दुई महिनामा ५४ लाख राजस्व
६ हजार पाँच सय ४८ सवारी साधनलाई कारबाही
कर्णाली प्रदेशभर सवारी कारबाहीमा ५४ लाखबढी राजस्व संकलन भएको छ । असोज र कार्तिक महिनामा कारबाहीमा परेका सवारी साधनबाट मात्र उक्त राजस्व संकलन भएको हो । यो अवधिमा ६ हजार पाँच सय ४८ सवारी साधन कारबाहीमा ५४ लाख आठ हजार रूपैयाँ राजस्व जम्मा भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
चाडपर्वको समयमा नियमविपरीत सञ्चालन गरिएका ठूलो संख्यामा सवारी साधन कारबाहीमा परेका हुन् । त्यो समयमा ट्राफिक प्रहरीले सडक चेकजाँचमा कडाइसमेत गरेको थियो । चालक अनुमति–पत्रविना सवारी चलाएको, क्षमताभन्दा बढी यात्रु बोकेको, मादक प्रदार्थ सेवन गरी सवारी चलाएको लगायतमा कारबाही गरिएको हो ।
अघिल्लो वर्ष दसैँ–तिहारको अवधिमा असोज र कार्तिकमा चार हजार आठ सय पाँच सवारी साधन कारबाहीमा परेका थिए भने त्यो वापत् ४० लाख ५८ हजार रूपैयाँ राजस्व उठेको थियो । यो वर्ष कारबाही पर्ने सवारी साधन र राजस्वमा पनि वृद्धि भएको हो । सवारी नियम पालना नगर्ने चालक तथा व्यवसायीले बर्सेनि करोडौं जरिवाना तिर्ने गरेका छन् । कर्णालीमा हरेक वर्ष झन्डै डेढ करोड रूपैयाँ सवारी कारबाहीबाट राजस्व उठ्ने गरेको छ ।
चालकहरूलाई सवारी तथा ट्राफिक नियमबारे जानकारी भए पनि प्रहरी छल्न खोज्ने प्रवृत्तिले गर्दा उनीहरू कारबाहीमा पर्दै आएका छन् । सवारी साधनका कागजात नबोक्ने, ओभर स्पिड गर्ने, क्षमताभन्दा बढी भार बोक्ने लगायतका कारणले चालकहरू कारबाहीमा पर्छन् । यस्ता गतिविधिले सडक दुर्घटनाको जोखिमसमेत बढाउने गरेको प्रहरीको भनाइ छ ।
ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि नियमित चेकजाँच तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । चालक तथा सहचालक, विद्यालयस्तरमा र सरोकारवालालाई दुर्घटना कम गर्न सचेतनामूलक अभियानहरू चलाउने गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालकको लापरबाही र कच्ची तथा जीर्ण सडक भएका कारण पनि कर्णालीमा सवारी दुर्घटना धेरै हुने गरेका छन् । प्रहरीका अनुसार प्रदेशभर यो वर्ष दसैँ–तिहार र छठ पर्वका बेला ४१ सवारी दुर्घटनामा परि ६० जनाको ज्यान गएको थियो ।
प्रकाशित मितिः ३० कार्तिक २०७८, मंगलवार ०९:००
साझा बिसौनी ।