अक्सिजनको जोहो
कोरोना महामारी फैलिएपछि अस्पतालहरूमा अक्सिजनको हाहाकार मच्चियो । बिरामीहरूको उपचारका लागि अक्सिजनको चरम अभाव सिर्जना भयो । कैयौं बिरामीले समयमै अक्सिजन नपाएर ज्यान गुमाए । स्वास्थ्य पूर्वाधारमा निकै कमजोर रहेको कर्णाली प्रदेश अझ बढी समस्या थियो । यसबीचमा केही प्लान्ट जडान भए । केही जडान भएर पनि प्रयोगमा नआएकालाई सञ्चालनमा ल्याइयो । आफ्नै उत्पादन नहुँदा बाहिरबाट अक्सिजन खरिद गर्न समस्या भएपछि सबैजसो अस्पतालहरूमा अक्सिजन प्लान्ट स्थापना गर्ने पहल थालिएको थियो । तर, अहिलेसम्म पनि धेरै अस्पतालहरूमा प्लान्ट स्थापना हुन नसकेका हुन् । कर्णालीका ठूला अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल र चौरजहारी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । त्यहाँ उत्पादन हुने अक्सिजन ती अस्पतालमा नै खपत हुने गरेको छ । अन्य अस्पतालहरूले अहिले पनि प्रदेश बाहिरबाटै मेडिकल अक्सिजन मगाउनुपर्ने बाध्यता छ ।
प्रदेशका सबै जिल्ला अस्पतालहरूमा अक्सिजन मिनी प्लान्ट जडान गर्ने भनिए पनि कतिपयमा अहिलेसम्म काम हुन सकेको छैन । गत आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेश सरकारले अक्सिजन उत्पादनका लागि मिनी प्लान्ट जडान गर्न प्रत्येक अस्पतालमा ४० लाख रकम विनियोजन गरेको थियो । अपुग बजेटका कारण अस्पतालहरूले प्लान्ट स्थापनाको प्रक्रिया नै अघि बढाएनन् । उक्त रकम फ्रिज गयो । प्रदेशले चालु आर्थिक वर्षमा सोही प्रयोजनका लागि झन् बजेट घटाएर पठाएको छ । यो पटक अस्पतालहरूलाई १० लाखका दरले मात्र रकम दिइएको हो । थोरै बजेट दिइँदा प्लान्ट जडानका लागि प्रक्रियामै जान समस्या भइरहेको अस्पतालहरूले जनाएका छन् । प्रदेशका केही जिल्ला अस्पतालले भने संघीय सरकारको बजेटबाट प्लान्ट स्थापना गरेका छन् भने कतिपय जडानको प्रक्रियामै छन् । पाँच जिल्ला अस्पतालमा अहिले पनि अक्सिजन प्लान्ट छैनन् । हुम्ला, सल्यान, रुकुम–पश्चिम, डोल्पा र मुगु अस्पतालमा अक्सिजन प्लान्ट जडान नभएको हो । प्रदेशले दिएको रकम पर्याप्त नहुुँदा हुुम्लामा अक्सिजन प्लान्ट स्थापना हुुन सकिरहेको छैन । अस्पताल प्रशासनका अनुसार त्यहाँ अहिले अक्सिजनको अभाव छ ।
अस्पतालहरूमा जुनसुकै समयमा पनि मेडिकल अक्सिजन आवश्यक पर्दछ । महामारीको समयमा यसको माग थप बढ्छ । महामारी जुनसुकै समयमा फैलिनसक्छ । त्यसैले पूर्वसावधानी अपनाउनु अनिवार्य छ । सबै अस्पतालहरूमा अक्सिजन प्लान्ट निर्माण गर्न आवश्यक छ । यसमा बेवास्ता गरिनु हुँदैन । बरु निर्माणको क्रममा रहेका प्लान्ट समयमै निर्माण गर्नेतर्फ ध्यान दिन जरुरी छ ।
प्रकाशित मितिः २९ मंसिर २०७८, बुधबार ०५:०१
सम्पादकीय ।