ब्लडप्रेसरः भ्रम र वास्तविकता
कुनै समयमा आक्कलझुक्कल मात्र देखिने ब्लडप्रेसरको समस्या अहिले प्रशस्तै देखिन थालेको छ । २० देखि ३० वर्षका युवाहरूसमेत यसबाट पीडित बनेका छन् । सुन्दा सामान्य लागेपनि ब्लडप्रेसरले गर्ने भयानक असरहरूबारे मानिसहरूमा पर्याप्त जानकारी नभएकोले होला, खासै महत्व दिएको पाइँदैन ।
बदलिँदो जीवनशैलीसँगै मानिसहरू विलासी हुँदै गएका छन् । मीठो मात्र खानुपर्ने, मांसाहारी खानामै जोड दिने, रक्सी, सूर्तीजस्ता नशाको सेवन गर्नुपर्ने, ज्यादातर समय मानसिक तनावमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमी आदिले पनि ब्लडप्रेसरको समस्या थपिँदै गएको छ । फलस्वरूप हृदयाघात, प्यारालाइसिस् (मस्तिष्कघात), मिर्गौला तथा आँखामा क्षति बढेको पाइन्छ ।
ब्लडप्रेसरको औषधि खायो भने यस्तो हुन्छ रे, जिन्दगीभरि खानुपर्छ रे, साइड इफेक्ट गर्छ रे भन्ने धेरै किसिमका भनाइहरू सुनिन्छन्, तर औषधी नखाई सधैँ ‘हाइ ब्लडप्रेसर’ लिएर हिँड्दा के–के खतरा हुन्छ भन्ने धेरैले विचार गरेको देखिँदैन । यस लेखमा ब्लडप्रेसरसम्बन्धी बिरामीका धारणाहरू प्रष्ट पार्ने कोशिस गरिएको छ ।
ब्लडप्रेसर उच्च भएका बिरामीहरू सबैलाई लक्षणहरू देखिनैपर्छ भन्ने छैन । कसैलाई एक सय ५० पुग्नासाथै टाउको दुख्ने, रिंगटा लाग्ने भएर आइपुग्छन् भने कोहीमाथिको (सिस्टोलिक) प्रेसर दुई सय २० पुग्दा पनि कुनै लक्षण नदेखिने हुनसक्छन् । बिरामीहरू अन्य कुनै कारणका लागि प्रेसर जाँच गर्दा हाई देखिएपछि डाक्टरकहाँ पुग्छन् । कतिपय अवस्थामा प्रेसर हाइ भएर पनि लक्षण नदेख्नु भनेको लक्षण देखिने प्रेसरभन्दा खतरनाक हुन सक्छन् । यस अर्थमा कि लक्षण नदेखिँदा आफूलाई सबै ठीकै छ, म स्वस्थ छु भन्ने पर्छ र कुनै बेला त्यही रक्तचापले ठूलै समस्या गराउनसक्छ । केही लक्षण नदेखिए पनि निरन्तर हाइ प्रेसरले शरीरका अंगहरूमा पुर्याउने क्षति पुर्याइनै रहेको हुन्छ । विशेषगरी मुटु, मृगौला, आँखा र मस्तिष्कहरूमा । यस्ता प्रेसर हाइ भएर पनि लक्षण नदेखिने बिरामीहरू नै एकै पटक हृदयाघात, मस्तिष्कघात भइसकेको अवस्थामा पनि आउने गरेको भेटिएको छ । त्यसैले आफ्नो ब्लडप्रेसर समय समयमा जाँच आवश्यक छ । साथै प्रेसर हाइ भएर लक्षण नदेखिए पनि भविष्यमा हुनसक्ने क्षतिबाट बच्न औषधि सेवन आवश्यक छ ।
धारणा–१ः औषधि खाएपछि त सधैँ खानुपर्छ रे
मानिसहरू अरु समस्याको लागि औषधि खान डराउँदैनन् । तर, ब्लड प्रेसरको औषधि भनेपछि हच्किहाल्छन् । ब्लडप्रेसरले गर्नसक्ने खतराहरूबारे आवश्यक ज्ञान नभएकोले नै मानिसहरू यति साह्रो हच्केको जस्तो लाग्छ । तर, ब्लडप्रेसर त्यति धेरै हाइ नभएको अवस्थामा, पहिलोपल्ट देखिएको ब्लडप्रेसर, तथा शरीरका अंगहरूमा क्षति नपुगिसकेको अवस्थामा केही महिना औषधि नखाई अन्य उपाय अवलम्बन गरेर ब्लडप्रेसर घटाउन कोशिस गर्न सकिन्छ । यी उपायहरू अपनाउँदा पनि ब्लडप्रेसर उच्च रहिरहेमा औषधि सुरु गर्न ढिला गर्नु हुँदैन । अरु उपाय भन्नाले खानामा नुन, चिल्लो मात्रामा कमी गर्ने, दिनहुँ शारीरिक व्यायाम गर्ने, मानसिक तनावलाई कम गर्ने आदि बुझिन्छ ।
धारणा–२ः औषधि बन्द गर्न मिल्छ र ?
औषधिको मुख्य काम ब्लडप्रेसरलाई नियन्त्रणभित्र राख्नु हो । ब्लड प्रेसरलाई नियन्त्रणभित्र राखेर शरीरका अन्य अंगहरूमा क्षति पुग्नबाट यसले बचाइराखेको हुन्छ । नियमित औषधि सेवन गर्दै जाँदा र चिकित्सकको सल्लाह बमोजिम खानामा ध्यान दिने, नियमित व्यायाम आदि गरेमा कुनै समय ब्लडप्रेसर घट्दै पनि जानसक्छ । बारम्बार नाप्दा पनि आवश्यकभन्दा घट्दै गएको पाइएमा चिकित्सकको सल्लाह लिएर खाने औषधिको मात्रा कम वा औषधि नै बन्द पनि गर्नसकिन्छ ।
धारणा–३ः औषधिले किड्नी खराब गर्छ ?
साइड इफेक्ट सबै औषधिको हुन्छ । सिटामोल पनि धेरै खायो भने कलेजो, मृगौला खराब गर्छ । खानेकुराहरूको पनि आफ्नै किसिमको साइड इफेक्ट हुुन्छ । चिनी, गुलियो धेरै खाएमा मोटोपना बढ्छ, नुन धेरै भएमा प्रेसर बढ्छ । चिल्लो धेरै खाएमा रगतमा कोेलेष्ट्रोल बढ्छ, जसले मुटुरोगको खतरा हुन्छ । तर यसो भनेर खानेकुरा पनि नखाने त ? होइन । त्यस्तै ब्लडप्रेसरको औषधि पनि स्वस्थ रहनै खाने हो । ब्लडप्रेसरका औषधिहरूको पनि आफ्नै किसिमका साइड इफेक्टहरू छन् । तर ती सबै साइड इफेक्टहरू सधैँ सबैलाई हुन्छन् नै भन्ने होइन । कुनै साइड इफेक्ट छोटो समयमै देखापर्छन् भने कुनै २०/३० वर्षको लगातार औषधि सेवनपछि देखिन्छन् ।
डाक्टरको सल्लाहअनुसार नियमित जाँच गरिरहेमा साइड इफेक्टहरू तुरन्तै पत्ता लाग्छ । साइड इफेक्ट भएको थाहा पाएमा ब्लडप्रेसरको औषधि अदलबदल गरेर साइड इफेक्टले गर्ने क्षतिबाट बच्न सकिन्छ । कुनै औषधि खाँदा खुट्टा सुन्निने समस्या हुनसक्छ । कुनैले मुटुको ढुकढुकी बढाउन सक्छ । कुनैले ढुकढुकी चाहिनेभन्दा कम गराउन सक्छ । ब्लडप्रेसरकै कुनै औषधिले सुख्खा खोकी लाग्ने गर्छ र कुनैले मृर्गौलामा असर पार्न पनि सक्छ । औषधि सुरु गरेपछि पहिले नभएको समस्याहरू देखापरेजस्तो लागे डाक्टरसँग सम्पर्क राखिहाल्नुपर्छ । र, विशेषज्ञ डाक्टरसँग जाँच गरेर मात्र औषधि खानुपर्छ । औषधी सुरु गरेपछि कम्तीमा १५ दिनमा एकचोटि ब्लडप्रेसर नाप्ने बानी बसाल्नुपर्छ, डाक्टरसँग कम्तीमा तीन महिना र बढीमा ६ महिनामा एकचोटि भेट्नैपर्छ । तर, साइड इफेक्ट गर्छ भनेर औषधि सुरु नगरी सधै ब्लडप्रेसर हाइ लिएर बस्दा प्यारालाइसिस, हृदयाघात हुने, मृर्गौला कामै नलाग्ने अवस्थामा पुग्ने, आँखाको ज्योति गुम्ने जस्ता भयानक असरहरू हुनसक्छन्, जुन असरहरूको तुलनामा औषधिको साइड इफेक्टहरू केही होइनन् ।
धारणा–४ः औषधि खाएपछि पनि रक्सी, चुरोट छोड्नु पर्छ ?
रक्सी, चुरोट, सूर्तीसेवनले राम्रो गर्छ भनेर कतै लेखेको देख्नुभएको छ ? यस्ता कुराको सेवनले शरीरका फोक्सो, मुटु, कलेजो, पेट, आन्द्रा, मानसिकस्थिति सबैतिर क्षति बाहेक केही गर्दैन । धुम्रपान गर्ने मानिसलाई हाइ ब्लडप्रेसर, आन्द्रा प्वाल पर्ने, फोक्सोको दम, फोक्सोको क्यान्सर, मुखको क्यान्सर हुने लगायत हृदयाघात हुने सम्भावना रहिरहन्छ । जांड, रक्सी पिउँदा हामीमध्ये कतिजनालाई एउटा सीमामा रहेर पिउने आदत हुन्छ ? मैले देखेको ब्लडप्रेसरका बिरामीहरूमा धेरैमा ५ प्रतिशत बिरामीहरूमा मात्र यस्तो भेटेको छु । रक्सी पिएपछि बेहोशै हुनेगरि पिउनुपर्ने, रक्सीसँग भुटेको तारेको, पिरो, नूनिलो स्न्याक्स नै चाहिने तथा ड्रिक गर्दा चुरोट पिउनुको छुट्टै मजा हुने गरेको बिरामीहरू बताउँछन् । रक्तचाप बढाउनुमा धुम्रपान तथा रक्सीको पनि उत्तिकै योगदान रहन्छ । त्यसैले विदेशमा गरिएको केही अध्ययनहरूमा केही मात्रामा अल्कोहोल सेवन राम्रो भने पनि ब्लडप्रेसरको लागि नपिउनु नै ठीक हुन्छ ।
अधिकांश मानिसमा यो धारणा व्याप्त छ कि रक्सी भनेपछि ह्विस्की मात्रै हो । तर वियर, वाइन, रम, जिन, भोड्का, ब्राण्डी यी सबै रक्सीकै वर्गमा पर्छन् । फरक यति हो कि वियर, वाइन आदिमा अल्कोहोलको मात्रा कम हुन्छ, अरुमा बढी ।
धारणा–५ः मैले पाँच र ५० गरी ५५ मिलिग्राम खाँदैछु, तर पनि प्रेसर घट्दैन
ब्लडप्रेसर नियन्त्रणको लागि चलाइने औषधि मानिसको शारीरिक बनावट, वजन, साथमा रहेको अरु समस्याहरू, खानपान, उसले गर्ने शारीरिक व्यायाम आदिमा भर पर्छ । त्यसैले कसैलाई एउटा औषधिको सानो डोजमात्र खाए पुग्छ भने कसैलाई दुई, तीनवटा त्यो पनि दिनको दुई पटक वा बढी पनि खानुपर्ने पनि हुनसक्छ । ब्लडप्रेसरको औषधि कति मात्राको खाने भन्ने मानिसमा निर्भर गर्छ । ब्लडप्रेसरको औषधिहरू कुनै २.५ मिलिग्रामबाट सुरु हुन्छ, कुनै २५ बाट हुन्छ त कुनै २० बाट । एउटा किसिमको औषधिको २.५ मिलिग्राम बराबर अर्को किसिमको औषधिको २५ मिलिग्राम पनि हुनसक्छ । त्यसैले २५ मिलिग्राम भन्दैमा एकदम हाइ डोज भन्ने बुझ्नुहुँदैन ।
धारणा–६ः रातो पान आकारको खाएको, अरु त खाएको छैन
विशेषगरी घरमा एक्लै बस्ने, कम पढेलेखेका, नपढेका बिरामीहरूमा तथा ब्लडप्रेसरका साथै अन्य समस्याको पनि औषधि खाने बिरामीहरूमा यो समस्या देखिन्छ । एउटाभन्दा धेरै गोली औषधि खानुपरेको अवस्थामा यस्ता बिरामीहरू झुक्केर एउटा खानुपर्नेमा दुई पटक खाएको, खानुपर्ने चाँही नखाएको, राति खानुपर्ने बिहान खाएको, खानापछि खानुपर्ने अगाडि खाएको आदि समस्याहरू सामान्य हुन् । अझ कति त औषधि सकेपछि ल्याइदिने मान्छे नभएको भनेर औषधि खानै बन्द गरेर पनि आउँछन् । यसको कारण रक्तचाप अनियन्त्रित भइदिन्छ र कतिपय अवस्थामा प्यारालाइसिस, हृदयाघात भएको अवस्थामा पनि बिरामीहरू आउँछन् । यस्तो कुरामा घरमा भएका पढेलेखेका मानिसहरूको गहन जिम्मेवारी हुन्छ । त्यस्ता बिरामीहरूलाई नामभन्दा पनि औषधिको आकार, रंग तथा साइजको जानकारी बढी हुन्छ । एकभन्दा बढी औषधि खानुपरेको अवस्थामा हरेक औषधिहरूलाई छुट्टाछुट्टै सानो सानो बट्टामा राखेर यो बट्टाको यतिखेर खाने भनेर बुझाउने गरेमा गल्ती हुने समस्या कम हुन्थ्यो कि ?
धारणा–७ः विजनेसम्यान परियो, साँझ त बस्नै पर्छ नि
धेरै व्यवसायीहरूको गुनासो यही हुन्छ । विजनेस पनि चलाउनैप¥यो, पार्टीका लागि आएका निम्ताहरू त जसरी पनि मान्नुपर्छ । अनि मन राख्न यसो बसिदिनैप¥यो । अनि उनीहरूको कामको कुनै समय नै हुँदैन । यता पैसा उठाउ, उता विवाद, यता सामान सप्लाइ, उताबाट सामान छुटाउ, बिहान उठेदेखि फोन, अफिसमा मिटिङ, यता जाउ, उता जाउ, राति घर आयो, नसुतुन्जेल फेरि फोन । न शनिवार, न बिदा । न शारीरिक आराम, न मानसिक आराम । सधैँ तनावपूर्ण वातावरण, आराम र शारीरिक व्यायामको कमी, अव्यवस्थित खानपान, नियमित स्वास्थ्य जाँचको कमी आदि भएपछि यस्तै व्यक्तिहरूमा ब्लडप्रेसर, सुगरको समस्या देखापर्दछ । जसको कारण पछि गएर हृदयाघात, पक्षघात जस्ता भयानक समस्याहरू भोग्नुपर्दछ । धेरैजसो व्यापारी पढेलेखेकै हुन्छन्, स्वास्थ्यमा नराम्रो असर परिरहेको छ भन्ने पनि थाहा हुन्छ तर, पनि चेकजाँचको लागि समय छुट्याउन सक्दैनन् । तर, कतिपय अवस्थामा बिरामी जतिसुकै सम्झाँउदा पनि औषधि तयार गर्न राजी हुँदैनन् । जब छर छिमेकमा, आफन्तहरूमा कोही ढलेको, प्यारालाइसिस भएको, हृदयाघात भएको अथवा कसैको स्वास्थ्यमा ब्लडप्रेसरको असर परेको जस्तो प्रत्यक्ष देख्छन्, त्यसपछि बिरामीहरू पूर्ण तनावमा आउँछन् र जतिसक्दो छिटो औषधि शुरु गरिदिन डाक्टरलाई अनुरोध गर्दछन् ।
धारणा–८ः घरमा नाप्दा ठिकै, अस्पताल गयो कि बढ्छ
मानिसको ब्लडप्रेसर उनीहरूले गर्ने शारीरिक व्यायाम, खानेकुराहरू, निद्रा, तनाव आदी विभिन्न कुराहरूमा निर्भर हुन्छ । तनावको बेला, निद्रा नपरेको बेला, भर्खरै शारीरिक व्यायाम गरेको बेला, परिश्रमको काम गरेको बेला केही क्षणको लागि ब्लडप्रेसर हाइ देखिनसक्छ । तर सबै कुरा सामान्य भइसकेपछि ब्लडप्रेसर नर्मल लेवलमा आउँछ । जहिलेपनि ब्लडप्रेसर नाप्दा केही क्षण आराम गरेर, दिसापिसाब त्याग गरेर, तनावरहित रहेर नाप्दा सही परिणाम आँउछ । यदि सामान्य अवस्थामा रहेको बेला पनि ब्लडप्रेसर बढिरहने भएमा बढेकै मान्नुपर्छ ।
कोही कोहीलाई घरमा ब्लडप्रेसर नाप्दा सधैँ एकदम नर्मल भेटिने तर, डाक्टर–नर्सको अगाडि पुगेपछि वा अस्पतालको वातावरणमा पुगेपछि अचानक प्रेसर बढ्ने समस्या हुन्छ ।
डाक्टरहरूले लगाउने सेतो कोट देखेपछि डराएर वा के होला कस्तो होला भन्ने त्रास मनमा लागेपछि यस्तो समस्या हुने भएकोले यसलाई ‘ह्वाइट कोट इफेक्ट’ पनि भनिन्छ । हाइ ब्लडप्रेसरका बिरामीहरूमध्ये करिब २० प्रतिशत समूहमा यो समस्या देखापर्ने कुरा अध्ययनमा देखापरेको छ । त्यसैले साच्चिकै हाई हो वा इफेक्ट मात्रै हो भन्ने पहिचान गर्न २४ घण्टा मसिन लगाएर ब्लडप्रेसरको अध्ययन गरिने एबीपी मसिनको सहयोग पनि लिइन्छ ।
धारणा–९ः ब्लडप्रेसर बढ्यो भनेर मुखमा नुन हालेकै छैन
ब्लडप्रेसरको समस्या भएको बिरामीलाई डाक्टरले दैनिक खाने नुनको मात्रा कम गर्नु भनेका हुन्छन्, बन्द गर्नु होइन । नुन कम गर्ने भनेको नुन भएको धेरै किसिमको परिकारहरू नखाने भनेको हो । शरिरलाई चाहिने भनेको दैनिक पाँचदेखि सात ग्राम अर्थात् दिनको एक चम्चा नुन हो । यो भन्दा बढी ब्लडप्रेसरको लागि ठीक होइन । केही मात्रामा नुन शारीरिक स्वस्थताको लागि पनि चाहिन्छ । त्यसैले नुन चटक्कै बन्द गर्नाले शरीरमा अन्य समस्या गराउनसक्छ, त्यसैले नुन चटक्कै बन्द गर्न कदापि हुँदैन । कति बिरामीहरू औषधि नखाने तर, करेला, मेथी, नीमको पात, घ्यूकुमारी खाने, आर्युेवेदिक उपाय गर्ने, योगा, ध्यान गरेरै प्रेसर ठीक पार्छु भनेर अड्डी कस्छन् । यसमा म के भन्छु भने जसरी हुन्छ, रक्तचाप नियन्त्रणमा आउनुप¥यो । माथि उल्लेखित सबै कुरा गर्दा कुनै नकारात्मक असर त पर्दैन । तर, माथिका उपाय अपलम्बन गर्दा ब्लडप्रेसर नाप्दैपनि गर्नुस् ।
धारणा–१०ः मैले नेटमा पढेको यो औषधि खाएपछि डिप्रेशन हुन्छ रे
एउटा वर्गको मानिसहरूमा जे पनि इन्टरनेटमा पढेर सम्पूर्ण जानकारी लिने प्रवृत्ति हुन्छ । यसो गर्नु एक किसिमले राम्रो पनि हो तर, पूर्ण कुरा प्रष्ट नबुझिएको खण्डमा यसको नकारात्मक असर पनि पर्दछ । कुनै रोगको बारेमा पढ्दै जाँदा कतिपय प्राविधिक शब्दहरू, मेडिकल भाषा सबैले प्रष्ट बुझ्ने कुरै भएन । अनि यो भनेको यसो होला भन्दै अनुमानित अर्थ लगाउँदै बस्ने अनि त्यस विषयमा लेखिएका कुनै रोगका लक्षणहरू आफैलाई भएको जस्तो लाग्ने, म त ज्यादै रोगी भएछु भन्ने मनस्थितिको विकास हुने, अब म मर्छु भन्ने जस्ता निराशावादी सोचको विकास हुने जस्ता समस्या पनि भएको पाइएको छ । इन्टरनेटमा दिइएका रोगसम्बन्धि जानकारी धेरैजसो किताब पढेजस्तै हुन्छ । कुनै रोगको बारेमा पढ्दा यस्तो लक्षण यति प्रतिशतमा देखिन्छ, यस्ता साइड इफेक्ट फाट्टफुट्ट मात्र पाइन्छ, यो धेरै देखिन्छ, यो साइड इफेक्ट विश्वको यस कुनामा मात्र पाइन्छ, यो साइड इफेक्ट यो जातिमा मात्रबढी देखिन्छ, यसमा देखिन्न जस्ता कुराहरू विस्तृतमा लेखिएको हुन्छ । तर मानिसको मन न हो, त्यहाँ जे सुकै लेखेपनि आँखाले त्यहाँ लेखिएका गम्भीर कुराहरू जस्तै मात्र देख्नपुग्छ । अनि होस् न होस् मलाई पनि यस्तो भयो कि भन्दै डराउँदै बस्छन् । त्यसैले यदि कसैको त्यस्तो बानी छ भने इन्टरनेटमा लेखिएका कुराहरू प्रष्ट बुझ्ने क्षमता पनि हुनुपर्छ । कुनै कुरा नबुझे सम्बन्धित चिकित्सकसँग परामर्श गर्नुपर्छ । होइन भने यस्तो सामग्री नपढ्नु नै बेस हुन्छ । अनि एक प्रकारको मानिसमा चेकजाँच गराउन जानै हिच्किचाउने बानी हुन्छ । डाक्टर कहाँ गएपछि केही न केही देखाइहाल्छन्, यो नखानु, यो नगर्नु भन्छन्, औषधि खान भन्छन्, अथवा केही समस्या देखिहाल्यो भने त टेन्सन हुन्छ भन्ने खालको सोचले उनीहरू चेकजाँच नै गराउँदैनन् । यो राम्रो होइन ।
के–के जाँच नियमित गर्नुपर्छ ?
प्रेसरका बिरामी तथा प्रेसरको औषधि खाने बिरामीहरूले रगतमा सुगरको मात्रा, हेमोग्लोविनको मात्रा, मृर्गौला तथा पिसाबको जाँच तथा कोलेष्ट्रोलको जाँच कम्तीमा तीन बढीमा ६ महिनामा नियमित गरिरहनुपर्दर्छ । साथै इसीजी, इको जाँचहरू मुुटुरोग विशेषज्ञको सल्लाहनुसार दोहो¥याउनुपर्छ । यसले प्रेसर नियन्त्रणभित्र रहे–नरहेको पत्ता लाग्छ । साथै कुनै साइड इफेक्ट भो कि पत्ता पनि लाग्छ ।
र, डिजिटल मेसिन
समयले मानिसको जीवनमा ल्याएको परिवर्तनसँगै ब्लडप्रेसर नाप्ने मसिनहरू, मोबाइल एप्लिकेशनहरू अचेल सजिलै उपलब्ध हुनथालेका छन् । तर, अस्पतालहरूमा भने एनोरोइड मसिनहरू नै बढी प्रयोगमा छन् । यसको मुख्य कारण यसबाट नाप्दा रक्तचापको मात्रामा खासै धेरै तलमाथि नहुनु पनि हो । कतिपय डिजिटल मेसिनले पनि राम्रै काम गर्छन् तर कतिपय अवस्थामा भर्खरको भर्खरै दोहो¥याएर नाप्दा पनि ब्लडप्रेसर धेरै नै फरक भएको पाइएको पनि देखिएको–सुनिएको छ । त्यसैले यस्ता मेसिनबाट नाप्दा ब्लडप्रेसर धेरै वा चाहिने भन्दा थोरै देखिएको खण्डमा नजिकैको मेडिकल वा स्वास्थ्यकर्मी कहाँ गएर फेरि नापेर कन्र्फम गरेको राम्रो हुन्छ । अन्त्यमा, ब्लडप्रेसको नकारात्मक असरहरूबाट बच्न मानिस आफ्नो स्वास्थ्यको कुरामा अझ बढी सचेत हुनु जरुरी छ ।
साधारणतया उमेर ४० को वरिपरि पुगेपछि यदि भविष्यमा स्वस्थ भएर बाँच्ने, लामो समय बाँच्ने हो भने विशेषगरी केही कुराहरू, दैनिक स्वस्थ खाना खाने, रक्सी चुरोट, सूर्ती तथा कुनै नशा सेवन नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने तथा मानसिक तनावबाट टाढा रहने आदि कुराहरू पालना गर्नैपर्ने देखिन्छ । किन कि उमेरले ४० छोएपछि मानिसलाई धेरै रोगहरूले छुन थाल्छ ।
(वरिष्ठ मुटुरोग विशेषज्ञ श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् ।)
प्रकाशित मितिः ३० कार्तिक २०७८, मंगलवार ०८:५६
डा. मिलन प्रकाश श्रेष्ठ ।