‘समाजवादीप्रति आकर्षण बढेको छ’

सुर्खेत: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीप्रति आकर्षण बढेको दाबी गरेका छन् । कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत आइपुगेका नेता नेपालले देशभरबाट समाजवादी पार्टीमा आउने कार्यकर्ताहरूको संख्या बढ्दै गएको बताए । समाजवादीको पक्षमा उत्रिएको जनसागरले आफू उत्साहित भएको उनले बताए ।
पुराना विकृति, विसंगतिलाई हटाएर आफ्नो पार्टी अघि बढ्नेसमेत नेपालले बताएका छन् । समाजवादी पार्टी नयाँ ढंगले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनतर्फ लागेको बताए । ‘हामी पुराना विकृति र विसंगतिलाई हटाएर नयाँ ढंगले अगाडि बढ्न चाहन्छौं, किनभने कम्युनिष्ट पार्टी विकृति र विसंगतिकै कारण डुब्दो रहेछ,’ उनले भने, ‘नीति प्रधान होइन, नेता प्रधान भएर कम्युनिष्ट पार्टी पछाडि परेका छन् ।’

चितवनमा हुने नेकपा एमालेको महाधिवेशनबारे व्यंग्य गर्दै नेपालले थपे,‘मान्छेले उठाउने पार्टीको झण्डा गैंडाको हातमा दिन थाल्यो भने कम्युनिष्ट आन्दोलन चौपट भइहाल्छ, अहिले कमसेकम गैंडाको हातमा झण्डा दिइएको छ, अब गैंडा पाइएन भने बाँदरको हातमा पार्टीको झण्डा दिने होला ।’ आफूहरूको राजनीतिक क्रान्तिको उद्देश्य पूरा भए पनि सामाजिक, आर्थिक क्रान्ति पूरा नभएको नेपालले बताए । नेपाली जनताको हित र कल्याणमा आफ्नो पार्टीले काम गर्ने अध्यक्ष नेपालको भनाई थियो ।

समाजवादीले गरेको राजनीतिक विद्रोहसँगै कम्युनिष्ट आन्दोलन जोगाउनुपर्ने जिम्मेवारी पाएको उनले बताए । अरू पार्टीहरूसँग भइरहेको छलफलका विषयमा अध्यक्ष नेपालले भने, ‘साझा पार्टीको टिमसँगै हाम्रो अरू पार्टीहरूसँग पनि चरण–चरणमा वार्ता भइरहेको छ, सबैसँग उत्साहजनक कुरा भइरहेको छ । हामी एउटै आन्दोलनमा अगाडि बढ्नेछौं ।’ सर्वोच्च अदालतको बारेमा नेता नेपालले गठबन्धन दलबीच छलफल गरी धारणा बनाउने जिम्मा प्रधानमन्त्रीलाई दिइएको बताएका छन् ।

प्रकाशित मितिः   १० मंसिर २०७८, शुक्रबार ०५:०३