हिमपातको कहर
सुर्खेत: हिमपातका कारण कर्णालीका हिमाली जिल्लामा जनजीवन कष्टकर बनेको छ । प्रदेशका जुम्ला, मुगु, हुम्ला, डोल्पालगायत हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । हिमालमा हिमपात र पहाडी जिल्लाहरूमा वर्षा भएको हो । हिमपातसँगै वर्षा हुँदा अत्यधिक चिसो बढेको छ । चिसोबाट वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएका छन् ।
हुम्लाको सिमकोटसहित माथिल्लो क्षेत्रमा दुई दिनदेखि भारी हिमपात भइरहेको छ । सिमकोट बजार क्षेत्रमा बाक्लो हिउँ जमेपछि स्थानीयलाई आउजाउ गर्न र वस्तु चराउन मुस्किल भएको स्थानीयले बताएका छन् । जुम्ला, मुगु र डोल्पामा मंगलवारदेखि मौसममा बदली भइ हिउँ पर्न थालेको हो ।
मुगुस्थित पर्यटकीय गन्तव्य रारा क्षेत्र हिउँले सेताम्य भएपछि घुम्न आएका आन्तरिक पर्यटक उत्साहित भएका छन् । मुगुको मुर्मा, कोटिला, मातितुम, तलितुम, ताल्चा, घटलेख, बाम, मुगु, डोल्फूलगायत बस्तीहरू हिउँले सेताम्य भएका हुन् । जुम्लाको खलंगा बजार खसभाषाको उद्गमस्थल सिंजा क्षेत्रका बस्तीहरूलाई पनि हिउँले ढाकेको छ ।
हिमपातका कारण सडक र हवाई सेवा पनि प्रभावित बनेको छ । मुगु र हुम्लाको विमानस्थलमा बाक्लो हिउँ जमेपछि एयरलाइन्सलाई उडान भर्न मुस्किल हुँदा यात्रु अलपत्र परेका छन् । धावन मार्गमा हिउँ जमेपछि हवाई सेवा अवरुद्ध भएको रारा नागरिक हवाइ उड्ययन कार्यालयले जनाएको छ । गमगढी नाग्मा सडक खण्ड अन्तर्गत घुच्ची सातमोड डाबलगायत क्षेत्रमा बाक्लो हिउँ जमेपछि मालबाहक ट्रक, जीप, मोटरसाइकल, यात्रु बस चल्न मुस्किल भएको छ । हिमपातले नेपालगञ्ज र सुर्खेतदेखि हिमाली जिल्लाका लागि गएका सवारीसाधन बाटोमै रोकिएका छन् । बजार क्षेत्रबाट ग्रामिण बस्तीमा र जिल्ला बाहिर चल्ने सानादेखि ठूला सवारी साधनलाई पनि हिमपातले अवरुद्ध बनाएको छ ।
हिमपातले गाउँ सेताम्य भएको मुगु छायाँनाथ रारा नगरपालिका–३ तलितुम गाउँका नरेन्द्र रावलले बताए । उनका अनुसार हिमपात भएपछि बाली राम्रो हुने किसानहरूको अपेक्षा छ । पहाडी जिल्लाहरूमा पनि लामो समयपछि वर्षा भएको छ । हिमपात र वर्षाले गहुँ, जौंलगायतको बाली सप्रिने र उत्पादनमा वृद्धि हुने भएपछि किसानहरू उत्साहित बनेका छन् ।
केही महिनायता वर्षा नहुँदा बारीमा लगाइएका बाली सुक्ने किसानलाई चिन्ता थियो । लामो समयसम्म पानी नपरेपछि लगाइएका हिउँदे बाली खेतमै सुक्ने अवस्थामा पुगेका थिए । यो पटकको हिमपातले हिमाली जिल्लामा जेठमा पाक्ने बाली उवा, गहुँ, जौं र भर्खर लगाइएका स्याउका विरुवालाई राहत हुने भएको हो । वर्षा भएसँगै दैलेखका किसान पनि उत्साहित बनेका छन् । वर्षाले खेतबारीमा लगाएको गहुँ र जौं सप्रने आश पलाएको गुुराँस गाउँपालिका–३ कि कमला बिकले बताइन् । उनले भनिन, ‘लामो समयसम्म पानी नपर्दा हिउँदे बाली राम्रो भएको थिएन । अब सप्रने भयो ।’ वर्षाले तरकारी खेतीलाई पनि फाइदा पुुग्ने उनी बताउँछिन् ।
पश्चिमी वायुको प्रभावले देशका अधिकांश ठाउँमा वर्षा तथा उच्च पहाड र हिमाली जिल्लामा हिमपात भइरहेपनि अब भने मौसममा क्रमिक सुधार आउने भएको छ । मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले सो प्रणाली बिहीवारदेखि क्रमिक रूपमा कमजोर बन्दै जाने देखिएको बताए ।
प्रकाशित मितिः १५ पुष २०७८, बिहीबार ०५:०४
साझा बिसौनी ।