सिटी हल निर्माणमा बजेट अभाव

दोस्रो चरणको काम रोकियो, ६ करोडको स्टिमेटमा डेढ करोड मात्र बजेट

सुर्खेत: प्रदेशकै ठूलो सभाहल निर्माणमा बजेट अपुुग भएको छ । बजेट नभएपछि वीरेन्द्रनगरमा निर्माणाधीन सिटी हलको दोस्रो चरणको काम सुुरू हुन सकेको छैन । अहिले यहाँ संरचना निर्माण कार्य रोकिएको हो ।

बजेट अभावले दोस्रो चरणको कामका लागि प्रक्रिया नै अघि नबढेको संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले जनाएको छ । सभाहलमा संरचना निर्माणका लागि झन्डै साढे चार करोड बजेट अभाव छ । त्यसका लागि सहरी विकास तथा भवन निर्माण विभागमा रकम माग गरिएको संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख अमरबहादुर थापाले बताए । बजेट नहुँदा दोस्रो चरणको कामको टेन्डर गर्न नसकिएको उनी बताउँछन् । सरकारले माग बमोजिम बजेट उपलब्ध गराए सोहीअनुसार टेन्डर गर्ने र नभए डेढ करोडको भए पनि काम अघि बढाउने तयारी गरिएको कार्यालयले जनाएको छ । इकाई प्रमुख थापाका अनुसार अबको १५ दिनमा आधा संरचनाको भए पनि टेन्डर आह्वान गरिने भएको हो । दोस्रो चरणका लागि चालु वर्षमा डेढ करोड बजेट मात्र विनियोजन भएको छ । ६ करोडकोे स्टिमेट रहेकोमा निकै थोरै बजेट पठाइएको हो । जसले गर्दा काम गर्न समस्या भइरहेको कार्यालय प्रमुख थापाले बताए ।

वीरेन्द्रनगर–६ वुद्धपथमा निर्माण भइरहेको सिटी हलको पहिलो चरणको काम भने सम्पन्न भइसकेको छ । पहिलो चरणको निर्माण कार्य २३ करोडको लागतमा सम्पन्न गरिएको हो । जसअन्तर्गत बहुउद्देश्यीय सभाहल, बैठक कक्ष र पर्खाल निर्माणका काम भएका हुुन् । सात सय ८० जना क्षमताको सभाहल, डेढ÷डेढ सय जना अट्ने क्षमताका दुुई वटा बैठक कक्ष र सभाहल क्षेत्र घेरबार गरिएको छ । सभाहल निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७३÷०७४ मा २० करोड ५४ लाख ८६ हजार सात सय रूपैयाँ विनियोजन गरेको थियो । उक्त रकमले पहिलो चरणको काम गरिएको हो । यो चरणका संरचना निर्माण गर्न २०७३ चैत २४ मा निर्माण कम्पनी समानान्तर, चक्रेश्वरी, शिवशक्ति जे.भी.सँग सम्झौता भएको थियो । सम्झौताको म्याद तीन वर्ष भए पनि अरु डेढ वर्ष म्याद थप गरेर निर्माण सम्पन्न गरिएको छ ।

निर्माणको समयावधि लम्बिँदा सभाहलको लागतसमेत बढेको छ । पहिलो चरणको काममा करिब तीन करोड लागत बढेको हो । कूल २३ करोड एक हजार नौ सय रूपैयाँमा पहिलो चरणको काम भएको संघीय आयोजना कार्यान्वयन इकाईका सूचना अधिकारी (इन्जिनियर) रामकृष्ण आचार्यले जनाए । ‘दोस्रो चरणको काम सञ्चालन गर्न बजेट अपुुग छ,’ उनले भने, ‘यदि बजेट व्यवस्थापन भएको खण्डमा निर्माण कार्य छिट्टै सुरू हुुन्छ ।’ भूकम्प प्रतिरोधात्मक मल्टिप्रपोज हलसहित प्रशासनिक भवन, अपाङ्गमैत्री संरचना र करिब चार सय सवारी साधन पार्किङ्ग गर्न सकिने सुविधा रहनेछन् । इन्जिनियर आचार्यले मागअनुसारको बजेट उपलब्ध भए आउँदो डेढ वर्षमा सबै संरचना निर्माणको काम सकिने बताए ।

दोस्रो चरणमा पार्किङ्को व्यवस्था, भुुइँमा ब्लक बिछ्याउने, गार्डेनलगायतको काम हुनेछ । त्यस्तै, हलहरूमा कुर्सी राख्ने, बगैँचा निर्माण र फिनिसिङ्का काम बाँकी छन् । यीनै संरचना बनाउन र सामग्री खरिदका लागि बजेट अभाव भएको हो । सभाहलको पार्किङ् स्थल चार सय मोटरसाइकल र दुुई सय गाडी राख्न मिल्ने बनाइँदै छ । पूर्व र पश्चिममा दुई वटा गेट रहनेछन्, जसमध्ये एउटा मुख्य र अर्को वैकल्पिक गेट बनाइनेछ । कर्णाली प्रदेशकै सबैभन्दा ठूलो र पहिलो सुविधासम्पन्न सभाहल साढे तीन बिगाहा जमिनमा निर्माण भइरहेको छ । प्रदेश राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा ठूला कार्यक्रम सञ्चालन गर्न आवश्यक सभाहल छैनन् । सार्वजनिक सभा तथा सम्मेलनका लागि सहज होस् भन्ने उद्देश्यले बनाउन लागिएको प्रदेशकै गौरवको योजनामा भने बजेट अभाव देखिएको छ ।

प्रकाशित मितिः   ७ पुष २०७८, बुधबार ०५:०६