कर्मचारी व्यवस्थापन गर
संघीय संरचना कार्यान्वयनमा आएकै चार वर्ष पुगिसक्यो । प्रदेश सरकार गठन भएको लामो समयसम्म पनि आवश्यक कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । कर्णाली प्रदेशमा अहिले पनि कर्मचारीको चरम अभाव छ । मन्त्रालय तथा संवैधानिक निकायमा मात्र नभइ स्थानीय तह र यी अन्तर्गतका कार्यालयमा पनि जनशक्तिको चरम अभाव छ । जसका कारण एकातिर दैनिक सेवा प्रवाहमा समस्या हुँदै आएको छ भने अर्कोतिर सरकारका योजना कार्यान्वयनमा चुनौती छ । विषयगत मन्त्रालयमा सधैँ कर्मचारी अपुग हुँदा लक्ष्यअनुसार प्रगति हाँसिल गर्न समस्या भइरहेको छ । कर्णालीमा पर्याप्त कर्मचारी नहुनु पुरानै समस्या भए पनि संघीयतापछि पनि यसको समाधान हुन नसकेको हो । अहिले प्रदेशभर दुुई हजार सात सय ५१ स्वीकृत दरबन्दी रहेकोमा एक हजार पाँच सय ९३ पदपूूर्ति भएको छ । प्रदेश मातहतका कार्यालयमा मात्र अझै एक हजार एक सय ५८ कर्मचारीको पद रिक्त छ ।
प्रदेशका सबैजसो मन्त्रालयदेखि मातहतका कार्यालयहरूसम्म कर्मचारी अभाव उस्तै छ । दरबन्दीअनुसारका कर्मचारी नहुँदा अधिकांश कार्यालय निमित्तको भरमा सञ्चालन भइरहेका छन् । सामाजिक विकास मन्त्रालयमा ६ सय ७४ जना कर्मचारी अपुग छन् । मन्त्रालयका लागि एक हजार ८३ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको छ । त्यसमध्ये चार सय नौ जनाको मात्र पदपूर्ति भएको हो । शिक्षा, स्वास्थ्यलगायतको कार्यक्षेत्र रहेको सामाजिक विकास मन्त्रालयले कर्मचारी अभावमा कार्यसम्पादनमा समस्या हुँदै आएको जनाएको छ । त्यस्तै, प्रदेशको भौतिक पूूर्वाधार तथा सहरी विकास मन्त्रालयमा एक सय २६ पद रिक्त रहेका छन् । भौतिक संरचना र ठूला आयोजना निर्माणको कार्यक्षेत्र रहेको मन्त्रालयसँग बजेटसमेत बढी हुन्छ । तर, आवश्यक कर्मचारी नभएपछि मन्त्रालयले हरेक वर्ष विकास बजेट खर्चमा लक्ष्यअनुरूप प्रगति गर्न सकेको छैन ।
यी त उदाहरण मात्रै हुन् । सबैजसो निकाय यही समस्याबाट गुज्रिरहेका छन् । प्रदेशमा आवश्यक कर्मचारी जनशक्ति सिफारिस गर्ने निकाय प्रदेश लोक सेवा आयोग आफै कर्मचारी अभावमा छ । आयोगका लागि २५ दरबन्दी स्वीकृत भएकोमा हालसम्म १९ मात्र पदपूर्ति भएको छ । त्यहाँ ६ जना कर्मचारीको पद रिक्त रहेको हो । कर्मचारी नहुँदा सरकारका कामकारबाही प्रभावकारी हुन सकेका छैनन् । यदी सरकारलाई प्रभावकारी बनाउने हो र समृद्ध प्रदेश निर्माणको लक्ष्य हासिल गर्ने हो भने आवश्यक संख्यामा कर्मचारीको व्यवस्थापन तत्काल गर्नुजरुरी छ ।
प्रकाशित मितिः १५ पुष २०७८, बिहीबार ०५:०२
सम्पादकीय ।