प्रभावकारी खोप अभियान
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान देशभर सञ्चालन भइरहेको छ । अभियान अन्तर्गत कर्णाली प्रदेशमा आगामी वैशाखसम्म सबैलाई खोप दिने लक्ष्य निर्धारण गरिएको छ । सबै नागरिकलाई दुवै मात्रा खोप दिएर वैशाख मसान्तसम्म प्रदेशलाई पूर्णखोप घोषणा गर्ने तयारी गरिएको हो । योजनाअनुसार अभियान सफल भएमा लक्षित समूहका सबैले अबको पाँच महिनाभित्रै दुवै मात्रा खोप पाउनेछन् ।
अहिले द्रूत गतिमा खोप अभियान सञ्चालन गरिएको छ । लक्षित समूहको ठूलो संख्याले खोप लगाइसकेको अवस्था छ । कर्णाली प्रदेश स्वस्थ्य सेवा निर्देशनालयका अनुसार हालसम्म प्रदेशका ६० प्रतिशत नागरिक कोरोना भाइरसविरुद्धको खोपको दायराभित्र आएका छन् । अर्थात खोप लगाइसकेका छन् । यसहिसाबले हेर्दा लक्षित वर्गका ४० प्रतिशत नागरिकलाई मात्र खोप दिन बाँकी छ । अर्थात् ठूलो हिस्साले खोप लगाइसकेका छन् । बाँकी रहेका ४० प्रतिशतले पनि वैशाखसम्म दुवै मात्रा खोप पाउने सरकारी दाबी छ । निर्देशनालयका अनुसार कर्णालीमा आठ लाख सात हजार आठ सय ९७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । त्यस्तै, कोरोनाविरुद्धको दुवै मात्रा पाउनेको संख्या चार लाख ९२ हजार पुगेको छ । यद्यपि खोप अभियान सबै जिल्लामा समानुपातिक रूपमा भने चल्न सकेको छैन । सुर्खेत र हुुम्लामा खोपको पहुँच अन्य जिल्लाको तुलनामा राम्रो रहेको देखिन्छ । त्यहाँ झन्डै ८० प्रतिशतमाथिले खोप पाएका हुन् । जाजरकोट र कालीकोटलगायत केही जिल्लामा भने खोपको पहुँच न्यून देखिन्छ । यसतर्फ सम्बन्धी पक्षले ध्यान दिन जरुरी छ । सबै जिल्लाहरूमा समानुपातिक तवरले खोप अभियान सञ्चालन गर्ने व्यवस्थापन मिलाउनु आवश्यक छ । पछिल्ला केही महिनायता कर्णालीमा कोरोना संक्रमण दर निकै न्यून छ । यहाँ हाल संक्रमण दर दुई प्रतिशतभन्दा पनि तल झरेको हो । संक्रमणको जोखिम भने कायमै रहेकाले खोपको दायरा फराकिलो बनाउन अपरिहार्य छ ।
हुन त पछिल्लो समय खोपको दायरा कम भएका जिल्लाहरूका लागि आवश्यक रणनीति बनाउन थालिएको छ । त्यस्ता जिल्लामा स्वास्थ्य संयोजकहरूसँग कोभिड–१९ विरुद्धको खोपको दायरा बढाउनेबारे छलफल भइरहेको हो । यसलाई प्रभावकारी बनाउन जरुरी छ । वैशाखभित्र पूर्णखोपयुक्त प्रदेश घोषणको लक्ष्य हासिल गर्न खोप अभियान र त्यसको कार्यान्वयन संयन्त्रलाई प्रभावकारी बनाउनैपर्दछ ।
प्रकाशित मितिः २२ पुष २०७८, बिहीबार ०५:०५
सम्पादकीय ।