एमालेको जिल्ला अधिवेशन आज
सुर्खेत: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज (शुक्रवार) सुर्खेतसहित ७७ वटै जिल्लामा पार्टीको अधिवेशन गर्न लागेको छ । एमाले सुर्खेतले वीरेन्द्रनगरस्थित नवनिर्मित सभाहलमा अधिवेशन गर्ने भएको छ । बिहान ११ बजे उद्घाटन हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रचार–प्रसार समिति संयोजक गंगाराम तिमिल्सेनाले बताए । दुई दिनसम्म चल्ने अधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको जिल्ला नेतृत्व चयन हुनेछ । अधिवेशनका लागि वडा तहबाट झन्डै ६ सय प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधिले पाँच जना पदाधिकारी सहित एक सय पाँच जनाको जिल्ला कार्यसमिति चयन गर्नेछन् ।
नेतृत्वका लागि सर्वसम्मतको प्रयास
एमाले सुर्खेतका नेताहरूका अनुसार नेतृत्वका लागि सकभर सर्वसम्मतको प्रयास भइरहेको छ । जिल्ला अध्यक्ष तथा पदाधिकारीका लागि सहमतिमा नेतृत्व छान्न करसत थालिएको उनीहरूले बताएका हुन् । अहिलेसम्म अध्यक्षका लागि तीन जनाको चर्चा छ । बहालवाला उपाध्यक्ष अमृतबहादुर विसी, डण्डीप्रसाद शर्मा र कूलमणि देवकोटा अध्यक्षका उम्मेदवार बन्ने सम्भावना देखिएको हो । यद्यपि उम्मेदवारी दिने वा नदिनेबारे यी नेताहरूले सार्वजनिक रूपमा अभिव्यक्ति भने दिइसकेका छैनन् । नेता निकटका व्यक्तिहरूले उनीहरूको अध्यक्षमा दाबी रहने बताउँदै आएका छन् । अध्यक्षका आकांक्षी यी तीन जनाबीच सहमति जुट्न नसके वर्तमान अध्यक्ष ध्रुवकुमार शाही नै दोहोरिन सम्भावना पनि उत्तिकै बलियो रहेको नेताहरूको भनाइ छ ।
अन्य पदाधिकारीका लागि हरिहरनाथ योगी, ऐनबहादुर चन्द, घनश्याम पाण्डे, कविन्द्रकुमार केसी, ऋषि गिरी, गंगाराम तिमिल्सेना, डम्मर तिवारीलगायतको चर्चा छ । यो पटकबाट एमालेको जिल्ला कमिटीमा पाँच जना पदाधिकारी रहने छन् । यसअघि चार जना पदाधिकारी हुने व्यवस्था थियो । अब भने अध्यक्ष, उपाध्यक्ष, सचिव, र दुई जना उपसचिव रहनेछन् । पार्टी एकताबद्ध रहेको सन्देश दिन निर्वाचन नगरी सर्वसम्मत तरिकाले नेतृत्व चयन गनुपर्नेमा नेताहरूको जोड छ ।
प्रकाशित मितिः २३ पुष २०७८, शुक्रबार ०५:०३
साझा बिसौनी ।