जोडिएनन् अक्सिजन प्लान्ट
सुर्खेत: कर्णाली प्रदेशका सबै जिल्ला अस्पतालहरूमा अक्सिजन मिनी प्लान्ट जडान गर्ने भनिए पनि कतिपयमा अहिलेसम्म काम हुन सकेको छैन । गत आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेश सरकारले अक्सिजन उत्पादनका लागि मिनी प्लान्ट जडान गर्न प्रत्येक अस्पतालमा ४० लाख रकम विनियोजन गरेको थियो । अपुग बजेटका कारण अस्पतालहरूले प्लान्ट स्थापनाको प्रक्रिया नै अघि बढाएनन् । उक्त रकम फ्रिज गयो । प्रदेशले चालु आर्थिक वर्षमा सोही प्रयोजनका लागि झन् बजेट घटाएर पठाएको छ । यो पटक अस्पतालहरूलाई १० लाखका दरले मात्र रकम दिइएको हो । थोरै बजेट दिइँदा प्लान्ट जडानका लागि प्रक्रियामै जान समस्या भइरहेको अस्पतालहरूले जनाएका छन् ।
प्रदेशका केही जिल्ला अस्पतालले भने संघीय सरकारको बजेटबाट प्लान्ट स्थापना गरेका छन् भने कतिपय जडानको प्रक्रियामै छन् । पाँच जिल्ला अस्पतालमा अहिले पनि अक्सिजन प्लान्ट छैनन् । हुम्ला, सल्यान, रुकुम–पश्चिम, डोल्पा र मुगु अस्पतालमा अक्सिजन प्लान्ट जडान नभएको हो । प्रदेशले दिएको रकम पर्याप्त नहुुँदा हुुम्लामा अक्सिजन प्लान्ट स्थापना हुुन सकिरहेको छैन । अस्पताल प्रशासनका अनुसार त्यहाँ अहिले अक्सिजनको अभाव छ । गत वर्ष प्रदेश सरकारले ४० लाख रूपैयाँ प्लान्ट जडानका लागि उपलब्ध गराएको थियो । सो रकममा टेन्डर आह्वान गरिए पनि कुन कम्पनीले काम गर्ने इच्छा देखाएनन् । जनस्वास्थ्य अधिकृत प्र्रेमबहादुुर सिंहले बजेट थोरै भएकाले कसैले पनि खरिदमा रूचि नदेखाएको जनाए । उनका अनुसार ढुुवानी र प्लान्ट जडानको लागि बजेट नपुुग्ने भएपछि रकम फ्रिज भएको हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले १० लाख मात्र विनियोजन गरेको सिंहले बताए । उनी भन्छन्, ‘त्यति रकमले प्लान्ट के बन्थ्यो । बजेट पर्याप्त पठाइदिन अनुरोध गरेका छौं ।’ हुम्ला अस्पतालमा संघ सरकारको सहयोगमा बनेको पाइप लाइन ‐डाइरेक्ट सिस्टम)को अक्सिजन प्लान्ट त छ । तर, यसबाट न्यून उत्पादन हुँदा जिल्लाभरको माग धान्न नसकेको जनाइएको छ ।
यस्तै, सल्यानमा पनि अक्सिजन प्लान्ट सञ्चालन हुुन सकेको छैन । संघीय र प्रदेश सरकारले बजेट विनियोजन गरेपनि यहाँ प्लान्ट स्थापना नभएको हो । प्लान्टका लागि संघीय सरकारले ७५ लाख बजेट दिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त प्रमुख दशरथ श्रेष्ठका अनुसार अक्सिजन प्लान्ट जडानको प्रक्रियामै छ । उनले विभिन्न कारणले प्लान्ट स्थापनामा ढिलाइ भएको जनाए । ‘टेन्डर आह्वान भइसकेको छ,’ उनले भने, ‘अबको केही दिनमा प्लान्ट जडान हुन्छ ।’ प्रदेश सरकाले गत वर्ष विनियोजन गरेको बजेट भने फ्रिज भएको श्रेष्ठले बताए ।
रूकुुम–पश्चिम जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम रोकिएको छ । सामान खरिद भए पनि जडानको काम हुन नसकेको हो । निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुुर बुुढाथोकीले प्रदेशको अनुगमन टोलिले खरिदको फाइल झिकाएपछि काम स्थगित भएको जनाए । ‘टेन्डरमार्फत काम भइरहेको थियो,’ उनले भने, ‘अनुुगमन टोलिले फाइल झिकाएपछि अहिले काम रोकिएको छ ।’ सामान खरिदमा अनियमितता भएको आशंकामा अनुगमन टोलिले अध्ययन थालेको हो । यसैगरी, मुुगुुमा एक गैरसरकारी संस्थाको सहयोगमा अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अघि बढाइएको छ । यहाँ पनि अक्सिजन प्लान्ट स्थापना भइसकेको छैन । जनस्वास्थ्य अधिकृत उमेश गौतममले आवश्यक सामग्री खरिद भइसकेकाले केही दिनमा जडान गर्ने तयारी भइरहेको बताए । डोल्पा जिल्ला अस्पतालमा अक्सिजनको अभाव छ । यहाँ अक्सिजन उत्पादनका लागि प्लान्ट जडान हुन सकेको छैन । गत वर्ष प्रदेशले दिएको रकम अपुग हुँदा प्रक्रिया नै अघि नबढाइएको हो । बजेट कम भएपछि सामान खरिदमा ठेकेदार कम्पनीहरूले चासो नदिएको अस्पतालले जनाएको छ ।
अक्सिजन प्लान्ट जोडिएका ठाउँमा पनि विद्युत अनियमित हुँदा सञ्चालनमा चुनौती भइरहेको जिल्लास्थित अस्पतालहरूले जनाएका छन् । दैलेख अस्पतालमा प्लान्ट जडान भएको छ । प्लान्टले उत्पादन थालेपछि उपचारमा समेत सहज भएको बताइएको छ । संघीय सरकारको ७५ हजार बजेटबाट प्लान्ट स्थापना गरिएको हो । स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुुख थीरप्रसाद रेग्मीले विद्युत अनियमित हुने समस्याले प्लान्ट सञ्चालनमा कठिनाइ भइरहेको बताए । जिल्लामा अहिले कोरोनाका सिकिस्त बिरामी नभएकाले दमका रोगीहरूलाई पुग्नेगरी अक्सिजन उत्पादन भइरहेको रेग्मी बताउँछन् । ‘विद्युुतको भोल्टेज पर्याप्त भए मात्र दैनिक ३० देखि ४० सिलिन्डर भर्न सकिन्छ,’ उनले भने । यहाँ पनि गएको वर्ष प्रदेशबाट पठाइएको बजेट फ्रिज भयो । अपर्याप्त बजेट भएकाले त्यसबाट सामान खरिद नगरिएको हो ।
संघीय सरकारकै बजेटबाट जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । प्लान्टबाट दैनिक चार वटा सिलिन्डर रिफिल गर्ने गरिएको छ । अस्पतालमा अहिले कोरोनाका सक्रिय संक्रमित चार जनाले उपचार गराइरहेका छन् । यस्तै, कालीकोटमा भने प्रदेश सरकारको बजेटबाट अक्सिजन प्लान्ट जडान भएको छ । अक्सिजन प्लान्ट जडानका लागि कर्णाली सरकारले यो अस्पताललाई गत वर्ष ८० लाख रूपैयाँ दिएको थियो । सञ्चालित प्लान्टबाट २४ घण्टामा ४० लिटर क्षमताका ४५ वटा सिलिण्डर भर्न सकिने जनाइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदमबहादुुर केसीले प्राविधिक कारणले कतिपय जिल्ला अस्पतालमा प्लान्ट स्थापना हुन नसकेको जनाए ।
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरस्थित ठूलो क्षमताको अक्सिजन प्लान्ट निर्माण भए पनि सञ्चालनमा ल्याइएको छैन । प्लान्ट निर्माणको काम सकिए पनि सञ्चालनमा आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुुख पर्शुराम खड्काले बताए । वीरेन्द्रनगर नगरपालिका, प्रदेश सरकार र चौधरी ग्रुपको लगानीमा प्लान्ट निर्माण गरिएको हो । यहाँ दैनिक झन्डै डेढ सय सिलिन्डर भर्न सकिने क्षमताको प्लान्ट स्थापना गरिएको बताइएको छ ।
गत वर्ष कोरोना महामारीको दोस्रो लहरका बेला कर्णालीमा अक्सिजनको चरम अभाव भएको थियो । अक्सिजन अभावकै कारण कतिपय कोरोना संक्रमित सिकिस्त बिरामीको ज्यानसमेत गयो । आफ्नै उत्पादन नहुँदा बाहिरबाट अक्सिजन खरिद गर्न समस्या भएपछि सबैजसो अस्पतालहरूमा अक्सिजन प्लान्ट स्थापना गर्ने पहल थालिएको थियो । तर, अहिलेसम्म पनि धेरै अस्पतालहरूमा प्लान्ट स्थापना हुन नसकेका हुन् । कर्णालीका ठूला अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल र चौरजहारी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । त्यहाँ उत्पादन हुने अक्सिजन ती अस्पतालमा नै खपत हुने गरेको छ । अन्य अस्पतालहरूले अहिले पनि प्रदेश बाहिरबाटै मेडिकल अक्सिजन मगाउनुपर्ने बाध्यता छ ।
प्रकाशित मितिः २८ मंसिर २०७८, मंगलवार ०८:१८
रजनी याेगी ।