चौहान पार्क घेरबारको ५० प्रतिशत काम सम्पन्न

सुर्खेत: वीरेन्द्रनगरमा निर्माणाधीन ‘चौहान पार्क’ को पहिलो चरणको ५० प्रतिशत काम सम्पन्न भएको छ । गत आर्थिक वर्षको अन्तिममा निर्माण सम्झौता भएको पार्कको अहिले धमाधम काम भइरहेको हो । डिभिजन वन कार्यालय सुर्खेतका सूचना अधिकारी सूर्यप्रसाद शर्माले पर्खाल निर्माणको काम आधा सकिएको जनाए । शर्माका अनुसार गत वर्ष पार्कका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक करोड ७२ लाख बजेट छुट्याएको थियो । त्योमध्ये ७२ लाख बजेट मात्र खर्च भयो । आर्थिक वर्ष घर्किनै लाग्दा सम्झौता भएकाले सबै रकम खर्च हुन नसकेको हो । उक्त वर्ष विनियोजन गरिएको अरु बजेट भने फ्रिज भएको उनले बताए । निर्माण कम्पनी मजदुर कन्स्ट्रक्सनले २० लाख पेश्की रकम लिएर सम्झौताअनुसार काम थालेको थियो ।

पहिलो चरण अन्तर्गत घेरबार (पर्खाल) निर्माणमा दुई करोड १९ लाख लागत स्टिमेटसहित टेन्डर आह्वान गरिएकोमा मजदुर कन्स्ट्रक्सनले एक करोड ७१ लाखमा सम्झौता गरेको थियो ।

चालु आर्थिक वर्षमा पार्कका लागि ५० लाख बजेट आएको शर्माले जानकारी दिए । २०७७ असार ३० गते एक वर्षभित्रमा पहिलो चरणको निर्माण सक्नेगरी सम्झौता भएको थियो । सम्झौता अनुसार २०७८ साउनमा निर्माण सम्पन्न हुनुपर्ने हो । तर, कोभिडका कारण काम प्रभावित भएपछि चार महिना निर्माणको समयावधि थपिएको छ । चालु वर्षको पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको मजदुर कन्स्ट्रक्सनका प्रतिनिधि सुशान्त कुँवर बताउँछन् । पहिलो चरण अन्तर्गत घेरबार (पर्खाल) निर्माणमा दुई करोड १९ लाख लागत स्टिमेटसहित टेन्डर आह्वान गरिएकोमा मजदुर कन्स्ट्रक्सनले एक करोड ७१ लाखमा सम्झौता गरेको थियो । गुरुयोजना अनुसार पार्क निर्माण सम्पन्न गर्न झन्डै २१ करोड लागत लाग्ने अनुमान गरिएको छ । करिब चार विगाह क्षेत्रफलमा निर्माण हुने पार्कमा आन्तरिक तथा वाह्य पर्यटकको मनोरञ्जनका लागि विभिन्न संरचना निर्माण गर्न लागिएको छ । ध्वनीसहितको मनोरञ्जन पार्कमा कर्णालीको मौलिकता झल्कने सम्पदाहरू पनि राख्ने योजना रहेको बताइएको छ ।

प्रकाशित मितिः   ५ मंसिर २०७८, आईतवार ०५:०१