्रीले तीन वटा प्रस्ताव गरेकी छन् । मन्त्रीले आवास, शिक्षा र स्वास्थ्यको व्यवस्थापन गर्ने प्रस्ताव गरेपनि राउटेहरूले भने बासको उचित प्रबन्ध गरिदिने विषयमा सहमति जनाएका छन् । मन्त्री झाँक्रीले राउटे समुदायका अगुवासँग काठबाट बनेका फोल्डिङ गर्न मिल्ने घर निर्माण गरिदिने आश्वासन दिएकी छन् । त्यसका लागि तत्कालै प्रक्रिया अघि बढाइने उनले बताइन् ।

राउटे बालबालिकाको पठनपाठनको लागि शिक्षक र उपचारका लागि स्वास्थ्य सुविधा पु¥याइने उनको भनाइ छ । राउटे बालबालिकालाई औपचारिक तथा अनौपचारिक शिक्षा प्रदान गर्न पहल थालिने सरकारी टोलीले जनाएको छ । राउटे समुदायमा न्यानो लत्ताकपडा पनि वितरण गरिएको छ । सरकारी टोलीले ६५ वटा ब्लाङ्केट वितरण गरेको हो । राउटेले मन्त्री झाँक्रीलाई आफैले निर्माण गरेका काठका सामग्री उपहार दिएका थिए ।

प्रकाशित मितिः   २४ पुष २०७८, शनिबार ०९:१५