विकासको बाधक व्यवस्थाः प्रकाण्ड

सुर्खेत: नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जनमत संग्रहको माध्यमबाट व्यवस्था बदल्नुपर्ने बताएका छन् । मुलुकको विकासका लागि अहिलेको व्यवस्था नै बाधक रहेको उनले बताएका हुन् । जनमत संग्रह गरेर हालको व्यवस्था बदल्नुपर्ने भन्दै प्रकाण्डले भने, ‘देशको उन्नति र प्रगतिका लागि अबको बाटो जनमत संग्रह नै हो ।’ जनपत्रकार संगठनले मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको व्यवस्थाले पुरानाको ठाउँमा नयाँ शासक मात्र थपिएको बताए ।

सरकारमा रहेका राजनीतिक दलले पुरानो राज्य व्यवस्था र शासन प्रणालीकै निरन्तरता दिएको उनको आरोप छ । उनले नेपालको हालको राजनीति संकटग्रस्त रहेको समेत औंल्याए । ‘संघीयताको नाममा पुराना शासकको ठाउँमा नयाँ आउँदैमा नेपाली राजनीति अर्थपूर्ण हुँदैन,’ प्रकाण्डले भने, ‘यस्तो प्रवृत्तिकाविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले संघर्ष गरिरहेको छ ।’ देशको नेतृत्व गर्नेहरू जनताप्रति उत्तरदायी नहुँदा समस्या विकराल बन्दै गएको भन्दै उनले वर्तमान सरकार जनमुखी नभएको जिकिर गरे । केपी शर्मा ओलीको सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग गरेका तीन बुँद्दे सहमति कार्यान्वयन नगरेको बताउँदै प्रकाण्डले त्यसको क्षति सरकारले कुनै न कुनै बेला बेहोर्नुपर्ने चेतावनीसमेत दिए । ‘आज पनि हाम्रा झन्डै दुई हजार बढी कार्यकर्ता थुनामा हुनुुहुन्छ,’ उनले भने, ‘सरकारले दमनको नीति छोडेको छैन ।’

त्यस्तै, प्रवक्ता प्रकाण्डले एकअर्को सन्दर्भमा एमसीसी राष्ट्रघाती भएको उल्लेख गरे । ‘यहाँ एमसीसी लागू भएमा राष्ट्रियतामा इतिहासकै सर्वाधिक अमेरिकी हस्तक्षेप हुनेछ,’ उनले भने, ‘नेपाललाई राजनीतिक र सैन्य बलको रणसंग्राम बनाउने दाउमा अमेरिका छ ।’ यो शक्ति राष्ट्रको चेपुवामा पारेर नेपाललाई युद्धको भूमरीमा पार्ने सम्झौता भएको उनको भनाइ थियो । एमसीसी परियोजना लागू हुन नदिन निरन्तर जनदबाब दिन आवश्यक रहेको समेत उनले बताए ।

प्रकाशित मितिः   १४ पुष २०७८, बुधबार ०५:०१