राष्ट्रिय परिचय–पत्र

सुर्खेतमा ६२ हजारको विवरण दर्ता

सुर्खेत: जिल्लामा एक वर्ष अघिदेखि थालिएको राष्ट्रिय परिचय–पत्र विवरण संकलनको अभियानलाई तीव्रता दिइएको छ । हालसम्म सुर्खेतमा ६२ हजार एक सय आठ जनाले आफ्नो विवरण टिपाएका छन् । जिल्ला प्रशासन कार्यालयले गत मंसिरदेखि सुरू गरेको विवरण संकलन साउनयता स्थानीय तहहरूबाट पनि भइरहेको छ । अभियान उत्साहजनक रूपमा अघि बढिरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीसम्सेर रानामगरले बताए । उनका अनुसार वायोमेट्रिक सुविधायुक्त परिचय–पत्रका लागि प्रशासनसँगै सम्बन्धित पालिकाबाट पनि वितरण संकलन गरिएको हो ।

जिल्लाका तीन स्थानीय तहमा विवरण संकलनको काम सम्पन्न भइसकेको छ । वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र चिङ्गाड गाउँपालिकामा तथ्याङ्क संकलन कार्य सकिएको हो । अभियानका फोकल पर्सनसमेत रहेका रानामगरले यी तीनवटै स्थानीय तहमा चालुु आर्थिक वर्षको साउन १० गतेबाट विवरण संकलन सुरू गरिएको जनाए । वीरेन्द्रनगरमा ४१ हजार एक सय ५१ अनुुमानित दर्ता संख्यामा ३० हजार सात सय ६७ जनाले आफ्नो विवरण टिपाएका छन् । यस्तै, भेरीगंगामा १९ हजार ६ सय र चिङ्गाडमा चार हजार नौ सय ९६ जनाले विवरण दर्ता गरेको प्रशासन कार्यालयको तथ्याङ्क छ । प्रशासन कार्यालयभन्दा स्थानीय तहमार्फत विवरण संकलन गर्दा नागरिकहरूको सहभागिता समेत बढेको पाइएको छ ।

नागरिकहरूको वैयक्तिक एवम् जैविक विवरण समावेश हुने डिजिटल परिचय–पत्रका लागि प्रशासन कार्यालयमा विवरण संकलन इकाई राखिएको छ ।

‘पालिकामा छुटेकाले यहाँ आएर विवरण दर्ता गराउन सक्नुहुन्छ,’ प्रशासकीय अधिकृत रानामगरले भने, ‘सकभर सम्बन्धित पालिकामै भएका स्टेशनमा विवरण भराउँदा उहाँहरूलाई सजिलो हुन्छ ।’ प्रशासन कार्यालयमा रहेको इकाईबाट अहिलेसम्म चार हजार आठ सय ८६ जनाले विवरण दर्ता गरेका छन् । तीमध्ये दुई हजार दुई सय ९२ ले गतवर्ष र दुई हजार पाँच सय ९४ जनाले यो आर्थिक वर्षमा विवरण टिपाएका हुन् ।

नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिहरूको मात्र राष्ट्रिय परिचय–पत्रका लागि विवरण दर्ता हुन्छ । सरकारले नागरिकताको उत्तम विकल्पका रूपमा बहुउपयोगी राष्ट्रिय परिचय–पत्र बाँड्न लागेको हो । यो परिचय–पत्रले अहिले बाँडिदै आएको नागरिकताको प्रमाण–पत्रलाई विस्थापित गर्नेछ । नागरिकलाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचय–पत्रबाट प्राप्त हुने प्रावधानसहितको प्रणाली विकास गर्न लागिएको सरकारी अधिकारीहरूले बताएका छन् । विवरण संकलनपछि जैविक पहिचानसहितको कार्ड तयार गरी वितरण गर्ने सरकारको योजना छ ।

प्रशासकीय अधिकृत रानामगरले अब दिन लागिएको परिचय–पत्रले अनेकन कागजात बोकिराख्नुपर्ने झन्झट नहुने बताए । उनले भने, ‘लाइसेन्स, प्यान कार्ड, विवाह दर्ताजस्ता प्रमाण–पत्र बोक्नु पर्दैन । राष्ट्रिय परिचय–पत्रमा यी सबै विवरण उल्लेख हुनेछन् ।’ डिजिटल र ‘रिडेबल मेसिन’ मार्फत विवरण हेर्न सकिने हुँदा नागरिकहरूलाई निकै सहज हुने उनको भनाइ छ । संकलन गरिएका सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्याङ्क भण्डारणमा समाविष्ट हुनेछन् । राष्ट्रिय परिचय नम्बरसहितको उक्त परिचय–पत्रले अभिलेख व्यवस्थापन र पञ्जीकरणका काम गर्न सहज हुने अपेक्षा गरिएको छ ।

यसैगरी, राष्ट्रिय परिचय–पत्रका लागि गुुर्भाकोट नगरपालिकामा भर्खरै तथ्याङ्क संकलन कार्य सुरू गरिएको छ । त्यहाँ कार्तिक २४ देखि अभियान थालिएको हो । बाँकी रहेका अन्य पालिकामा पनि विवरण संकलनको काम केही समयपछि थालिने जनाइएको छ । प्रशासन कार्यालयले विभिन्न चरणमा जिल्लाका नौ वटै स्थानीय तहमा विवरण दर्ताको अभियान सञ्चालन गर्नेछ । डिजिटल प्रविधिको परिचय–पत्रका लागि विवरण दर्ता गराउन नागरिकता, विवाह दर्ता, बसाइँसराइँजस्ता कागजात आवश्यक पर्छ । अहिले संकलन भइरहेको विवरणका आधारमा आउँदो फागुुनसम्म राष्ट्रिय परिचय–पत्र वितरण हुने बताइएको छ ।

प्रकाशित मितिः   ३० कार्तिक २०७८, मंगलवार ०९:०३