अलपत्र अभियान

सुर्खेतमा विभिन्न समयमा विभिन्न सामाजिक अभियानहरू सञ्चालन हुँदै आएका छन् । कुनै सरकारी निकायको नेतृत्व र कुनै गैरसरकारी संघ–संस्थाहरूको नेतृत्वमा । नेतृत्व जसले गरेपनि प्राय यस्ता अभियानहरू सरकारी निकाय र गैरसरकारी संस्थाहरूबीचको समन्वयमा हुने गरेका छन् । तर यस्ता अधिकांश अभियानदाताकै भरमा सञ्चालन भएको पुष्टि हुँदै गएको छ । दाताहरूले हात झिकेपछि ती अभियानहरू पनि पूर्णरूपमा बन्द भएका छन् । जिल्लामा सञ्चालन भएका अधिकांश सामाजिक अभियानहरू दाताकै भरमा सञ्चालन हुने गरेका छन् । दाताले सहयोग गर्न छोडेपछि त्यस्ता अभियानहरू आफै हराएका जिल्लामा धेरै उदाहरणहरू छन् ।

केही वर्षअघि बालविवाहविरुद्ध जिल्लामा ठूलै अभियान सञ्चालन भयो । तामझाम गर्दै जिल्लाका एक दर्जन बढी गाविसहरू बालविवाहमुक्त नै घोषणा भए । सोहीक्रममा उमेर नपुग्दै विवाह गर्ने कलिला जोडीहरू जग्गेबाटै खोसिए । बालबालिकाहरू नै यो अभियानमा सशक्त भएर लागे । उक्त अभियान पछिल्ला वर्षहरूमा अलपत्र छ । आर्थिक सहयोग गर्दै आएका दातृ निकायले हात झिकेपछि यो अभियान सुस्ताएको हो । बालविवाहमुक्त घोषणा अभियान जस्तै जिल्लाको पश्चिम क्षेत्रमा व्याप्त छाउपडी प्रथा अन्त्यका लागि भन्दै अभियान सञ्चालन भयो । गाउँमा रहेका छाउगोठहरू धमाधम भत्काइए । तामझामसहित केही ठाउँलाई छाउपडीमुक्त पनि घोषणा गरियो । तर दाताले बजेट उपलब्ध गराउन छाडेपछि अहिले यो अभियान पनि हराएको छ ।

सामाजिक अभियानहरूको लक्ष्य र उद्देश्य चेतना ल्याउनु हो । समाजमा विभिन्न गतिविधिमार्फत् तिनले चेतना जगाउने काम गर्दछन् । संघ–संस्थाहरूले नेतृत्व गरे पनि त्यस्ता अभियानहरू जनसहभागितामा नै हुने हुन् । यद्यपि जनसहभागितामै सञ्चालित अभियानहरू दाताले छोडेसँगै हराउनुको कारणबारे बहस र छलफल हुन जरुरी छ । त्यस्ता कुनै पनि अभियान सञ्चालन हुनु महङ्खवपूर्ण होइन । सञ्चालित अभियानले के कस्तो नतिजा ल्यायो वा प्रभाव राख्यो त्यसको आधारमा मूल्याड्ढन हुनुपर्दछ । तर यसैको अभाव देखिएको छ । त्यसैले गर्दा जिल्लामा सञ्चालन भएका सामाजिक अभियानहरू पछिल्लो समय दाताले सहयोग गर्न छोडेपछि अलपत्र परेका छन् । दाताले रकम उपलब्ध गराउने बेलामा अभियानहरू सशक्त हुने गरेको भए पनि बजेट अभावमै ती अभियानहरू बीचमै अलपत्र पर्ने गरेका छन् । गैरसरकारी संघ–संस्थाहरूले पनि विभिन्न अन्तर्राष्ट्रिय दाताहरूको सहयोगमा कार्यक्रम सञ्चालन गर्दछन् । त्यस्ता कार्यक्रम निश्चित अवधिका लागि हुन्छन् । र, उक्त अवधि सकिएसँगै कार्यक्रम पनि समाप्त भएर जान्छन् । यो स्वभाविक प्रक्रिया हो । तर अभियान सञ्चालन अवधिभर देखावटी बनेका कार्यक्रमले कुनै दीर्घकालीन प्रभाव पार्दैनन् ।

प्रकाशित मितिः   १६ पुष २०७८, शुक्रबार ०५:०४