गाउँमै मतदाता नामावली संकलन

अहिले नयाँ मतदाताको नामावली संकलनको विशेष अभियान सञ्चालन भएकाले अद्यावधिकको काम रोकिएको छ ।

सुर्खेत: आउँदा निर्वाचनलाई लक्षित गरेर यतिबेला गाउँ–गाउँमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिएको छ । कर्णाली प्रदेशका अधिकांश स्थानीय तहहरूबाट मतदाता नामावली संकलन कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहका केन्द्रमा प्राविधिक टोली खटाएर मतदाता नामावली संकलन अभियान सञ्चालन गरिएको हो ।

सुर्खेतमा यही मंसिर १७ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन थालिएको छ । पहिलो चरणमा सिम्ता, चिङ्गाड र चौकुने गाउँपालिका तथा लेकवेशी नगरपालिकामा मतदाता नामावली संकलन विशेष अभियान सञ्चालन भइरहेको छ । पहिलो चरण अन्तर्गत यी पालिकाहरूमा पुस २ गतेसम्म नामावली संकलन गरिने छ ।

त्यस्तै, दोस्रो चरणको अभियान पुस ४ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । उक्त चरणमा गुर्भाकोट र भेरीगंगा नगरपालिका तथा बराहताल गाँउपालिकामा नामावली संकलन गर्ने तयारी छ । निर्वाचन आयोगको निर्देशनअनुसार सुर्खेतमा दुई चरणमा मतदाता नामावली संकलन गर्ने कार्यतालिका बनाइएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले बताइन् । उनका अनुसार जिल्लाका दुई स्थानीय तहमा भने भदौयता फोटोसहितको मतदाता नामावली संकलन कार्य जारी छ । वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिकामा तीन महिनादेखि नियमित अभियान सञ्चालन भइरहेको हो । वीरेन्द्रनगरको मतदाता नामावली संकलनको काम प्रदेश निर्वाचन र जिल्ला प्रशासन कार्यालयबाट पनि गरिँदै आएको छ ।

फोटोसहितको मतदाता नामावली विशेष कार्यक्रम एकै चरणमा सम्पन्न गरिनुपर्ने भनियता पनि कर्मचारी पर्याप्त नभएकाले सुर्खेतमा दुई चरणमा अभियान सञ्चालन गर्नुपरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । अहिले एउटा पालिकामा चार जनाको प्राविधिक टोली खटाएर फोटोसहितको मतदाता नामावली संकलन गरिँदै आएको छ । पहिलो र दोस्रो चरणमा अभियान सञ्चालन हुने सात वटा पालिकामा गरी झन्डै २८ जना कर्मचारी आवश्यक पर्दछ । तर, तालिम प्राप्त जनशक्ति नहुँदा चार वटा पालिकामा मात्र नामावली संकलन कार्य अघि बढाइएको हो । ‘त्यहाँ काम सकिएपछि उहाँहरूलाई नै बाँकी स्थानीय तहमा खटाउने तयारी गरिएको छ,’ सूचना अधिकारी रेग्मीले भनिन्, ‘जनशक्ति अभावले दुई चरणमा कार्यक्रम गर्नुपर्ने बाध्यता भएको हो ।’ उनका अनुसार प्रदेश निर्वाचन कार्यालयमा समेत पर्याप्त प्राविधिक जनशक्ति छैनन् । हाल यहाँ दुई जना मात्र कम्प्युटर अपरेटर कार्यरत छन् । जनशक्ति अपुग हुँदा मतदाता नामावली संकलन अभियानसँगै दैनिक कार्यसम्पादनमा पनि कठिनाइ हुने गरेको जनाइएको छ ।

गाउँमै टोली खटाएर नामावली संकलन थालिएपछि नागरिकहरूको उत्साहजनक सहभागिता रहेको स्थानीय तहहरूले जनाएका छन् । चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले पालिकाको केन्द्रमा मतदाता नामावली संकलन गराउनेको भिड लाग्ने गरेको बताए । कर्णालीका हिमाली जिल्लाहरूमा १७ गतेदेखि सुरू भएको अभियान २७ गते सम्पन्न भइसकेको छ । ती जिल्लामा १० दिन मात्र मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिएको थियो । प्रदेश निर्वाचन कार्यालयका अनुसार ती जिल्लामा कति मतदाता थपिए भन्नेबारे यकिन विवरण तयार भइसकेको छैन ।

सुर्खेतमा यसपटकको अभियान अन्तर्गत मंसिर २६ सम्म दुई हजार ६ सय १२ जनाले मतदाता नामावली बनाएका छन् । तीमध्ये चार सय ५८ जना बाहिरी जिल्लाका हुन् । अन्य जिल्लाका नागरिकले पनि सुर्खेतबाट फोटोसहितको मतदाता नामावली संकलन गराएका हुन् । प्रदेश निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि मतदाताहरू आ–आफ्नो जिल्ला नै जानुपर्ने झन्झट अब नरहेको जनाएको छ । यसअघि मतदान गर्नका लागि मात्रै नभइ मतदाता नामावलीमा दर्ता हुनका लागि पनि मतदाताहरू साविककै जिल्ला धाउनुपर्ने बाध्यता थियो । अहिले अस्थायी रूपमा आफू बस्दै आएको जिल्लाको निर्वाचन कार्यालयमा गएर मतदाता नामावलीमा नाम दर्ता गराउन सकिन्छ ।

मतदाता नामावली अद्यावधिक भने सम्बन्धित जिल्लामा नै पुग्नुपर्ने व्यवस्था छ । मतदाता नामावली सच्याउने वा सार्नेजस्ता विभिन्न कामको लागि भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मात्र काम गरिँदै आएको छ । अहिले नयाँ मतदाता नामावली संकलनको विशेष अभियान सञ्चालन भएकाले अद्यावधिकको काम भएको छैन । निर्वाचन आयोगले २०६७ सालदेखि फोटोसहितको मतदाता नामावली तयार गर्न थालेसँगै एउटै मतदाताको नाम एकभन्दा बढी ठाउँमा रहने समस्या हल भएको छ ।

सुर्खेतमा २०७७ चैत्र ५ गतेसम्म दुई लाख १३ हजार दुई सय ६ जना मतदाता थिए । वीरेन्द्रनगर नगरपालिकामा ५८ हजार ६ सय ४४, भेरीगंगा नगरपालिकामा २८ हजार एक सय १६, गुर्भाकोट नगरपालिकामा ३० हजार तीन सय ९३, पञ्चपुरी नगरपालिकामा १८ हजार ६ सय ५३, लेकवेशी नगरपालिकामा २० हजार ७५ जना मतदाता सूचीकृत भएका थिए । त्यस्तै, सिम्ता गाउँपालिकामा १७ हजार ५२, बराहताल गाउँपालिकामा १५ हजार नौ सय ९९, चिङ्गाड गाउँपालिकामा १० हजार एक सय ६३ र चौकुने गाँउपालिमा १४ हजार एक सय ११ मतदाता रहेका हुन् । पछिल्लो अभियानले जिल्लामा झन्डै आठ हजार हाराहारी नयाँ मतदाता थपिने आंकलन गरिएको छ । मतदाता नामावलीमा नाम दर्ता गराउन व्यक्तिको नागरिकता अनिवार्य गरिएको छ । नागरिकता प्रमाण–पत्र लिई निर्वाचन कार्यालय वा सम्बन्धित पालिकाका केन्द्रमा आफू स्वयम् उपस्थित भएर फोटो खिचाई आवश्यक विवरण टिपाउनुपर्ने हुन्छ ।

प्रकाशित मितिः   २९ मंसिर २०७८, बुधबार ०५:०३