मन्त्रिपरिषद् विस्तारमा आलटाल

मुख्यमन्त्री भन्छन्– मन्त्री नहुँदैमा कुनै बाधा पुगेको छैन

सुर्खेत: कर्णाली प्रदेशमा कांग्रेस नेतृत्वको सरकार गठन भएको दुई महिना पुगेको छ । गत कार्तिक १६ गते कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका थिए । तीन दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका उनले यो अवधिसम्म मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । उनले लामो समयदेखि अधुरो सरकार हाँकिरहेका हुन् ।

मुख्यमन्त्री भन्छन्– मन्त्री नहुँदैमा कुनै बाधा पुगेको छैन

मुख्यमन्त्रीसहित आठ वटा मन्त्रालय रहेको प्रदेशमा दुई जना मात्र मन्त्री छन् । यसअघि दुई पटक मन्त्रिमण्डल हेरफेर गरेका मुख्यमन्त्रीले एक–एक जना मन्त्री नियुक्त गरे । दुई किस्तामा दुई जनालाई मन्त्री बनाइए पनि त्यसयता मन्त्रिपरिषद् विस्तार भएको छैन । पाँच वटा मन्त्रालय मन्त्रीविहीन छन् । यी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले राखेका छन् । मन्त्रीमण्डलमा नेकपा (माओवादी केन्द्र) का बिन्दमान विष्ट र नेकपा (एकीकृत समाजवादी)का चन्द्रबहादुर शाही मन्त्री छन् ।

सरकार विस्तारमा निकै ढिलाइ गरेको भन्दै यतिबेला मुख्यमन्त्री र उनको दल नेपाली कांग्रेसको सर्वत्र आलोचना भइरहेको छ । तर, मुख्यमन्त्री शाही भने कर्णालीका लागि दुई वटा मन्त्री नै पर्याप्त भएको भन्दै अरु मन्त्री नहुँदैमा काममा कुनै बाधा नरहेको तर्क गरिरहेका छन् । सरकार विस्तारमा भइरहेको कमजोरी लुकाउन उनले यस्ता धारणा सार्वजनिक गर्न थालेका हुन् । सबै मन्त्रालयको काम धान्न सक्ने क्षमता आफैसँग रहेकाले मन्त्री नभए पनि खासै फरक नपर्ने दाबीसमेत उनको छ ।

सरकार विस्तारबारे सत्तारुढ गठबन्धनबीच खटपट बढ्दो छ । मन्त्रालयको भागबन्डामा सहमति नजुटेपछि मन्त्रिपरिषद्ले पूर्णता नपाएको हो । सत्ता घटक दलहरू कसले कति मन्त्रालय लिने भन्नेबारे सुरूदेखि अहिलेसम्म आ–आफ्नै अडानमा छन् । पछिल्लो समय गठबन्धनबीच झन्–झन् विश्वासको दूरी बढेको छ । यही अवस्था लम्बिरहे गठबन्धनमा नै संकट आउन सक्ने माओवादी केन्द्रका नेताहरूले बताएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही मुख्यमन्त्री गठबन्धन सरकारको मर्म र भावनाअनुसार नचलेको बताउँछन् । लामो समय सरकार विस्तारमा अन्योल हुनुमा मुख्यमन्त्री नै जिम्मेवार रहेको उनको भनाइ छ ।

दुई महिनादेखि सरकार अधुरै, साझेदार नै असन्तुष्ट

सरकारलाई पूर्णता दिन गठबन्धन दलहरूसँग छलफल भइरहेको बताउँदै आएका मुख्यमन्त्रीले पछिल्ला दिनमा बहाना बनाउँदै आएका छन् । उनले माओवादी केन्द्रको राष्ट्रिय अधिवेशन भइरहेकाले त्यसपछि मात्र सरकारले पूर्णता पाउने बताइरहेका छन् । यसअघि उनले कांग्रेस महाधिवेशनले मन्त्रीमण्डल विस्तारमा ढिला भएको बताएका थिए । जुनसुकै बहाना र तर्क गरेपनि मन्त्रालयको भागबन्डा पेचिलो बन्दै गएको र मुख्यमन्त्रीले त्यसमा सहमति जुटाउन नसक्दा सरकारले पूर्णता नपाएको सत्तारुढ दलका नेताहरू बताउँछन् । उनीहरूका अनुसार मुख्यमन्त्री सरकार विस्तारको निकै सकसमा छन् ।

अधिकांश मन्त्रालयमा मन्त्री नहुँदा सरकारका काम प्रभावित हुँदै आएका छन् । मन्त्री नहुँदा बजेट कार्यान्वयनदेखि दैनिक प्रशासनिक र नीतिगतलगायतका समस्या भइरहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । आठ सदस्यीय मन्त्रिपरिषद्मा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित दुई, माओवादी केन्द्रले चार र समाजवादीले तीन मन्त्रालय दाबी गरेका छन् । हाल कांग्रेसले मुख्यमन्त्री, माओवादी केन्द्र र समाजवादीले एक–एक मन्त्रालयको जिम्मेवारी पाएका छन् । सरकार विस्तारको अन्योल भने अझै कायमै छ ।

प्रकाशित मितिः   १६ पुष २०७८, शुक्रबार ०५:०३