तेस्रो पटक बागमतीको मन्त्रिपरिषद् विस्तार

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मंगलवार पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

उनले सत्तारुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) का सांसदहरु घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायात, विशाल खड्कालाई वन तथा वातावरण, रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका हुन् । यस्तै नेकपा (एकीकृत समाजवादी) का बसन्तकुमार मानन्धरलाई खानेपानी, उर्जा तथा सिँचाई, बसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपन्छीमन्त्री मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषि तथा पशुपंछी राज्यमन्त्रीमा नेकपा (एस) की इन्द्रमाया गुरुङ नियुक्त भएकी छन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको आजै ५ बजे शपथग्रहण हुने सकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले जानकारी दिए ।

पाण्डेले पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिलामन्त्री बनाएका थिए ।

दोस्रो चरणमा माओवादी केन्द्र संसदीय दलका नेता सालिकराम जम्कट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले । बागमतीमा मंसिर १५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ८ वटा मन्त्रालय फुटाएर १४ वटा मन्त्रालय बनाइएको छ ।

प्रकाशित मितिः   २८ मंसिर २०७८, मंगलवार १८:२७