साना किसानको कारोबार १३ करोड

सुर्खेत: महिला साना किसान कृषि सहकारी सस्था बराहताल–५ सुर्खेतको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष खगिसरा अधिकारीको अध्यक्षता एवम् साना किसान विकास लघुवित्त वित्तीय संस्था इलाका कार्यालय वीरेन्द्रनगरका प्रबन्धक राजेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा साधारणसभा गरिएको हो ।

संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा १३ करोड ३५ लाख २७ हजार बराबरको कारोबार गरेको सहकारीका सहायक प्रबन्धक दलबहादुर सिजापतिले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ का लागि २१ करोड २९ लाख ६३ हजार बराबरको प्रस्ताव सभाले पारित गरेको छ ।

सहकारीले कृषि, पशुपालन, कृषि आधुनिकीकरणलगायतका क्षेत्रमा लगानी गरेको प्रबन्धक दिलिपकुमार सारुले जानकारी दिए । कार्यक्रममा जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद सिग्देल, साना किसान सहकारी उत्तरगंगाका मुख्य प्रबन्धक चित्रप्रसाद रेग्मीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ५ मंसिर २०७८, आईतवार ०५:००