ढिलाइ नगर

प्रदेश राजधानी वीरेन्द्रनगरमा पानीको अभाव छ । सुर्खेत उपत्यका खानेपानी आयोजनाले झुप्रा खोलाको पानी आपूर्ति र वितरण त गरिरहेको छ तर त्यो पर्याप्त छैन । गर्मीयाममा त पानीको समस्या विकराल हुन्छ । हाहाकार हुन्छ । पछिल्लो समय उपत्यकाको जनसंख्या बढ्दो छ । जनसंख्या बढ्दा पानीको माग पनि बढ्दो छ । पानीको संकट चुलिँदै गएको छ । यहाँ हिउँदको सिजनमा पानीको हाहाकार नै हुन्छ । उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गरिँदै आएको छ । अझै १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीका धारा अपुग छन् । तर नयाँ स्रोत थपिएको छैन । जसले गर्दा खानेपानीकै समस्याले सताउने गरेको छ । यही समस्या समाधानका लागि विगतदेखि नै प्रयास भने भइरहेका छन् । विकल्पको खोजी भइरहेको छ । तर तत्कालै समस्या समाधान हुने देखिँदैन ।

उपत्यकाको खानेपानी समस्या समाधान गर्ने दीर्घकालिन विकल्पका रूपमा भेरीको पानी ल्याउने योजना अघि सारिएको छ । तर आयोजना निर्माण थाल्नुअघिका प्रक्रियामै लामो समय लाग्ने देखिएको छ । हालसम्म संरचना बन्ने स्थानको जग्गा प्राप्तिलगायतका प्रक्रिया अघि बढाइएको छैन । आयोजना प्रभावित क्षेत्रको वातावरणीय तथा सामाजिक प्रभावबारे अध्ययन गर्न बल्ल सरोकारवालासँग छलफल तथा स्थलगत अनुगमन थालिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले समस्या केही नरहेपनि निर्माणपूर्वका थुपै्र कामहरू गर्न भने बाँकी रहेको जनाएको छ । आयोजना निर्माणका लागि लगानी गर्न विश्व बैंक इच्छुक छ । तर, नेपाल सरकारसँग हस्ताक्षर भने भइसकेको छैन । भेरी पम्पिङ आयोजना सञ्चालनको दिगोपनाबारे विश्व बैंकले सुनिश्चितता खोजेको छ । अहिले वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था कुन मोडेलमा सञ्चालन हुने भन्ने अन्योल रहेकाले विश्व बैंकले यसमा बढी चासो देखाएको छ । संस्था कुन निकाय मातहत रहने र कस्तो संरचना बनाउने भन्नेबारे टुङ्गोसमेत लागेको छैन । समस्या सुल्झाउन वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी संयोजक रहेको कार्यदलले संस्थालाई कम्पनी मोडेलमा लैजाने गरी विकल्प सुझाएको छ । सोही सुझावमाथि सरोकारवाला निकायसँग छलफल चलिरहेको छ ।

भेरी पम्पिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बन्न पनि निकै समय लागेको थियो । केही दिन पहिले मात्र आयोजनाको डीपीआर बनेको हो । भेरी पुल र झुप्रा खोलाको दोभान नजिकबाट पानी पम्पिङ गरेर अमृतडाँडामा ल्याउने र त्यहाँबाट उपत्यकामा वितरण गर्ने योजना छ । तर, आयोजनाका भौतिक संरचना निर्माण गर्ने भनिएका ठाउँ वन क्षेत्रमा पर्ने भएकाले त्यसको प्राप्तिका लागि समय लाग्ने देखिएको छ । विगत पाँच वर्षदेखि चर्चा हुँदै आएको आयोजनाको निर्माण पहिलेका प्रक्रियामै धेरै समय लाग्ने भएको हो । भेरी पम्पिङ आयोजना सम्पन्न भए ३० वर्षसम्मका लागि उपत्यकालाई खानेपानी पुग्ने बताइएको छ । उपत्यकाको खानेपानी समस्या समाधान गर्ने दीर्घकालिन विकल्पका रूपमा हेरिएको यो आयोजना निर्माणमा ढिलाइ गर्नु हुँदैन ।

प्रकाशित मितिः   ५ मंसिर २०७८, आईतवार ०५:००