खेलकुदमा लगानी

कोरोना महामारीले पछिल्ला तीन वर्ष ठूलो क्षति पु¥यायो । त्रासदीपूर्ण समय रह्यो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लामो समय लकडाउन गरियो । नागरिक घरभित्रै थुनिए । सार्वजनिक गतिविधि ठप्प भए । अत्यावश्यक काम पर्दा पनि भौतिक दूरी कायम गर्नुपर्ने समय थियो त्यो । यसबीचमा सबैजसो क्षेत्र प्रभावित भए । त्यसमध्येको एक हो, खेलकुद । अन्य क्षेत्रजस्तै खेल क्षेत्र पनि प्रभावित हुनपुग्यो । खेलकुद गतिविधि ठप्प भए । न खेल गतिविधि भए न खेलाडीहरूले खेल्न पाए । नियमित अभ्यास र प्रशिक्षणबाट समेत वञ्चित भए । यसले खेलाडी र समग्र खेलजगतमा क्षति पुर्‍यायो ।

कोरोना महामारी केही नियन्त्रणमा आएपनि पूर्ण नियन्त्रण भइसकेको छैन । अहिले पनि जोखिम यथावत छ । त्रास कामयै छ । त्यसमाथि नयाँ भेरिन्ट थपिने क्रम चलिरहेको छ । सबै नागरिकले खोप पाइसकेका छैनन् । यस्तो अवस्थामा विस्तारै सबैजसो क्षेत्र खुल्दै गए । सञ्चालनमा आए । समयक्रमसँगै खेलकूद पनि सञ्चालन गर्नसक्ने वातावरण तयार भएको छ । यद्यपि कर्णाली प्रदेशमा अहिले पनि पर्याप्त गतिविधि हुन भने सकेका छैनन् । खेल पूर्वाधारको अभाव झेल्दै आएको कर्णालीलाई कोरोना महामारीले थप धक्का पु¥याएको हो । यसैपनि विरलै मात्र खेल गतिविधि सञ्चालन हुने प्रदेशमा कोरोनापछि झनै असर परेको छ । कर्णालीमा कोरोना महामारी सुरू भएयता खेलकुदका प्रतियोगिता हुन सकेनन् । प्रदेश, अन्तरजिल्ला, अन्तरपालिका र स्थानीय तहहरूले हरेक वर्ष आयोजना गर्दै आएका खेल प्रतियोगिता रोकिएका हुन् । आर्थिक अभावसँगै कोरोना संक्रमणको जोखिमका कारण कर्णालीमा खेलकुदका गतिविधि हुन नसकेको सरोकारवालाहरूले बताएका छन् । पछिल्लो समय छिटफुट रूपमा गतिविधि सुरु भएका छन् ।

महामारीका कारण गतिविधि गर्न नसक्नु एउटा पाटो हो भने अर्कोतर्फ खेल पूर्वाधार निर्माणमा पनि सरकारी बेवास्ता हुने गरेको छ । प्रशिक्षक र खेल संरचनाको अभावले खेलाडीहरू उत्पादनमा समस्या हुँदै आएको हो । प्रदेशस्तरीय र कतिपय जिल्लामा स्थानीय प्रतियोगिता सञ्चालन गर्न पर्याप्त पूर्वाधार छैनन् । खेलकुदका लागि इन्डोर र आउटडोर रंगशाला बनेका छैनन् । आवश्यक स्रोतसाधन नभएपछि खेल क्षेत्रको अपेक्षित विकास हुन सकेको छैन । कर्णाली १० वटै जिल्लामा खेलका भौतिक संरचनाको अभाव छ । खेलाडीलाई अभ्यास गराउने जनशक्ति अपुग छ भने भएका प्रशिक्षकको पनि उचित व्यवस्थापन हुन सकेको छैन । अबभने सरकारले खेल संरचनाको विकाससँगसँगै प्रतियोगिताहरूको आयोजनामा ध्यान पु¥याउन जरुरी छ ।

प्रकाशित मितिः   १४ पुष २०७८, बुधबार ०५:०३