खोपको पहुँच बढाऊ
सुर्खेत: कोरोनाको महामारी फैलिएको केही वर्ष भइसक्यो । तर नियन्त्रणमा आएको छैन । तत्कालै नियन्त्रणमा आउने पनि देखिँदैन । बरु पछिल्लो समय नयाँ–नयाँ भेरियन्ट फेला परिरहेका छन् । यसले त्रास सिर्जना गरेको छ । कोरोनाकै कारण लामो समय लकडाउन र निशेषधाज्ञाको सामना गर्न बाध्य नागरिकहरू फेरि पनि त्यस्तै अवस्थाको सिर्जना हुने हो कि भन्ने चिन्तामा छन् । त्यसमाथि सबै नागरिकले कोरोनाविरुद्धको खोप पाएका छैनन् । सरकारले आफैले खरिद गर्नुका साथै अनुदानमा प्राप्त खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ । यद्यपि अहिले पनि खोप लगाउनबाट वञ्चित ठूलो संख्या छ । धेरैले खोपको पहिलो मात्रा समेत लगाउन पाएका छैनन् । केहीले पहिलो मात्रा लगाएका छन्, तर दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
खोप लगाउनेहरूको संख्या बढ्दै गएको भने छ । कर्णाली प्रदेशभर लक्षित वर्गका नौ लाखभन्दा बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार लक्षित उमेर समूहका नौ लाख ८२ हजार तीन सय ८३ जनाले खोप लगाएका हुन् । प्रदेशमा अझै करिब दुई लाख जनसंख्यालाई खोप दिन बाँकी छ । प्रदेशको १८ लाख ३४ हजार जनसंख्यामध्ये १८ वर्षमाथिका १२ लाख जनालाई खोप लगाउनुपर्ने हुन्छ । कर्णालीमा हालसम्म कोरोनाविरुद्धकोे खोपको पहिलो मात्रा लिनेको संख्या पाँच लाख ९० हजार आठ सय ८३ रहेको छ । दोस्रो डोज अर्थात् पूर्णखोप लगाउनको संख्या तीन लाख ९१ हजार पाँच सय पुगेको निर्देशनालयले जनाएको छ । लक्षित वर्गमध्ये पहिलो चरणको ४९ र दोस्रो चरणको खोप ३३ प्रतिशतले लगाएका हुन् । पछिल्लो समय सबैजसो स्वास्थ्य संस्थाहरूबाट खोप दिने गरिएको छ । यद्यपि, अझै पनि कतिपय जिल्लाका पालिकाहरूमा न्यून जनसंख्या मात्र खोपको पहुँचमा छ । तीमध्ये कतिपय स्थानीय तहमा एक प्रतिशत नागरिकले मात्र खोप लगाउन पाएका छन् ।
महामारी नियन्त्रणउन्मुख नभइरहेको यो समयमा सबै नागरिकलाई खोप लगाउनु अपरिहार्य भएको छ । सरकारले विभिन्न उमेर समूहमा वर्गीकरण गरेर खोप अभियान सञ्चालन गरिरहेको छ । यसलाई अझै प्रभावकारी र छरितो बनाउनुपर्ने आवश्यकता देखिएको छ । खोपको पहुँच सबैसम्म पु¥याउन तीनै तहका सरकार, स्वास्थ्य संस्थाहरू र सम्बन्धित सबैको समन्वय जरुरी छ । आउनसक्ने थप जोखिमबाट जोगिनका लागि पनि कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र र प्रभवकारी बनाउनु अनिवार्य छ ।
प्रकाशित मितिः २७ मंसिर २०७८, सोमबार ११:३०
सम्पादकीय ।