उद्योग वाणिज्य संघको साधारणसभा

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघले तीन वटा साधारणसभा एकै दिन गरेको छ । कोरोना महामारीका कारण प्रभावित भएका ३६ र ३७ सहित ३८औं साधारणसभा शनिवार वीरेन्द्रनगरमा संयुक्त रूपमा सम्पन्न गरिएको हो ।

सभाको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे । उनले निजी क्षेत्रविना प्रदेशको आर्थिक समृद्धि सम्भव नभएको समेत जनाए ।

नेपाल उद्योग वाणिज्य संघका जिल्ला–नगर उपाध्यक्ष दिनेश श्रेष्ठले लगानीमैत्री वातावरण नभएकै कारण कर्णालीमा आर्थिक गतिविधि बढ्न नसकेको बताए । उनले लगानीमैत्री वातावरण बनाउन सरकारलाई आग्रह गरे ।

साधारणसभामा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले वार्षिक नीति तथा कार्यक्रम र महासचिव लक्ष्मण कंडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संघले मुख्यमन्त्री शाहीलाई २५ बुँदे माग–पत्रसमेत बुझाएको छ । कर्णालीको आर्थिक विकासका लागि एक जिल्ला एक उद्योग स्थापना, चौकुने र लखरपाटा सिमेन्ट उद्योग निर्माण, माथिल्लो कर्णाली जलविद्युत आयोजना, अर्गानिक कृषि अनुसन्धान केन्द्र, जडीबुटी संकलन तथा प्रशोधन केन्द्र र प्रादेशिक मेडिकल कलेजको स्थापना तथा सञ्चालनका लागि आवश्यक पहल गर्नुपर्ने लगायतका मागपत्र बुझाइएको हो ।

तीन पत्रकार पुरस्कृत

सुर्खेतमा क्रियाशील तीन जना पत्रकार पुरस्कृत भएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले स्थापना गरेको ‘आर्थिक पत्रकारिता पुरस्कार’बाट तीन पत्रकारलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा सुशील खड्का, देव राना र सिर्जना बुढाथोकी रहेका छन् । खड्कालाई २०७६, रानालाई २०७७ र बुढाथोकीलाई २०७८ को आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । अघिल्ला वर्षहरूमा रोकिएको पुरस्कार पनि यसै वर्ष प्रदान गरिएको छ । पत्रकारितामार्फत जिल्लाको आर्थिक विकासमा योगदान पु¥याउने पत्रकारलाई संघले हरेक वर्ष पुरस्कृत गर्दै आएको छ ।

प्रकाशित मितिः   ५ मंसिर २०७८, आईतवार ०५:००