वीरेन्द्रचोकमा पुनःराजाको प्रतिमा
सुर्खेत: तत्कालीन् मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम तथा हालको प्रदेश राजधानी वीरेन्द्रनगर स्व. राजा वीरेन्द्र वीर विक्रम शाहको नामबाटै राखिएको थियो । उनको सम्मानका लागि वि.स. २०४४ सालमा वीरेन्द्रनगर बजारको मुख्यचोकमा पूर्णकदको सालिक स्थापना गरियो । सालिक राखिएको उक्त ठाउँ राजाचोक तथा वीरेन्द्रचोकका नामले परिचित हुँदै आयो । वि.स. २०६२/०६३ मा राजसंस्थाविरुद्ध जनआन्दोलन भयो । आन्दोलनका क्रममा वीरेन्द्रको सालिक ढलाइयो । त्यसयता वीरेन्द्रचोकमा राजाको प्रतिमा थिएन ।
त्यसको झन्डै १५ वर्षपछि बुधवार पुनः वीरेन्द्रको अर्धकदको सालिक त्यहाँ राखिएको छ । यो बीचमा विभिन्न समूहले सालिक राख्ने प्रयास गरेपनि सम्भव भएको थिएन । राजाको प्रतिमा पुनः राख्ने विषयमा नगरपालिका र राजसंस्था पक्षधरहरूबीच विवाद हुँदै आएको थियो । सालिक नराखेपनि वीरेन्द्रनगर नगरपालिकाले पछिल्लो समय उक्त संरचनाको पुनःनिर्माण गरेको थियो । नगरले चोकको नाम पनि फेरेन, वीरेन्द्रचोक नै राख्यो । पहिले सालिक भएको ठाउँमा अहिले फूलको गमला थियो । विहीवार दिउँसो ‘स्वतन्त्र सुर्खेतबासी जनता’ नामक समूहले गमला फालेर सोही स्थानमा वीरेन्द्रको सालिक ठड्याएको हो ।
यसबारे वीरेन्द्रनगर नगपालिका भने बेखबर छ । सालिक राख्नेबारे नगरपालिकासँग कुनै निकायबाट समन्वय र छलफल नभएको नगरप्रमुख देवकुमार सुवेदीले बताए । उनी भन्छन्, ‘यस विषयमा अहिले नै यही हुन्छ भन्न सक्ने अवस्था छैन । स्थानीय सरकारसँग समन्वय नगरेरै मनपरी ढंगबाट सालिक राखिएको छ । थप छलफल गरेर मात्र निर्णय लिइने छ ।’ उनले नगरको समन्वयविना कुनै समूहको नाममा यस्ता गतिविधि गर्नु राम्रो नभए पनि अब भने सम्बन्धित निकायसँग छलफल गरेर एउटा निष्कर्षमा पुगिने बताए ।
जनआन्दोलनका क्रममा जसरी रातारात हटाइएको थियो त्यसैगरी नागरिकहरूले अहिले वीरेन्द्रको सालिक राखेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य जनक सिंहले बताए । उनले वीरेन्द्रकै नामबाट परिचित चोक भएकाले त्यहाँ उनकै सालिक राख्नु स्वाभाविक हुने प्रतिक्रिया दिए । सालिक स्थापना गर्दा राप्रपाका जिल्ला तथा केन्द्रीय स्तरका नेताहरू पनि उपस्थित थिए । अहिले स्थापना गरेको सालिक हटाइए त्यसको प्रतिवाद गरिने ती नेताहरूको चेतावनी छ । राजाको प्रतिमा निर्माणका लागि भएको खर्च भने स्वतन्त्र सुर्खेतबासी जनताबाट उठाएको र यसबारे थप विवरण अहिले नै सार्वजनिक नगरिने राप्रपा नेता सिंह बताउँछन् । यसअघि पटक–पटक नगरपालिकासँग सहकार्य गर्दा पनि सम्भव नभएपछि एकाएक यस्तो कदम चाल्नुपरेको उनको भनाइ छ ।
वीरेन्द्रनगर–६ का वडा अध्यक्ष मोतिप्रसाद कंडेलले सालिक राख्नेबारे वडासँग पनि समन्वय नभएको बताए । ‘स्थानीय सरकारलाई जानकारी नदिएरै यो काम भएको छ,’ उनले भने, ‘यसको विषयमा अहिले नै के गर्ने वा नगर्ने भन्न सकिने अवस्था छैन ।’ उनले सालिक राख्दा चोकमा बसिरहेको प्रहरीको पनि कमजोरी रहेको औंल्याए । सार्वजनिक स्थलमा त्यसरी कुनै समूहले सालिक राख्न खोज्दा सुरक्षा निकायले समेत चासो नदिएको र मूकदर्शक भएर बसेको उनको आरोप छ ।
अहिलेको अवस्थामा फेरि राजाको सालिक राख्नुलाई कतिपयले ठीक भएको भनेका छन् भने केहीले यसो गर्नु बेठीक भएको तर्क गरेका हुन् । सामाजिक सञ्जालमा समेत यस विषयमा विभिन्न कोणबाट टिकाटिप्पणी गर्न थालिएको हो । नागरिक समाजका अगुवा पीताम्बर ढकाल कुनै व्यक्ति वा संस्थाले सार्वजनिक स्थलमा यसरी मनोमानी ढङ्गले सालिक राख्नु सामाजिक रूपमा उपयुक्त नहुने बताउँछन् । मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीनसमेत रहेका ढकालले वीरेन्द्र राजालाई सम्मानको रूपमा वा इतिहासलाई संरक्षण गर्नका लागि सालिक राख्नु एउटा पक्ष भए पनि सरकारसँग समन्वय नै नगरेर निर्णय लिनु उचित नभएको बताएका हुन् । जो–कोही यसरी अघि बढ्न थाले सरकारी सम्पतिको दुरूपयोग हुने उनको तर्क छ । ढकालले गणतान्त्रिक मुलुकमा पुनः राजा ल्याउने भन्दै सालिक स्थापनाजस्ता गतिविधि गर्नु हास्यास्पद भएको बताए ।
प्रकाशित मितिः १५ पुष २०७८, बिहीबार ०५:०१
साझा बिसौनी ।