मारमा विद्यार्थी

विश्वव्यापी बनेको कोरोना महामारीको सबैभन्दा लामो र ठूलो मारमा परे विद्यालय । संक्रमणको जोखिम बढी हुने भएकाले विद्यार्थीहरूलाई विद्यालयमा बोलाएर पठनपाठन सञ्चालन गर्न रोक लगाइयो । बीचमा केही समय कतिपय विद्यालयले भर्चूअल र भौतिक रूपमै उपस्थित गराएर पनि पठनपाठनको प्रयास गरेका थिए । यसरी सञ्चालन गरिएका शैक्षिक गतिविधि प्रभावकारी हुन सकेको थिएन । फेरि विद्यालय बन्द भए । पछिल्लो समय पुनः शैक्षिक संस्था नियमित सञ्चालनमा आएका छन् । विद्यार्थीको भौतिक उपस्थितिमै पठन–पाठन सुरु गरिएको छ । ढिलै भए पनि विद्यालय सञ्चालनमा आएका छन् । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइसँगै स्वास्थ्यमा प्रतिकूल असर परेको पाइएको छ ।

बालबालिकाका क्षेत्रमा काम गर्दै आएको अन्तराष्ट्रिय संस्था युनिसेफले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनमा कोभिडपश्चात् कर्णाली प्रदेशमा ९४ प्रतिशत बालबालिकाको पढाइ प्रभावित भएको देखिएको छ । यो अवधिमा विद्यालय जान नपाउँदा बालबालिकाले पढाइमा पछि परेको महशुस गरेका हुन् । पहिलाको तुलनामा कोभिडपछि बालबालिकाको मानसिक स्वास्थ्यमा समेत ठूलो असर देखिएको छ । महामारीका कारण विद्यालय तहका बालबालिका बढी प्रभावित भएका हुन् । विद्यालय बन्द रहेका कारण बालबालिकाको सिकाइ उपलब्धी पनि घटेको छ । वैकल्पिक सिकाइका माध्यमको सहज पहुँच नहुँदा कर्णालीका धेरै विद्यार्थीको पढाइमा असर परेको हो । कर्णाली प्रदेशस्तरीय शिक्षा समूहद्वारा गरिएको सर्वेक्षणमा १८ प्रतिशत विद्यालयमा मात्र इन्टरनेट पहुँच पुगेको देखिएको छ । करिब नौ प्रतिशत विद्यालय कुनै पनि प्रकारको विद्युतीय सञ्चारका माध्यमको पहुँचमा छैनन् । सरकारले विद्यालय बन्द रहेका अवस्थामा वैकल्पिक विधिबाट सिकाइ गतिविधि गरेपनि धेरै विद्यार्थीले त्यसको लाभ लिन नपाएका हुन् ।

युनिसेफले कर्णाली प्रदेशमा कक्षा ५, ८ र १० को टिकाउ दरको सर्वेक्षणसमेत गरेको थियो । प्रदेशमा कक्षा १० को टिकाउ दर सबैभन्दा न्यून देखिन्छ । कोभिड महामारीका कारण विद्यार्थी टिकाउ दरमा पनि असर परेको हो । कोभिड संक्रमण कायमै रहेकाले यो दर घट्दै जाने सम्भावना रहेको पनि सरोकारवालाले बताएका छन् । माध्यमिक तहमा अध्ययन गर्ने धेरै विद्यार्थीले बिचमै पढाइ छोड्ने गरेका छन् । अधिकांश बालबालिकाले सात÷आठ कक्षामा पढ्दा–पढ्दै विद्यालय छोड्ने गरेका हुन् । परिवारको विपन्नताले कैयन् बालबालिका पढाइबाट वञ्चित भएको विभिन्न सर्वेक्षणहरूले औंल्याएका छन् । परिवारको गुजरा चलाउन पढाइ छोडेर भारतलगायत विभिन्न सहरमा मजदुरी गर्न जानेको संख्या पनि अधिक छ । बालबालिकालाई उपस्थिति बनाएर पढाउने कुराका साथसाथै विद्यालयको वातावरण सुधार उत्तिकै जरुरी देखिएको छ । बनाइएको मापदण्डको पालना अनिवार्य छ । स्वास्थ्य सावधानी अपनाउनु अपरिहार्य हुन्छ । कतिपय विद्यालयहरूमा विद्यार्थीको संख्या उल्लेख्य छ । त्यस्ता विद्यालयहरूले भौतिक दूरी कायम गरेर पठनपाठन सञ्चालन गर्न सक्छन् या सक्दैनन् भन्ने सवाल उत्तिकै महŒवपूर्ण छ । त्यसैले अन्य आधारभूत सतर्कताका साथसाथै विद्यार्थीहरूको उपस्थितिमा हुने भीडभाड र त्यसले निम्त्याउने जोखिम कम गर्न पनि ध्यान दिनुपर्दछ ।

 

प्रकाशित मितिः   २९ कार्तिक २०७८, सोमबार ०८:४१