राउटे समुदायको संरक्षण

नेपालको लोपोन्मुख समुदाय हो, राउटे । फिरन्ते जीवन बिताउने राउटे पछिल्लो समय असुरक्षित बनेको छ । सामाजिक सुरक्षाको चुनौती बढेको छ । त्यति मात्रै होइन उनीहरूलाई जीविकोपार्जनमा समेत निकै समस्या छ । हाल संघीय सरकारले प्रतिव्यक्ति मासिक चार हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । यसैगरी प्रदेश सरकारले चालुु आर्थिक वर्षमा नौ लाख रूपैयाँ भत्ता वितरणका लागि विनियोजन गरेको छ । जसमा प्रतिव्यक्ति दुुई हजार रूपैयाँ दैलेखको गुुराँस गाउँपालिकामार्फत वितरण हुुँदै आएको छ । यसैबाट उनीहरूले जेनतेन गुजरा चलाउँदै आएका छन् ।

राउटे संरक्षणका लागि सरकारी तथा गैरसरकारी निकायबाट विभिन्न गतिविधि हुने गरेका छन् । तर प्रभावकारी भने निकै न्यून छ । न त राज्यले नीतिगत रूपमै राउटे संरक्षणमा ठोस काम गर्न सकेको छ । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन एकीकृत नीति ल्याइने भनेको ६ महिनाभन्दा बढी भयो । तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सरोकारवाला र विज्ञहरूसँग छलफल गरी तत्कालै राउटे संरक्षणका लागि नीति बनाइने बताएका थिए । त्यसका लागि मन्त्रालयले सरोकारवाला पक्षका सुझाव पनि लियो । तर, अहिलेसम्म उक्त नीति निर्माणको कामले पूर्णता पाउन सकेको छैन । राउटेहरूमाथि गैरराउटे समुदायबाट असुरक्षा बढेका खबरहरू सार्वजनिक भएपछि उनीहरूको कला, संस्कृति र मौलिकता जोगाउँदै सामाजिकरण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीति बनाइने सरकारले जनाएको थियो । नीतिको मस्यादौसमेत बनिसकेको अवस्थामा अन्य प्रक्रिया भने अघि बढेका छैनन् । मस्यौदालाई अन्तिम रूप दिन विज्ञसँगको छलफललगायतका काम बाँकी नै छन् । यो योजना अहिले ओझेलमा परेको छ ।

राउटे समुदायको संरक्षण राज्यको दायित्व हो । भलै राउटे सरकारको नीति र नियमसँग अनभिज्ञ छन् । यद्यपि सुस्त गतिमै भएपनि सामाजिक रूपमा रूपान्तरण हुँदै गएको राउटे समुदायको संरक्षण र उनीहरूको मानवअधिकार प्रत्याभूति गराउन सरकार चुक्नु हुँदैन । राउटेलाई स्थायी बसोबास गराउने, नागरिकताको प्रमाण–पत्र प्रदान गर्ने, उनीहरूको भाषालाई लिपिबद्ध गर्दैै संस्कृति संरक्षण गर्नेलगायतका विषय नीतिगत रूपमा सम्बोधन गर्न जरुरी छ । त्यसमा ढिलाइ गर्नु हुँदैन । राउटे जातीको पहिचान, मौलिकता र मानव अधिकारको संरक्षण गरी समतामूलक समाज निर्माण गर्नेतर्फ समयमै ध्यान दिनुपर्दछ ।

प्रकाशित मितिः   २३ पुष २०७८, शुक्रबार ०५:०४