सेवामार्फत ‘पुनर्जीवन’

सुर्खेत: दुुर्घटनामा परेपछि रूकुुम–पश्चिमको आठबिसकोटका १८ वर्षीय मनबहादुुर विकको मानसिक सन्तुुलन गुुम्यो । उनी १३ वर्षको हुुँदा ट्याक्टर दुुर्घटनामा परेका थिए । त्यसको असर १८ वर्षको हुुँदा देखियो । उनको व्यवहारमा परिवर्तन आयो । मनबहादुरको मानसिक स्वास्थ्य बिग्रदै गएको थियो । उनी जे मन लाग्यो त्यसै गर्थे । त्यो देखेर परिवार र छिमेकीहरू चिन्तित बने । गाउँघरमा बुुढापाकादेखि बालबच्चा सबै उनलाई देखेर डराउन थाले । आफन्त र छिमेकीले थुुनेर राख्नुुबाहेकको विकल्प देखेनन् । उनीहरूलाई यसो गर्नु हुन्न भन्ने थाहा नभएको होइन, अरु उपाय केही लागेन । मनबहादुर थुनेको ठाउँबाट पनि पटक–पटक भागे । उनले सात महिनासम्म यसरी नै दुःख पाए, परिवारलाई पनि सताए ।

चिन्तितसँगै आजित बनेको परिवारलाई मनबहादुरको स्वास्थ्यमा सुधार होला भन्ने लागेकै थिएन । आर्थिक अवस्था निकै कमजोर थियो । बाबुु बितिसकेका थिए, घरमा आमा र साना दुुई भाइ मात्र । आर्थिक अभावका कारण उनको उपचार सम्भव भएन । स्थानीय पालिकाको सहयोगमा नाताले भिनाजु पर्ने नरजित विकले मनबहादुरलाई सुर्खेतको वीरेन्द्रनगर–१२ नेवारेस्थित मानव सेवा आश्रममा पुु¥याए । उनी चार महिनायता आश्रममै छन् ।

सेवाभावले सञ्चालन गरिएको आश्रमका भने आफ्नै चुनौती छन् । आश्रमलाई कहिलेकाहीँ खाद्यान्न र औषधि उपचार जुुटाउनसमेत समस्या पर्छ ।

अहिले स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । ‘उसले छरछिमेकी र भाइबहिनीलाई याद गर्न थालेको छ,’ आमा मनकुमारी विकले भनिन्, ‘मानव सेवा आश्रमले मेरा छोरालाई पुनर्जन्म दियो ।’ बिहीवार आश्रममा छोरासँग भेटिइएकी मनकुमारीको मुहारमा खुसी देखिन्थ्यो । पहिलेको अवस्था हेर्दा त छोरा निको होला र आफूलाई यसरी चिन्ला भन्ने कल्पना नै नगरेको उनले सुनाइन् । छोरा सन्चो भएको खबर पाएपछि उनी भेट्नलाई बुधवार सुुर्खेत आएकी हुन् । ‘डाक्टरसँग सल्लाह लिन्छु, के भन्नु हुन्छ,’ उनले भनिन्, ‘अब सकभर छोरालाई घरमै राख्नुपर्ला सोचेकी छु ।’

यस्तै, दैलेखकी बिमला विकको मानसिक सन्तुलन गुमेको आठ वर्ष भयो । उनी पनि एक वर्षदेखि त्यही आश्रममा आश्रय लिइरहेकी छन् । आश्रम सञ्चालकहरूका अनुसार उनको स्वास्थ्य सुधार भएको छ । मानसिक सन्तुुलन गुुमेपछि श्रीमान्को समेत साथ नपाएकी उनका दुुई छोरा र एक छोरी छन् । ‘माइतीतिरका आफन्तबाहेक अरु कोही भेट्न आउनु भएको छैन,’ आश्रममकी एक कर्मचारीले भनिन् । उनका अनुसार दुुई तीन वर्षसम्म अचेत अवस्थाकी उनलाई त्यहाँ आइसकेपछि विस्तारै ठीक हुँदै गएको हो । उनी अहिले कुराकानी गर्न र आफन्तलाई राम्रोसँग पहिचान गर्न सक्ने भएकी हुन् । बिमलाले भनिन्, ‘धेरै दुुःख पाएँ, त्यसबेला के–के गरेँ केही सम्झना छैन । मेरा लागि यो अर्को जन्मजस्तै भयो ।’ मानसिक स्वास्थ्य बिग्रिएका बेला उनका आमा–बुुबा बिते । छोराछोरी छुुटिए र श्रीमान् पनि टाढिए । ‘सबै खोसियो, तैपनि अब त ठीक भयो,’ उनी भन्छिन्, ‘बाँकी जीवन छोराछोरीसँग बिताउन पाए हुन्थ्यो ।’

मनबहादुर र बिमला प्रतिनिधि पात्र हुन् । वीरेन्द्रनगरमा रहेको मावन सेवा आश्रममा आएपछि कैयन्को जीवनमा नसोचेको परिवर्तन आएको छ । त्यहाँ आश्रितहरू भन्छन्–हामीले नयाँ जीवन पाएका छौं । आश्रममा अहिले ७३ जना आश्रित छन् । आश्रम संयोजक सिर्जना ओलीका अनुसार एक वर्षको अवधिमा दुुई सय ५६ जनाले सेवा लिएका छन् । जसमा एक सय १४ जनालाई परिवारसँग पुनर्मिलन गराइएको हो । उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ । ४८ जना निको भएर आफूखुुसी घर फर्केका छन् । एक वर्षयता १८ जनाको आश्रमबाटै दाहसंस्कार गरिएको छ ।

आश्रमले बेसहारा, सहयोगापेक्षी र सडकआश्रित मानवहरूको सेवा गरिरहेको संयोजक ओली बताउँछिन् । ‘धेरैलाई मानव आश्रमले पुनर्जीवन पनि दिएको छ,’ उनले भनिन, ‘खाना, नाना र छानाको अभावमा सडकमा भौतारिरहेकाको हामी उद्धार गर्छाैं ।’ सुर्खेतमा तीन वर्ष अघिदेखि आश्रमले सेवा दिन सुरू गरेको हो । हालसम्म कर्णालीका सबै जिल्लाका नागरिकहरूले सेवा लिइरहेका छन् । आश्रम सञ्चालकहरूका अनुसार अन्य जिल्लाको भन्दा सुर्खेतमा सडक मानवको संख्या धेरै छ । प्रदेश राजधानी वीरेन्द्रनगरका सडकबाट आश्रमले थुप्रैको उद्धार गरेको छ । यसरी उद्धार गरिएकालाई खाने, बस्ने र लगाउने तथा सरसफाइसँगै औषधी उपचारमा पनि आश्रमले सहयोग गर्दै आएको छ ।

सेवाभावले सञ्चालन गरिएको आश्रमका भने आफ्नै चुनौती छन् । आश्रम भाडाको घरबाट सञ्चालित छ । घर भाडा वीरेन्द्रनगर नगरपालिकाले तिरिदिन्छ । आश्रममा अहिले ७० देखि ८० जना अट्ने क्षमताको मात्र आवास छ । ‘यो सेवाभावले सुरू गरिएको अभियान हो,’ ओली भन्छिन्, ‘परोपकारी मन भएकाहरूबाट नै आश्रम चलिरहेको छ ।’ प्रदेश सरकारले आर्थिक सहयोग गरेको खण्डमा आफ्नै भवन बनाउने र अझै स्तरीय सेवा दिने योजना रहेको उनले बताइन् । त्यसका लागि पहल भइरहेको उनको भनाइ छ । आश्रमलाई कहिलेकाहीँ खाद्यान्न र औषधि उपचार जुुटाउनसमेत समस्या पर्छ ।

प्रकाशित मितिः   १६ पुष २०७८, शुक्रबार ०५:०५