घरैदेखि सुरु गरौं

महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक वर्ष यो अभियान मनाइन्छ । यो वर्ष ‘घरैदेखि सुरू गरौं, महिलाविरुद्धको हिंसा अन्त्य गरौं’ नारासहित अभियान थालिएको हो । नाराले संकेत गरेको छ घरभित्रैदेखि महिलामाथि हिंसा भइरहेका छन् । त्यसकारण त्यस्ता हिंसा अन्त्यका लागि घरैदेखि सुरु गर्नु जरुरी छ । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि यो अभियानले आह्वान गरेको छ । अभियान किन पनि जरुरी छ भने महिलामाथि हुने हिंसा रोकिएका छैनन् । बरु प्रत्येक वर्ष बढ्दै गएका छन् । पछिल्ला वर्षहरूमा यो समस्या थप जटिल बन्दै गएको छ । सबै खाले महिला हिंसा अन्त्यका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले अभियानकै रूपमा थुप्रै कार्यक्रम गर्दै आए पनि यसको न्यूनीकरणमा चुनौती देखिएको हो । प्रहरीमा आएका हिंसाका घटनाको संख्या हेर्दा अवस्था भयावह छ ।

समाज दिन प्रतिदिन आधुनिकतातर्फ उन्मुख भइरहेका बेला अनेक बहानामा महिलाहरू हिंसाको सिकार बन्दै आएका छन् । कर्णाली प्रदेश प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि २०७८ असोजसम्म चार हजार ६ सय ९६ वटा उजुरी दर्ता भएकोमा त्यसमध्ये दुई हजार नौ सय एक उजुरी हिंसाका मात्रै छन् । त्यसमा पनि ८० प्रतिशत उजुरीमा महिला तथा बालबालिकाहरू पीडित छन् । प्रहरीले घरेलु हिंसाबाट खासगरी महिला र बालबालिका बढी प्रभावित हुने गरेको जनाएको छ । प्रहरीमा आउने घरेलु हिंसाका उजुरीमध्ये अधिकांशमा महिलाहरू पीडित हुने गरेको पाइएको छ । घर, कार्यस्थल र समाजमा महिलाहरू हिंसामा पर्दै आएका हुन् । प्रहरी तथ्यांकअनुसार कर्णालीका दशवटै जिल्लामध्ये सुर्खेतमा महिला हिंसाका सबैभन्दा धेरै उजुरी दर्ता भएका छन् । यो तथ्यांकले महिलामाथि हुने हिंसाको विकराल रूप दर्शाउँछ ।

महिला हिंसाविरुद्ध पर्याप्त ऐन–कानुन हुँदाहुँदै पनि कार्यान्वयन र कारबाही प्रक्रिया फितलो हुँदा मुद्दा कमजोर र ओझेलमा पर्दै गएका छन् । हिंसा गर्नेहरू कानुनी दायरामा नआउँदा पनि यस्ता गतिविधिले प्रश्रय पाइरहेको देखिन्छ । हिंसाका धेरै घटना दबाब र प्रभावमा समाजमा नै मिलाउने गरिन्छ । प्रहरीसम्म थोरै घटना मात्र आइपुग्छन् । हिंसाजन्य अपराधमा संलग्न सबैलाई कानुनी कारबाही नहुँदा यस्ता गतिविधि झनै बढ्ने गरेका हुन् । त्यसैले महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गर्न घरैदेखि र आजैदेखि अभियान सुरु गर्न जरुरी देखिएको छ ।

प्रकाशित मितिः   १० मंसिर २०७८, शुक्रबार ०५:०४