प्रदेश गौरवको पहिलो आयोजना निर्माण सम्झौता

डेढ अर्ब लगानीमा प्रदेशस्तरीय रंगशाला बनाइँदै

सुर्खेत: कर्णालीमा प्रदेशस्तरीय रंगशाला बनाइने भएको छ । प्रदेश गौरवको पहिलो आयोजनाका रूपमा प्रदेश राजधानी वीरेन्द्रनगरमा १० हजार दर्शक अट्ने अत्याधुनिक रंगशाला निर्माण गर्न लागिएको हो । कर्णाली प्रदेश खेलकुद विकास परिषद् र निर्माण कम्पनीबीच आइतवार रंगशाला बनाउने सम्झौता भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा निर्माण सम्झौता– पत्रमा हस्ताक्षर गरिएको हो ।

वीरेन्द्रनगरमा हाल रंगशाला रहेकै स्थानमा डेढ अर्ब बढी लगानीमा भौतिक संरचनाहरू निर्माण गर्न लागिएको हो । ३० महिनामा काम सक्ने गरी एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रूपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले बताए । उनका अनुसार अबको एक साताभित्रै संरचना निर्माणको शिलान्यास हुनेछ । निर्माण कम्पनी एमएसीजिएसएल ज्वइन्टभेन्चर कान्तिपथ काठमाण्डौंसँग परिषद्ले सम्झौता गरेको छ । रंगशालाका लागि कर्णाली सरकारले पहिलो पटक अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा भाग लिएका ६ निर्माण कम्पनीमध्ये एमएसीजिएसएल छानिएको हो ।

रंगशालाको डिजाइनअनुसार संरचनाहरू भुकम्प प्रतिरोधक बनाइनेछ भने प्याराफिट ग्याल्वनाइज फलामका राखिने भएका छन् । एक हजार पाँच सय दर्शक क्षमता भएको बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ । खेल सञ्चालन गर्दा आवश्यक पर्ने सबै खालका संरचनासहितको सुविधासम्पन्न रंगशाला निर्माण हुने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

रंगशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माण गरिनेछ । साथै, आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्रयाक बनाइने पनि सम्झौतामा उल्लेख छ । यसैगरी, भीआइपी प्याराफिट तथा वेटिङ रुम, रेफ्री, चेन्जिङ, रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी र मिडिया रूम निर्माण गरिने छन् । अपाङ्गतामैत्री संरचना, हरियाली ल्याण्डस्केप र अण्डरग्राउण्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाइन गरिएको परिषद्ले जनाएको छ । टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म र रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड पनि निर्माण हुने छन् ।

निर्माण सम्झौता कार्यक्रममा बोल्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश गौरवको आयोजना भएकाले यसको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न व्यवसायीलाई अनुरोध गरेका छन् । उनले सरकार, खेलकुद परिषद् र निर्माण व्यवसायी सबै गम्भीर बनेर आयोजना निर्माणमा सक्रिय बन्नुपर्ने बताए । मुख्यमन्त्री शाहीले निर्माण व्यवसायीलाई भने, ‘पूर्वाधार नभएको कर्णालीमा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता गर्न रंगशाला बनाउन लागिएको छ । यो वा त्यो ढंगबाट बहानाबाजी गरी काममा ढिलाइ नगर्नु होला ।’ सकभर सम्झौतामा तोकिएको समय अगावै रंगशाला निर्माण कार्य सम्पन्न गर्न उनले निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । त्यसका लागि प्रदेश सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत मुख्यमन्त्री शाहीले जनाए ।

कर्णाली सरकारले गत असार १६ गते रंगशालालाई प्रदेश गौरवको पहिलो आयोजनाको रूपमा निर्माण गर्ने निर्णय गरेको थियो । कर्णालीमा खेलकुदको विकासका लागि रंगशालालाई प्रदेश गौरवको आयोजनाको रूपमा लिइएको सरकारले जनाएको छ । कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगितासमेत आयोजना गर्ने लक्ष्य सरकारले लिएको छ । उक्त प्रतियोगिता हुनुभन्दा पहिला नै खेलकुदका संरचना बनाउने गरी तयारी थालिएको हो ।

भौतिक संरचनाको अभावमा यहाँको खेलकुद क्षेत्र अपेक्षाकृत रूपमा विकास हुन सकेको छैन । अधिकांश जिल्लामा सामान्य खेल मैदानहरू पनि निर्माण भएका छैनन् । जसले गर्दा खेलाडीहरूलाई दैनिक अभ्यासका साथै जिल्लास्तरीय प्रतियोगिता सञ्चालनमा समेत समस्या हुँदै आएको छ । प्रदेश सरकारले पछिल्लो समय प्रदेशस्तरीय रंगशाला र जिल्लाहरूमा पनि खेल क्षेत्रको प्रवद्र्धन गर्न लगानी बढाएको छ । सरकारको यो निर्णयसँगै खेलकुदको विकासमा निकै टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   २९ कार्तिक २०७८, सोमबार ०८:४८