माओवादी केन्द्रलाई नेतृत्व चयनमा सकस

सुर्खेत: नेकपा (माओवादी केन्द्र) लाई कर्णालीमा पार्टीको नेतृत्व चयन गर्न सकस भएको छ । शनिवारदेखि वीरेन्द्रनगरमा जारी प्रदेश सम्मेलनले पदाधिकारीको टुङ्गो नलगाएको हो ।

तीन दिनदेखि नेतृत्व छनोटको छलफल थालिए पनि निश्कर्षमा पुग्न नसकिएको नेताहरूले बताएका छन् । आज (मंगलवार) पुनः नेतृत्व चयनको प्रयास थालिने भएको छ । पदाधिकारीका आकांक्षीहरूले आ–आफ्नो अडान नछाडेपछि प्रदेश कमिटी गठनमा अप्ठ्यारो भएको हो । यसले गर्दा दुई दिनका लागि तय भएको सम्मेलनसमेत लम्बिदै गएको छ ।

प्रदेश अध्यक्षमा राजकुमार शर्मा र महेन्द्रबहादुर शाहीको दाबी छ । त्यस्तै, सचिवमा रामदीप आचार्य र कृष्ण जिसीले दाबी गर्दै आएका छन् । सर्वसम्मतको प्रयास थालिए पनि आकांक्षीको अडानले नेतृत्व चयनमा समस्या देखिएको माओवादी केन्द्रका नेताहरूको भनाइ छ । माओवादीको मंसिर २५ र २६ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चूअल माध्यमबाट सात वटै प्रदेश अधिवेशनको २५ गते एकैसाथ उद्घाटन गरेका थिए । प्रदेश कमिटीका लागि दुई सय ११ जना चुनिएर आएका छन् । तीमध्येबाट प्रदेशको आगामी नेतृत्व चयन हुनेछ ।

माओवादीले प्रत्येक पालिकाबाट एक–एक जना रहनेगरी प्रतिनिधि छनोट गरेको छ । भूगोलसँगै समावेशी प्रतिनिधित्व पनि गराएर प्रतिनिधि छानिएका हुन् । सोमवार साँझसम्म माओवादीको गण्डकी, विशेष कमिटी र जनसम्पर्क तथा समन्वय कमिटीका अध्यक्षको टुङ्गो लागेको जनाइएको छ । बाँकी प्रदेशमा कमिटीहरू बन्न सकेका छैनन् ।

प्रकाशित मितिः   २८ मंसिर २०७८, मंगलवार ०८:१६