छाउ र भाउ

गोठ होइन, महल

डा. नवराज केसी

आमा र बालबालिकाको सम्बन्ध वा ‘छाउ र भाउ’को सम्बन्ध एकदमै गहिरो हुन्छ । कर्णाली प्रदेशको गाउँ–गाउँ घुम्दाखेरि मैले पत्ता लगाएको कुरा के हो भने, यहाँ ५० प्रतिशत बालबालिका कुपोषित छन् । र, त्यसको कारण हो यहाँका आमाहरू कुपोषित छन् ।

कर्णाली प्रदेशमा ९२ प्रतिशत महिलाहरूको नाममा घर छैन । ती महिलाहरू सुकुम्वासी हुन् । यसको प्रत्यक्ष असर बालबालिकामा पर्छ । हामीले के भन्छौं भने बालबालिकाहरू स्कुल जाँदैनन्, पढ्दैनन् । यहाँ अशिक्षा छ । यसको कारण स्कुल नभएर होइन । यसको कारण हो आमाहरू अशिक्षित भएर । कर्णाली प्रदेशमा ४१.५ प्रतिशत महिला अशिक्षित छन् । त्यसैले बालबालिकाहरूमा यसको असर परेको छ । त्यसैले छाउ र भाउको सम्बन्ध हेर्दा अलि नकारात्मक टिप्पणी ग¥यो कि भन्ने हुन्छ । तर जरा नै यही हो ।

जब हामीले जरालाई समात्दैनौं तब अन्य खालको विकासले कुनै काम गर्दैन । जबसम्म हामीले आमा र बच्चालाई जोड्न जान्दैनौं, छाउ, भाउ र त्यसपछि बाउलाई पनि जबसम्म हामीले यसमा जोड्न सक्दैनौं तबसम्म हामीले कर्णालीलाई धकेल्न सक्दैनौं । एउटा विद्वानले लेखेको किताबमा के निक्र्याैल गरिएको छ भने, गर्भवती महिला र तीन वर्षसम्मको बालबालिकामा गरिने राज्यको लगानी ठूला–ठूला विश्वविद्यालयमा गरिने लगानीभन्दा महत्वपूर्ण हुन्छ । जबसम्म आमाको ‘अ’लाई अर्थतन्त्रको ‘अ’ सँग हामीले जोड्न जान्दैनौं, तबसम्म देश कङ्गालको कङ्गालै भइराख्छ ।

हाम्रो दिमागको ७० प्रतिशत कुराहरू बौद्धिक होस् वा भावनात्मक, सबै कुरा कि आमाको कोखमा विकसित हुन्छ कि आमाको काखमा विकसित हुन्छ । यदि एउटा महिलाको पेटभित्र बच्चा छ र ती महिलालाई त्रास देखाइन्छ, राम्रोसँग खान दिइँदैन, कुटपिट गरिन्छ भने उनको शरीरमा एक प्रकारको त्रासको रसायन बन्न थाल्छ । त्यो रसायन गर्भभित्र रहेको बच्चाको गिदिमा रगतको माध्यमबाट जान्छ र काखमा भएको बच्चाको गिदिमा आमाको दूधबाट जान्छ । र, त्यसले भावनात्मक विकास हुने बच्चाको गिदीमा नकारात्मक असर पारिदिन्छ । पछि गएर बच्चालाई राम्रै कुराभन्दा वा राम्रै कुरा पढाउँदा पनि त्यसलाई नकारात्मक रूपमा लिन्छ । हिंसात्मक रूपले लिन्छ ।

अन्ततोगत्वा त्यही बच्चा अगतिलो डाक्टर वा नेता वा अरु केही बन्छ । यो कुरालाई हामी सबैले नबुझेसम्म परिवर्तन हुनेवाला छैन । काठमाडौंमा भन्दा कर्णालीमा बालबालिकाको मानसिक समस्या धेरै छ । किनभने कर्णालीका आमाहरूमा मानसिक समस्या बढी छ । अघि जुन नदीमा हाम फालेर मरेको कुरा थियो, त्यो हिजो भएको कुरा होइन, वर्षौंदेखिको समस्याको कारणले गर्दा सुसाइडल टेन्डेन्सी बढ्यो । यो कुरा बुझ्यौं भने मात्र हामीले राम्रा बालबालिकाहरू उत्पादन गर्न सक्छौं । र, पछि गएर ती बालबालिका गतिला व्यक्ति बन्छन् ।

समानताको कुरालाई सामान्य भाषणको रूपमा मात्रै नभइ समाधानका साना–साना कार्यक्रमको रूपमा अघि सार्नुपर्छ । जस्तो कि एकचोटी एक जना गर्भवती बहिनी मैले जाँच गरिहेको कोठामा आउनुभएको थियो । अर्कै कारणले आउनुभएको थियो । उहाँको टाउकोमा एकदमै ठूलो रातो कसैले कुटेकोे दाग थियो । अनि मैले बहिनी यो घाँटीमा के भयो भन्दा पहिला त उहाँले भन्नुभएन । पछि कुरा गर्दागर्दै मेरो श्रीमान्ले मलाई बेलुका–बेलुका रक्सी खाएर पिट्नु हुन्छ भन्नुभयो । यसो सोचेर मैले एउटा चिठी लेखें अनि यो लगेर आफ्नो श्रीमान्लाई दिनुहोला भनें ।

उहाँले त्यो चिठी लगेर श्रीमान्को हातमा दिनुभएछ । श्रीमान्ले त्यो चिठी च्यातेर चुलोमा फाल्नुभएछ । त्यसको दुई दिनपछि बेलुका श्रीमान् रक्सी नखाएरै घर आउनुभएछ । घरमा आएपछि तँलाई अलिकति रेष्ट चाहिन्छ, तँ रेष्ट गर, आज म खाना पकाउँछु भन्नुभएछ । भोलिपल्ट दिउँसो म आज तेरो कपडा धोइदिन्छु तँ रेष्ट गर भन्नुभएछ । अनि उहाँलाई लाज लागेछ । चेकजाँचका लागि फेरी आउँदा उहाँ मकहाँ आउनुभयो । अनि सोध्नुभयो– डा. साहब त्यो चिठीमा हजुरले के लेख्नुभएको थियो ? भने– त्यो चिठी मैले मेरो नामबाट लेखेको होइन । तपाईंको नामबाट पनि लेखेको थिइन् । न त अस्पतालको नामबाट । त्यो चिठी मैले तपाईंको गर्भभित्र रहेको बच्चाको नामबाट लेखेको थिएँ । चिठीमा लेखेको थिएँ– प्रिय बुवा, म अहिले आमाको काखभित्र खेलिरहेको छु, सुरक्षित छु, खेल्ने धेरै ठाउँहरू छन् यहाँ । म बाहिर आएर तपाईंको हात समातेर स्कुल जान आतुर छु । तपाईंको काखमा खेल्न म आतुर छु । मेरो बुवालाई भेट्न म आतुर छु । तर मेरो बुवा, बेलुका सात बजेपछि मलाई कसैले घाँटी चेपेको जस्तो लाग्छ । कसैले मलाई मार्न खोजेको जस्तो लाग्छ । मेरो आमाको वरिपरि मेरो बुवा हुँदाहुँदै कसले यस्तो ग¥यो होला र ? मलाई त यो कुरामा विश्वास लाग्दैन । मेरो आमाको सुरक्षा गरिदिनुहोला है बुवा । किनभने उहाँकै पेट मेरो घर हो । एउटा सानो चिठीले उहाँ परिवर्तित हुनुभएछ ।

त्यसैले परिवर्तनको मोडेल नै परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ । छाउगोठलाई हटाएर छाउ महल बनाउनु जरुरी छ भन्ने लाग्छ । कुनै पनि घरको राम्रो कोठा, जुन कोठामा राम्रा पुस्तकहरू होउन्, सानो एउटा रेडियो पनि झुन्डिएको होस्, प्रशस्त खानेकुरा होस्, जब महिलाहरू महिनावारी हुन्छन् त्यो कोठा उनीहरूको लागि होस् । अनि संसारले नै कर्णालीबाट सिकून्, छाउ गोठ होइन छाउ महल बनाउनुपर्छ भनेर । त्यसैले साना–साना नमुनाहरूलाई अलिकति भित्री रूपमा गएर विकास गर्नुपर्छ जस्तो मलाई लाग्छ ।

महिलाहरू हरेक रात अन्तिममा सुत्छन् । यति मात्रै होइन महिलाहरूले खाना पनि अन्तिममा खान्छन् । त्यो खानामा भात र दाल चाहिँ हुन्छ होला, तर तरकारी हुँदैन । सबैभन्दा आवश्यक तत्व त्यही हो । अन्तिममा खाने महिलाहरूको खानामा हरियो साग सब्जी, प्रोटिनयुक्त कुराहरू तथा आइरनजस्ता तŒवको कमी हुन्छ । जसले गर्दा उहाँहरूबाट जन्मेको बच्चामा पहिलेदेखि नै रगतको मात्रा कम हुन्छ । अघि गमताजीले भन्नुभयो कि बच्चा जन्मेको दोस्रो दिनमै उहाँ घाँस दाउरा गर्न जानुहुन्थ्यो । त्यस्तो गरुङ्गो काम गर्दा दूध राम्रोसँग आउँदैन । अनि बच्चाले दूध पनि राम्रोसित खान पाउँदैन । परिणामतः त्यो बच्चाको शरीरमा धेरै प्रकारको भिटामिनको कमी हुन्छ । त्यसमा आइरनको पनि कमी हुन्छ । रक्तअल्पताको एउटा लक्षण माटो चाट्नु हो । कर्णालीका धेरै बच्चाहरूले माटो चाटेको पनि हामीले देखेका छौं ।

(केसी बालरोग विशेषज्ञ हुन् ।)


अनि मैले छाउ बार्न छोडें

गमता बि.क.

म सोह्र वर्षमा महिनावारी भएको थिएँ र उन्नाइस वर्षमा मेरो विवाह भएको थियो । तीन वर्ष पछि मेरो छोरा र पाँच वर्ष पछि छोरी जन्मिए । त्यतिबेला स्वास्थ्य चौकीको त के कुरा आइरन चक्कीको सट्टा ढुङ्गा माटो खाने चलन थियो । मैले पनि त्यो भोगेको हुँ ।

म सुत्केरी हुँदा मलाई आराम चाहिन्छ, मैले आराम गर्नुपर्छ भन्ने कुरा म आफैलाई थाहा थिएन । छोराछोरी जन्मिएको दुई–तीन दिनमा नै म जङ्गलमा दाउरा, घाँस काट्न जान्थें । २०५७ साल तिरको कुरा हो । मेरा छोराछोरी सानै थिए । म महिनावारी भएको बेला उनीहरूलाई खाना खान दिने मान्छे पनि कोही भएन । त्यस्तो अवस्थामा उनीहरूले धेरै दुःख पाउन थाले । पहिला त म देउता लाग्छ भनेरै डराएँ । विस्तारै म बेसार बारी, खुर्सानी बारी हुँदै पसें र ढोकासम्मै पुगें । ढोकाबाट मभित्र पसें । त्यसपछि भने म छाउ हुँदा बाहिर निस्किन । अनि समाजको दृष्टि ममाथि पर्न थाल्यो ।

त्यतिबेला गाउँमा बाटो पनि थिएन, बाडी पनि थिएनन् । छोराछोरी पाल्न बाहिर हिँड्दै गर्दा पाँच वर्षसम्म कसैको घरको दुध मैले खान पाएन र मेरो घरको दुध अरूले पनि खाइदिएनन् । मेरा मन मिल्ने दिदीबहिनीहरूले मलाई सोध्नुभयो, ‘तिमी के खान्छौ ? तिमीलाई किन महिनावारी हुँदैन ? कुनै औषधी खान्छ्यौ कि देउता लागेर तिम्रो छाउ बाडी बन्द भयो ?’ उहाँहरूलाई भनें, ‘मलाई देउता पनि लागेको छैन, मैले औषधी पनि प्रयोग गरेको छैन । मैले यस्तो यस्तो गरेको छु तर बिग्रिएको केही पनि छैन ।’ त्यसपछि मैले म जस्तै २० जना मन मिल्ने साथी बनाएँ । उहाँहरू कसैलाई पनि केही भएन । त्यसपछि हामीले २० वटा आमा समूह बनायौं । विस्तारै उहाँहरूलाई पनि चेतना भयो । चेतना नभएसम्म केही पनि हुँदो रहेनछ । छाउ वा सुत्केरी भएको बेला आराम गर्नुपर्छ । गोठमा हैन घरमै बस्नुपर्छ । यस्तो गर्दा केही हुँदैन । देउता पनि रिसाउँदैनन् । गाई पनि मर्दैनन् । बारीमा पनि फूल फुलेर फल लाग्छ । सबैलाई ज्ञान भयो । छाउ भनेको त महिलालाई चिनाउने एउटा गुण रहेछ ।

यसरी विस्तारै विस्तारै आफ्नो अनुभवबाट आएको चेतना फैलाउँदै जाँदा २०६६ सालबाट मलाई संघ–संस्थाहरूले पनि सहयोग गर्दै गए । त्यसपछि छाउबाडी बारे चेतनामूलक कार्यक्रम गरियो । छाउगोठ भत्काएर चर्पी बनाउने अभियान सुरु गराएँ । त्यो चेतना उठाउँदा–उठाउँदै धेरै परिवर्तन भयो । अझै पनि छाउबाडी त छ तर त्यो बेला हामी घर नजिक नै आउन पाउँदैनथ्यौँ । हामीलाई धेरै घृणा गरिन्थ्यो । अहिले धेरै सहज छ । हाम्रोमा बालबालिकाहरूका समस्या पनि त्यस्तै छन् । हामी बस्ने ठाउँमा प्रायः दलित वा गरिब बालबालिका छन् । हुनेखानेहरूका बालबालिका चाहीँ सहरतिर पढ्न जान्छन् । सरकारी विद्यालयमा पढाउने शिक्षकले पनि राम्रोसँग पढाएका छैनन् । महिला र पुरुषमा पनि विभेद धेरै छन् ।

म बस्ने ठाउँमा एक जना महिला आफ्नो जँड्याहा श्रीमान्ले दुःख दिइरहँदा आफ्नो पाँच जना बालबालिका लिएर नदीमा ज्यान फाल्न बाध्य भइन् । अझै पनि दलित बालबालिकाहरू पढ्न नपाएर त्यसै बाटोमा घुमिरहेका छन् । राज्यले नीति नियम त बनाएको छ । कार्यान्वयन गर्ने पनि हामी नै हौं । त्यो समाजमा बस्ने पनि हामी नै हौं । तर त्यो कार्यान्वयन किन फितलो छ ? कार्यान्वयन नै नहुने हो भने नीति बनाएको के काम भयो ?

अहिले पनि हाम्रो देशका ठूला–ठूला नेताहरू महिलालाई, दलितलाई, पिछडिएका वर्गका मानिसहरूलाई अगाडि ल्याउनुपर्छ भन्ने कुरामा तयार छैनन् । संविधानमा लेखिएको छ तर कार्यान्वयनको अवस्था कमजोर छ । दिनभरी कार्यक्रममा बसेर घर जाँदा पनि महिलाले नै खाना पकाउनु पर्छ । गाई, भैंसी वरपर सबै गर्नैपर्ने हुन्छ । सुत्दा १०–१२ बज्न पनि सक्छ । पुरुष चार्ही १०–१२ बजेसम्म भट्टीमा बसेर आफूले चाहेको कुरा सबै गरेर जान पाउने यो प्रचलन अहिले पनि जस्ताको त्यस्तै छ ।

मैले यतिका वर्ष राजनीति गरेपनि कुनै एउटा ठाउँमा जानुपर्दा एउटा बाख्रो बेचेर जानपर्छ । हामी महिला तथा दलितहरू आर्थिक हिसाबले पनि सधैँ पछाडि परिरहेको स्थिति छ । शिक्षाको कुरा गर्दा त्यतिबेला धनीहरूका छोराछोरीलाई पनि पढ्नुपर्छ भन्ने ज्ञान थिएन । पढेपनि छोराहरूमात्र पढ्न पाउँथे । मेरो पनि बिहे भएर छोराछोरी भइसकेपछि काम गर्दै जाँदा अब त मैले अक्षर चिन्न जान्नुपर्छ है भन्ने हिसाबले बच्चाबच्चीलाई बोकेर नै मैले प्रौढ शिक्षा पढें । अहिले म केही कुरा पढ्न र केही लेख्न सक्ने भएँ । बिहानै चार बजे उठेर रातभरी जाँतो पिस्नुपर्ने, ढिंकी कुट्नु पर्ने, धान पनि कुटेर नै भात खानुपर्ने, मकै पनि कुटेर नै रोटी खानुपर्ने चलन अझै पनि हाम्रोतिर छ । मिल कारखाना धेरै छैनन् । कहीँ कहीँ भए पनि हाम्रा आमाबुवाहरू वा बुढापाकाहरू मिलमा कुटेको निको मान्दैनन् ।

अझै पनि बिहानै उठेर घर लिपपोत गर्ने चलन छ । त्यो कुरालाई चाहिँ म नराम्रो भन्दिन, किनभने दबाबैले गर्नु त ठीक होइन तर हामी आफैले गरेर खान्छौं, मिठो खान्छौं, बिहान दैलो लिपेर हामी सफा गर्छौं, सफा वातावरणमा बस्छौं भने त त्यो राम्रै कुरा हो । श्रीमान् घर आएपछि मात्रै श्रीमतीले खानुपर्ने चलन अझै पनि गाउँघरमा छ । केही ठाउँमा अथक प्रयासले त्यस्तो परिस्थिति हामीले हटाउन सफल भएका छौं । मेरी छोरी महिनावारी हुँदा मैले गाउँमा बाजा बजाएर खुसीयाली मनाएँ । छोरीलाई घरमै सुताएँ । तर समाजले मेरी छोरीलाई भड्काएर तिमीलाई तिम्री आमाले बिगार्छिन् भने । तिनको अहिले राम्रो नै भइरहेको छ । अझै पनि गाउँघरमा छोरी जन्मिदा यसलाई कता लैजाने हो लैजाऊ भन्ने र छोरा जन्मियो भने बाजा बजाउने प्रचलन छ । त्यसलाई पनि हामीले समाजमा गएर कसरी चेतना फैलाउन सकिन्छ बिस्तारै त्यसमा पहल गर्नुपर्ने छ, गर्छु पनि ।

(विक सामाजिक अभियन्ता हुन् ।)


हिंसाको मूल नै महिनावारी विभेद

राधा पौडेल

वास्तवमा मैले १८/१९ वर्ष अगाडि कर्णालीका महिलाहरूको जुन अवस्था देखेको थिएँ, त्यो अवस्थाबाट राजनीति, स्वास्थ्य, खानपान आदि कुरामा अलिकति सकारात्मक हिसाबले अगाडि बढेको देखेको छु । तर पनि कर्णालीमा महिला तथा बालबालिकाहरूको अवस्था जहाँको त्यहीँ छभन्दा फरक पर्दैन जस्तो मलाई लाग्छ ।

वास्तवमा हामीले ‘महिनावारी बार्ने’ जुन अभ्यास छ, पुरुषहरूको दाह्री–जुँगा आएजस्तै महिलाहरूको महिनावारी हुने कुरा हो । यो प्राकृतिक कुरा हो । तर यससँग जोडिएको सामाजिक, आर्थिक, राजनीतिक, वातावरणीय पक्षहरूलाई विश्लेषण नगरेका कारणहरूले गर्दा पेटमा बच्चा आएदेखि मृत्युपर्यन्तसम्म छोरीहरूमाथि गरिने विभेदहरूको मुख्य कारण नै महिनावारी बार्ने अभ्यास बनेको छ ।

त्यो अभ्यासका दृष्टिले हेर्दा महिलाहरूको अवस्था पटक्कै सुध्रिएको छैन । त्यसो त नेपाल सरकारले मर्यादित महिनावारीलाई आत्मसात गरेर मस्यौदा नीति बनाउने, विभिन्न कार्यक्रमहरूमा समावेश गर्ने, अन्तर्राष्ट्रियस्तरमा कार्यशाला गोष्ठी गरेर ‘छाउपडीको देश होइन मर्यादित महिनावारीको देश हो’ भनेर अगाडि लैजानका लागि पहल गरेको छ । छाउपडी गोठमुक्त अभियान सञ्चालन गर्दै मर्यादित महिनावारी प्रवद्र्धन गर्ने भनेर २०७६ माघको ८ गते संघीय, प्रदेश र स्थानीय तहका सबै प्रमुखहरू रहेर प्रतिबद्धता गरेको पनि हो । एकातिर अक्षरहरूमा, संविधानमा, नीति नियमहरूमा, प्रतिबद्धताहरूमा, भाषणहरूमा महिलाहरूको सशक्तीकरण भएको छ, महिलाहरू मर्यादापूर्वक जीउन पाउने कुराको आभास दिएको छ । तर वास्तविक जीवनमा भने सुकी बडाललाई हेर्नुपर्छ । उनी गरिबीका कारणले मात्रै मरेकी होइनन्, उनी रक्सी खाएको श्रीमान्ले कुटेर मात्रै मरेकी होइनन्, त्यहाँभित्र रहेको ‘छोरीहरू भनेको मानव नै होइनन् उनीहरू एउटा पशु सरह हो’ भन्ने जुन खालको सामाजिकीकरण छ, त्यसले गर्दा उनको ज्यान गएको हो । महिनावारी बार्ने कारणले गर्दा घरदेखि नै छोरा र छोरी बीचमा विभेद गरिएको छ । छोरीहरूलाई शक्तिविहीन र छोराहरूलाई शक्तिशाली पात्रको रूपमा सामाजिकीकरण भएको छ त्यसको एउटा परिणाम हो । यसले हाम्रो राजनैतिक, आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ सबै तह र क्षेत्रमा अल्पकालीन र दीर्घकालीन दुवै रूपमा असर गरेको छ ।

सुकी बडालको कुरा होस् वा उहाँले स्कुल जान नपाएको वा राजनीतिमा सहभागी हुन नपाएको कुरा होस् यो सबैको सम्बन्ध महिनावारी बार्ने अभ्यास वा महिनावारी विभेदसँग सम्बन्धित छ । जुन महिला महिनावारी भएको अवस्थामा भान्सामा बसेर कुराकानी गर्न सक्दैन, जुन महिलाले आफ्नो दाइभाइ अथवा आमासँग–सँगै बसेर खान सक्दैन उसको पहिलो संसद् भनेको भान्सा हो अथवा डाइनिङ टेबल हो ।

संविधानमा ३३ प्रतिशत महिलाको सहभागिता लेखेको छ भनेर भन्दैमा संसद्मा गएर ३३ प्रतिशत महिला सहभागिता गराउन सकिन्छ ? सकिँदैन । त्यहाँ गएर बोल्न सक्नुहुन्छ ? सक्नुहुन्न । तसर्थ सबैभन्दा पहिला प्रश्न गर्न सिकाउने, आफ्नो बाऊआमा, दाइभाइलाई प्रश्न गर्ने, चुनौती दिने थलो भनेको नै घर हो । आज नेपालमा एक सय हिंसाका घटनामध्ये ९३ वटा घरमा भएका छन् । त्यो ९३ वटा हिंसामा ८२ वटा हिंसाचाहिँ आफ्नै घरपरिवारका व्यक्तिले गर्छन् । श्रीमान, दाइ, भाइ, काका, हजुरबुवाले गरेका छन् । त्यो कुराबाट जबसम्म हामी टाढा भाग्न खोज्छौँ, तबसम्म उहाँहरू दुवै जनाले भनेका समस्याहरू समाधान गर्न सक्दैनौँ ।

सबैभन्दा पहिलो, चाहे त्यो संसद् भन्नुहोस्, चाहे त्यो स्कुल वा विश्वविद्यालय भन्नुहोस् जे भने पनि घर हो । घरभित्रको शक्ति निर्माण प्रक्रियालाई हामीले भङ्ग गर्न सकेनौँ । शक्ति निर्माण प्रक्रिया भनेको छोरीहरूलाई शक्तिविहीन बनाउने र छोराहरूलाई शक्तिशाली बनाउने हो । जुन महिनावारी बार्ने चलन वा अभ्यास छ, चाहे त्यो काठमाडौंको कुरा होस्, चाहे धनी वा एकदमै पढेको परिवार, चाहे कर्णाली, सुदूरपश्चिम सबै ठाउँमा जुन खालको छोरीहरूप्रति गरिने फरक, शक्तिविहीन अथवा अमानवीय हिसाबले हेर्ने दृष्टिकोण छ, त्यो दृष्टिकोणलाई नबदलेसम्म अर्थको ‘अ’ पनि जोडिँदैन, आमाको ‘अ’ पनि जोडिँदैन ।

किन सम्मानित राष्ट्रपति संस्थामाथि अमानवीय शब्दहरू बोलिए ? संसद्मा महिलाहरू बोल्दाखेरि किन ट्याउँट्याउँ गर्छन् भन्ने शब्दहरू बोलिए ? किन महिलाहरूले फेसबुकमा विभिन्न कुराहरू लेख्दाखेरि बलात्कार गर्ने, मार्ने धम्कीहरू आउने गर्छन् ? ती सबैको पछाडि महिलाहरूलाई हेर्ने दृष्टिकोण महिनावारी बार्ने अभ्यासबाटै निर्मित छ । महिनावारी अशुद्ध हो, पाप हो, कुरा गर्नुहुँदैन, छोपछाप राख्नुपर्छ, लाज हो भन्ने अज्ञानता एकातिर छ । अर्काेतिर मौनता र धर्म संस्कृतिसँग जोडेर दिइने डर छ । महिलाहरू आफैँमा पनि म सानो छु, कमजोर छु, केही पनि गर्न सक्दिनँ भन्ने खालको मानसिकता स्थापित गराइएको छ । एउटी छोरीले ५र६ वर्षको उमेरमा नै महिनावारीको बारेमा थाहा पाउँछे । आमाको, छिमेकी भाउजूको, दिदीहरूको, काकीको व्यवहारबाट उनीहरूले महिनावारी बारेमा थाहा पाउँछन् । म ठूलो भएपछि महिनावारी हुन्छु, महिनावारी भएपछि महिनावारी यसरी बार्नुपर्छ, पचास साठी वटा महिनावारी बार्नुपर्ने सुची उसले तयार गरिसकेको हुन्छ ।

छोरीले बोल्नु हुँदैन, चुप लागेर सहनुपर्छ भनेर सिकाइएको हुन्छ । आफ्नो आमालाई प्रश्न नगर्ने छोरीले, आफ्नो दाइले चिमट्दा, धकेल्दाखेरि तिमीले मलाई राम्रो गरेनौ मलाई मन परेन भन्न नसक्ने छोरीले भोलि आफूले काम गर्दाखेरि अथवा स्कुलमा अथवा श्रीमानलाई चाहिँ मलाई यो मन पर्दैन अथवा यस्तो नगर, नाइँ भन्न सम्भव छैन । प्रश्न गर्न सिकाउने, नाइँ भन्न सिकाउनेको अभ्यास घरबाटै गर्नुपर्छ तबमात्र सबै कुराको समाधान हुन्छ । सबै हिंसाको मूल जरा भनेको नै महिनावारी विभेद हो ।

सबै समस्याको मूल जरो महिनावारी भएको भेटिन्छ । र, यसको कर्ता पुरुष । त्यसकारण समस्या समाधानको नेतृत्व पुरुषले गर्नुपर्छ भन्ने म ठान्छु । र, यो सम्भव छ भन्ने मलाई लाग्छ ।

(पौडेल लेखक तथा अभियन्ता हुन् ।)


समानतासहितको समृद्धि

विन्दा पाण्डे

जबसम्म एउटा बच्चा गर्भमा हुँदाखेरी नै आमा शारीरिक तथा मानसिक हिसाबबाट स्वस्थ रहने, पोषिलो खानेकुरा पाउने र खुसी पारिवारिक वातावरण बनाउनेतर्फ हामीले ध्यान दिन सक्दैनौँ, तबसम्म जतिसुकै समृद्धिका कुरा गरेपनि त्यो व्यवहारमा हुनेवाला छैन । जबसम्म हाम्रा सोच, दृष्टिकोण र व्यवहारहरू रूपान्तरण हुँदैनन्, तबसम्म नीतिमा लेखिएका कुराहरू भनेको जान्ने र बुझ्नेका लागि वा पहुँच हुनेहरूका लागि मात्रै उपयोगी हुने रहेछ । जुन दिनसम्म हामीले नीतिगत व्यवस्थाहरूलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नको लागि काम गर्न सक्दैनौं, तबसम्म हामीले लेखेका कुराहरूले यहाँका मान्छेहरूको जीवनमा खासै धेरै असर गर्दैन ।

समृिद्धको पाटो अर्थतन्त्रमा कति विकास भयो भन्ने कुरामात्रै पनि होइन । हामीले नागरिकहरूलाई सामाजिक तथा सांस्कृतिक हिसाबबाट कति समान व्यवहार गरेका छौं भन्ने कुरामा पनि निर्भर हुन्छ । हरेक व्यक्तिलाई म यो समाजमा बराबरीको हैसियत भएको सम्मानित नागरिक हुँ भन्ने अनुभूति दिन सकेको दिन यो समाज समृद्ध हुन्छ । बच्चाहरू पेटमा हुँदा आमाहरूले म यो मुलुकको समान हैसियतको मर्यादित नागरिक हुँ भन्नेखालको मानसिकतासहित सोच्ने व्यवहारले पेटमा रहेको शिशुलाई पनि असर गर्छ भनेर हाम्रो समाजले बुझेको दिन मात्र त्यो सम्भव हुन्छ ।

कानुनमा धेरै कुरा लेखिसकिएको छ । तर कानुनमा लेखेको कुरा राजनीति हो । राजनीति सबैभन्दा रुखो हुन्छ । रुखोपनले मान्छेलाई समृद्ध बनाउँदैन । त्यसकारण मानवलाई समृद्ध बनाउनको लागि जुन खालका कुराहरू हामीले सुनिराखेका र भोगिराखेका छौं, कसरी सिंगो कर्णालीका नागरिकहरूलाई त्यो खालको अनुभूति दिलाउने र त्यसलाई व्यवहारमा परिवर्तन गराउने हामी सबैले जहाँजहाँ छौं त्यहीँ–त्यहीँबाट प्रयत्न गर्नुपर्छ । र, यसलाई कार्यान्वयनको तहमा लैजान सक्यौं भने मात्रै समाधान हुनसक्छ ।

आजका बालबालिका भोलिका भविष्य भनिराखेका छौं । त्यो कुरालाई नारा मात्र लगाएर हुँदैन । त्यसलाई अनुभूत गरेर व्यवहारमा रूपान्तरण गर्ने कुरामा हामी सबैले योगदान गर्नुपर्छ । हामीले चाहेजस्तो समानतामा आधारित समाजका लागि पहिलो कुरा तपाईंले मलाई हेर्दा म तपाईंजस्तै नागरिक हो भनेर सोचिदिनुपर्‍यो । सबैभन्दा पहिले त्यस्ता पुरुष चाहियो । अर्काे हाम्रो परिवारमा हाम्रा बुवाहरू कस्ता चाहिए भने, उहाँहरूले हाम्रा आमाहरूलाई आफैसरह हो भनेर सम्मानित व्यवहार गरेको छोराछोरीले देख्न पाउने खालको हाम्रा बाहरू चाहियो । हाम्रा दाजुभाइहरूले हाम्रा दिदीबहिनीहरूलाई परिवारभित्र म उसको संरक्षक होइन ऊ र म बराबरी हैसियतको नागरिक हो भन्न सक्नुप¥यो । मेरी दिदीबहिनीमाथि परम्पराको हिसाबले विभेद गर्नेखालको कुनै प्रश्न उठ्छन् भने मैले सबैभन्दा पहिले त्यसको प्रतिकारमा आवाज उठाउनुपर्छ भनी अगाडि बढ्ने दाजुभाइहरू चाहियो ।

जसका कारणले आफ्नो घरभित्र मात्र होइन, आफ्नो समुदायमा र यो मुलुकको पितृसत्ताको आडमा कुनै ठाउँमा, कुनै किसिमको महिला हिंसा हुन्छ, कुनै खालको विभेद हुन्छ, त्यसविरुद्ध अग्रपंक्तिमा पुरुषहरूको आवाज उठ्ने खालको स्थिति हामीले समाजमा पायौं भने त्यो समाजमा आमाहरू सम्मानित हुन्छन् । जुन दिन आमा सम्मानित हुन्छिन् त्यो दिन आमा र बालबालिकाबीचको सम्बन्ध डा. नवराज केसीजीले भन्नुभएको झैं प्रगाढ हुन्छ । त्यसले भविष्यको पुस्ता एकदमै असल पुस्ता बन्छ भन्ने मलाई लाग्छ ।

आज हामी जुन छाउ भनिराखेका छौं, त्यो हाम्रा आमाहरूको वा महिलाहरूको उनीहरूमा निहित सबैभन्दा ठुलो शक्ति हो । तपाईं हामी सबै हाम्रो आमाको छाउको अंग हौं । हाम्रो आमाको छाउविना हामी हुँदैनथ्यौं । महिलाको छाउ रोकिए संसार रोकिन्छ भन्ने कुरा समाजले अनुभूति गर्न सक्यो भने हामीलाई महिला, पुरुष, लैङ्गिक अल्पसंख्यक सबैलाई छुट्याएर नहेर्ने खालको समाज बन्न सक्छ । त्यही दिन हाम्रो समाज समृद्ध बन्छ ।

(पाण्डे राजनीतिकर्मी हुन् ।)


(ऋति फाउण्डेसनको आयोजनामा २०७७ फागुनमा वीरेन्द्रनगरमा भएको ‘कर्णाली उत्सव’को दोस्रो संस्करणको ‘छाउ र भाउ’ सत्रका वक्ताहरूले व्यक्त गरेका विचार हुन्, यी ।

प्रकाशित मितिः   १४ पुष २०७८, बुधबार ०५:०४